चन्द्रमाबाट नमूना लिएर पृथ्वी फर्कियो चीनको अन्तरिक्ष यान

चन्द्रमाबाट नमूना लिएर पृथ्वी फर्कियो चीनको अन्तरिक्ष यान

एजेन्सी : चीनको मानवरहित अन्तरिक्ष यान चन्द्रमाको सबैभन्दा टाढाको भागबाट नमूना लिएर पृथ्वीमा फर्किएको छ।

करिब दुई महिनापछि चाङ ए-६ अन्तरिक्ष यान मंगलबार भित्री मङ्गोलियाको मरुभूमिमा अवतरण गरेको हो।

चन्द्रमाबाट ल्याइएका नमूनाहरूले चन्द्रमाको निर्माणको बारेमा धेरै महत्त्वपूर्ण प्रश्नहरूको जवाफ दिनसक्ने भएकाले वैज्ञानिकहरू चाङ ए-६ को व्यग्र प्रतीक्षामा थिए।

चन्द्रमाको टाढाको भागमा अवतरण गर्ने चीन एक मात्र देश हो। चीनले यसअघि सन् २०१९ मा पनि चन्द्रमाको टाढाको भागमा अवतरण गरेको थियो।

लामो दूरी, ठूला खाल्डा र केही मात्र समतल सतह भएका कारण चन्द्रमाको यस भागमा अवतरण गर्न गाह्रो मानिन्छ।

चन्द्रमाको टाढामा भागमा हिउँ भएको आशंकामा वैज्ञानिकहरू चन्द्रमामा आफ्ना यानहरू पठाइरहेका छन्। हिउँ भएको अवस्थामा त्यसले अक्सिजन, पानी र हाइड्रोजन बनाउन मद्दत गर्नसक्छ।

प्रतिस्पर्धी अमेरिकालाई चुनौती दिन सक्ने भएकाले पनि चाङ ए-६ मिसन चीनका लागि निकै महत्वपूर्ण छ।

यान अवतरण भएसँगै चिनियाँ राष्ट्रपति सी चिनफिङले चाङ ए-६ मिसनका कमाण्ड सेन्टरका प्रतिनिधिलाई फोन गरी बधाई दिएका छन्। राष्ट्रपति सीले अन्तरिक्षको गहिरो अध्ययनको मिसनलाई कायमै राख्ने आशा व्यक्त गरेका छन्।

चाङ ए-६ मिसनलाई मे महिनाको शुरुमा एउटा अन्तरिक्ष स्टेशनबाट प्रक्षेपण गरिएको थियो। मे ३ मा लन्च गरिएको मिसनले यस क्षेत्रबाट दुर्लभ चट्टान र माटो सङ्कलन गर्ने लक्ष्य राखिएको थियो।

यो चिनियाँ अन्तरिक्ष यान चन्द्रमाको दक्षिणी ध्रुव-एटकेन बेसिन भागमा अवतरण गरेको थियो। चन्द्रमाको यो अंशलाई पृथ्वीबाट देख्न सकिँदैन।

चन्द्रमाबाट संकलित नमूनाहरूले ४.५ अर्ब साल पहिले चन्द्रमा कसरी बन्यो र प्रारम्भिक चरणमा पृथ्वीसँग ठक्करबाट बनेको थियो भन्ने प्रश्नको जवाफ दिन मद्दत गर्ने स्कटल्यान्डका खगोलशास्त्री क्याथरीन हेमेन्सको विश्वास छ।

असार ११, २०८१ बुधबार ०७:५३:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।