आज छ प्रदेशमा भारी वर्षाको सम्भावना

आज छ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं : जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर मनसुनी वायुको आंशिक प्रभाव रहेकाले आज पूर्वी नेपालमा बिहानैदेखि भारी वर्षा भइरहेको जनाएको छ।

आज देशभर आंशिकदेखि साधारणतया बदली रही हाल बागमती, कोशी र गण्डकी प्रदेशको केहि स्थान तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित वर्षा भइरहेको छ।

पछिल्लो तीन घण्टामा मोरङ, सिराहाको दोधना, उदयपुरको सुन्दरपुर र झापाको केचनास्थित वर्षा मापन केन्द्रमा भारी वर्षा भएको विभागले उल्लेख गरेको छ।

विभागले उक्त क्षेत्रमा थप वर्षा हुनसक्ने सम्भावना रहेको भन्दै ती जिल्ला भएर बग्ने नदीको तटीय क्षेत्र र डुबान भइरहने भू-भागहका बासिन्दालाई सकतर्कता अपनाउन आग्रह गरेको छ।

दूधकोशी नदी रबुवाबजार बाढीमापन केन्द्र र ओखलढुङगामा जलसतह सतर्कता तह आसपास पुगेको जनाउँदै दूधकोशीको सुनकोशी दोभानसम्मको नदी तटीय क्षेत्रमा दिउँसोसम्म उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

लमजुङको खुदी बजार आसपासको क्षेत्रमा पनि भारी वर्षा भएकाले खुदी खोलालगायतका क्षेत्र भएर बग्ने नदी तथा खोलाहरूमा आकस्मिक बाढीको जोखिम रहेको उल्लेख गरेको छ।

बुधबार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली रही बाँकी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहने छ।

दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

साथै कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले उल्लेख गरेको छ।

राती कोशी, मधेश र बागमती प्रदेशका धेरै स्थानमा, गण्डकी र  लुम्बिनी प्रदेशका केही स्थानका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यस्तै, कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको उल्लेख छ।

पछिल्लो चौविस घण्टामा धरान वर्षा मापन केन्द्रमा ३५ दशमलब ६ प्रतिशत वर्षा मापन भएको छ। यस्तै, पोखरामा २९ दशमलब ५, विरेन्द्रनगरमा २९ दशमलब ४, भैरहवा र सिमरा मापन केन्द्रमा २४ दशमलब २ प्रतिशत वर्षा मापन भएको छ।

असार ११, २०८१ बुधबार ०७:१७:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।