'अरू पार्टीभन्दा फरक छौं, राष्ट्रिय राजनीतिमा विद्रोहको ज्वाला दन्काएका छौं'

'अरू पार्टीभन्दा फरक छौं, राष्ट्रिय राजनीतिमा विद्रोहको ज्वाला दन्काएका छौं'

काठमाडौं : एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले राष्ट्रिय राजनीतिमा विद्रोहको ज्वाला दन्काएको दाबी गरेका छन्। 

मंगलबार राष्ट्रिय जनसांस्कृतिक महासंघ समाजवादीले आयोजना गरेको सांस्कृतिक साँझ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले कम्युनिष्ट आन्दोलनमा एक्लै भएपनि अगाडि बढ्ने आँट गरेको बताए। 

उनले भने, ‘नेपालको कम्युनिष्ट आन्दोलनमा हामीले जुन पहल गरेका छौं। विद्रोह गर्ने आँट गरेका छौं। विद्रोहको ज्वाला दन्काएका छौं। एक्लै भएपनि अगाडि बढ्ने प्रयास गरेका छौं। राष्ट्रिय राजनीतिमा हाम्रो पार्टीले खेलेको भूमिकाप्रति हामीले गर्व गर्नुपर्छ।’ 

आफूहरूले राष्ट्रिय राजनीतिका सबै शक्तिहरूलाई चिनेको दाबी गर्दै उनले थपे, 'हामीले समाजवादी क्रान्तिको कार्यक्रमलाई अगाडि सारेका छौं। अरू पार्टीले यस्तो कार्यक्रम ल्याएका छैनन्।'

पार्टीका भातृ संगठनहरुलाई व्यवस्थित गरेर अगाडि सार्ने एकमात्र पार्टी एकीकृत समाजवादी रहेको अध्यक्ष नेपालको दाबी छ। 

उनले समाजवादी मोर्चालाई नयाँ सिराबाट अगाडि बढाउनसमेत छलफल भइरहेको बताए। 

‘विभिन्न कम्युनिष्ट पार्टीहरूसँग हाम्रो संवाद भइरहेको छ। आजै पनि विभिन्न समूहसँग कुरा भएको छ। नयाँ सिराबाट त्यसलाई अगाडि बढाउनुपर्छ। देशभरिको समाजवादी शक्तिहरूलाई गोलबन्द गर्नुपर्छ’, उनले भने। 

असार १०, २०८१ मंगलबार १८:३७:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।