विद्यालय जाँदै गरेका ११ वर्षीय बालकलाई बाढीले बगाउँदा ज्यान गयो

विद्यालय जाँदै गरेका ११ वर्षीय बालकलाई बाढीले बगाउँदा ज्यान गयो

काठमाडौं : विद्यालय जाँदै गरेका एक बालकलाई बाढीले बगाउँदा मृत्यु भएको छ।

मोरङको महुरे खोलामा आएको बाढीले बगाउँदा याङ्शीलाका चित्रबहादुर राईका छोरा ११ वर्षीय श्यामको मृत्यु भएको हो। 

मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार मंगलबार बिहान विद्यालय जाँदै गर्दा खोला तर्ने क्रममा खोलाले बगाएर करिब एक सय मिटर तल शव भेटिएको थियो। मृतक बालकको टाउको, अनुहार लगायत शरीरका विभिन्न भागमा चोट लागेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ।

श्याम जनकल्याण माध्यमिक विद्यालयको कक्षा ६ मा अध्ययनरत थिए। याङ्शीलाबाट विद्यालय भएको चिउरी भन्ज्याङ पुग्नका लागि करिब १ घण्टा लाग्छ। 

वडाध्यक्ष शिवप्रसाद तामाङले भने, 'याङ्शीलाका बालबालिकाले ६ कक्षामाथि अध्ययन गर्नका लागि नजिकै रहेको चिउरी भन्ज्याङकै विद्यालय जानुपर्ने बाध्यता छ। खोलाको बाटो हुँदै विद्यालय जानका लागि छोटो हुन्छ। सुरक्षित बाटो अलि माथिबाट हुँदै लामो भएकाले धेरै घुम्नु पर्छ। बर्खामा छोटो बाटो प्रयोग गर्दा कतिखेर बाढी आउँछ थाहा हुँदैन।'

५/६ जना बालबालिकाको समूह एकै पटक विद्यालय जाने क्रममा खोला तर्न खोज्दै गर्दा श्यामलाई बाढीले बगाउनासाथ अरू बालबालिका बाहिर निस्किएका थिए। 

असार १०, २०८१ मंगलबार १९:५५:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।