धनराज गुरुङले रवि लामिछानेकै शैलीमा भने- '१ रुपैयाँ पनि भ्रष्टाचार गरेको प्रमाण ल्याए राजनीति छोड्छु'

धनराज गुरुङले रवि लामिछानेकै शैलीमा भने- '१ रुपैयाँ पनि भ्रष्टाचार गरेको प्रमाण ल्याए राजनीति छोड्छु'

काठमाडौं : नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पार्टी नेतृत्व जमेको पोखरीको पानी जस्तो नभई बगिरहने खोलाजस्तो हुनुपर्ने बताएका छन्।  

मंगलबार नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको पहिलो महाधिवेशनमा उनले लाभको पदहरुमा बढी कर्म र समयमै जिम्मेवारी गर्नेलाई नेतृत्वमा अघि बढाउनुपर्ने बताए। 

‘नेतृत्व भनेको जमेको पोखरीको पानी होइन। त्यो पोखरीको पानी जमिरहन्छ र त्यहाँ लेउ र झेउ मात्र उम्रन्छ। नेतृत्व भनेको त बगिरने खोलाजस्तो हुनुपर्छ। पानी जस्तो होस्, जहाँ लेउझेउ उम्रँदैन गन्तव्यमा पुग्दछ र समुन्द्रमा पुग्दछ,’ उनले भने। 

आफूले अहिलेसम्म एक रुपैयाँ पनि भ्रष्टाचार नगरेको दाबी गर्दै उनले भ्रष्टाचार गरेको प्रमाण लिएर आए राजनीतिबाट सन्यास लिने बताए। 

भ्रष्ट प्रवृत्तिका मान्छेहरूलाई खादा र माला लगाएर कांग्रेस र देश उन्नतितर्फ बढ्न नसक्ने उनको भनाइ छ। उनले वडा अध्यक्षदेखि मन्त्री र प्रधानमन्त्री सबैको सम्पत्ति छानबिन हुनुपर्ने बताए। 

पार्टीका भातृ संघ संगठनहरूमा सांगठनिक चुस्तता भएमात्रै समयमै महाधिवेशन गर्न सकिने बताए। 

यसअघि सहकारी प्रकरणमा ठगीको आरोप लागेका गृहमन्त्री रवि लामिछानेले पनि यही शैलीमा भ्रष्टाचार गरेको भए राजनीति छोड्ने दाबी गरेका थिए। त्यसबेला गृहमन्त्री लामिछानेको राजनीतिक ब्यबहार नभएको भन्दै कांग्रेस नेताहरूले चर्को आलोचना गरेका थिए। तथापि आज उपसभापति गुरुङले भने उनै लामिछानेको शैलीमा अभिव्यक्ति दिए।  

असार १०, २०८१ मंगलबार १७:२१:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।