सर्वोच्चद्वारा कोशी सरकार गठनविरुद्ध परेको रिट खारेज, बच्यो हिक्मत कार्कीको सरकार

सर्वोच्चद्वारा कोशी सरकार गठनविरुद्ध परेको रिट खारेज, बच्यो हिक्मत कार्कीको सरकार

काठमाडौं : सर्वोच्च अदालतले कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङ लगायतविरुद्धको रिट खारेज गरिदिएको छ। 

नयाँ सरकार गठनको प्रक्रियाविरुद्ध कोशीका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरेको हो।

न्यायाधीशहरू कुमार रेग्मी, नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको इजलासले केदार कार्कीको माग अस्वीकार गरी मुख्यमन्त्रीमा हिक्मत कार्कीको नियुक्तिलाई संविधानसम्मत ठहर्याएको हो।

केदार कार्कीले सर्वोच्चमा दायर भएको रिटमा प्रदेश प्रमुखको कार्यालय, प्रदेश प्रमुख परशुराम खापुङ, सभामुख अम्बरबहादुर विष्ट, एमालेका प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की तथा संकल्प प्रस्तावक रेवतिरमण भण्डारी, समर्थक किशोरचन्द्र दुलाल र गणेश उप्रेतीलाई विपक्षी बनाइएको थियो। 

वैशाख २६ गते प्रदेश प्रमुख खापुङले नयाँ सरकार गठनको आव्हान गरेपछि त्यसमाथि  प्रश्न उठाउँदै केदार कार्की सर्वोच्च अदालत गएका थिए। 

संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका कार्कीले उक्त व्यवस्था सरकार बनाउने अन्तिम विकल्प भएको र आफूले यसअघि नै विश्वासको मत लिइसकेको कारण अब हटाउन नपाइने जिकिर गरेका थिए। एमाले संसदीय दलका नेता हिक्मत कार्कीलाई प्रदेश प्रमुख खापुङले वैशाख २७ गते मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।  

असार १०, २०८१ मंगलबार १७:५६:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।