ज्ञानेन्द्र शाहीलाई प्रधानमन्त्रीको जवाफ : 'नेपालमा अहिले प्रचण्ड भन्ने मान्छे प्रधानमन्त्री छ'

ज्ञानेन्द्र शाहीलाई प्रधानमन्त्रीको जवाफ : 'नेपालमा अहिले प्रचण्ड भन्ने मान्छे प्रधानमन्त्री छ'

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जुनसुकै माध्यमबाट युद्ध मैदानमा पुगे पनि रुसी सेनामा गएका नेपाली नागरिकहरूलाई फिर्ता ल्याउने पहल जारी रहेको बताएका छन्। 

मंगलबार प्रतिनिधिसभा बैठकमा परराष्ट्र मन्त्रालयको बजेटमाथि सांसदले सोधेका प्रश्नको जवाफ दिँदै उनले सरकारले नेपाली नागरिकलाई रुसी सेनामा नपठाएको भएपनि पहल गरिरहेको बताए।

उनले जवाफ दिनुअघि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले रुसी सेनामा भर्ती भएका नेपाली फिर्ता ल्याउन सरकारले पहल नगरेको भन्दै ‘यो देशमा सरकार र प्रधानमन्त्री पनि छ?’ भन्ने प्रश्न गरेका थिए।

त्यसको जवाफ दिँदै संसदमा शाही आए/नआएको भन्दै खोजेका प्रचण्डले सरकार जिम्मेवार भएर काम गरिरहेको जिकिर गरे। 

'नेपालमा प्रधानमन्त्री छ कि छैन भन्ने प्रश्न गर्ने माननीय यहीँ हुनुहुन्छ कि जानुभयो?', शाहीलाई इंगित गर्दै प्रधानमन्त्रीले प्रश्न गरे। 

त्यसपछि प्रधानमन्त्रीले थपे, 'नेपालमा प्रधानमन्त्री छ र त्यो पनि अहिले प्रचण्ड भन्ने मान्छे प्रधानमन्त्री छ। सरकारले पठाएर रुसी सेनामा गएका हैनन्। जे भए पनि नेपाली नागरिक जानु र युद्धमा मारिनु दुःखद कुरा हो।'

प्रचण्डले युद्ध लडिरहेकासँग राति १२ बजे पनि संवाद गरेको बताए। 

'म अझ जोड दिएर भन्न चाहन्छु- प्रधानमन्त्री भएकाले राति १२ बजे मोर्चामा भएका लडाइँ लड्दै गरेको फोनमा कुरा गरेको छु। तपाईं कुनै दिन प्रधानमन्त्री हुनुभएछ भने म पनि हेर्न चाहन्छु कसरी काम गर्नुहुन्छ', उनले भने। 

असार १०, २०८१ मंगलबार १५:४५:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।