सिआइबीको प्रहरी हुँ भन्दै घरभित्र पसी २ करोड लुटेर ५ जनाले बाँडे, प्रहरी हवल्दारसहित ४ जना पक्राउ

सिआइबीको प्रहरी हुँ भन्दै घरभित्र पसी २ करोड लुटेर ५ जनाले बाँडे, प्रहरी हवल्दारसहित ४ जना पक्राउ

काठमाडौं : भक्तपुरको दधिकोटमा सिआइबीको प्रहरी हुँ भन्दै घरभित्र प्रवेश गरी लुटपाट गरेको आरोपमा ४ जना पक्राउ परेका छन्। 

मंगलबार उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलनको आयोजना गर्दै सिआइबीको प्रहरी हुँ भन्दै लुटपाट गर्ने सिन्धुपाल्चोक बाह्रबिसे–२ घर भई हाल गोकर्णेश्वर बस्ने सुजन रसाइली, सिन्धुपाल्चोक भोटेकोशी–२ घर भई हाल गोकर्णेश्वर बस्ने भीमबहादुर तामाङ, ओखलढुंगा घर भएका मुनाराज राई र सिन्धुपाल्चोकका ३८ वर्षीय कृष्णबहादुर बोहोरालाई पक्राउ गरि सार्वजनिक गरेको हो। बोहोरा महाराजगञ्जस्थित प्रहरी गणमा कार्यरत प्रहरी हवल्दारसमेत हुन्।

उनीहरुले यही असार ४ गते दिउँसो १ बजे सूर्यविनायक नगरपालिका–४ दधिकोटका डिल्लीबहादुर राउतको घरमा आफूहरू सीआइबीबाट आएको घरभित्र पसि लुटपाट गरेको प्रहरीले जनाएको छ। उनीहरूले परिचयपत्र र खुकुरी समेत देखाएर राउतको घरबाट अन्दाजी २ करोड लुटेर लगेको प्रहरी अनुसन्धानबाट खुलेको छ। 

लुटेको रकम भीमबहादुर बस्दै आएको गोकर्णेश्वर माकलबारीस्थित कोठामा लगेर ५ जनाले बाँडेको समेत उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले बताए। 

उनीहरुको साथबाट प्रहरीले ३६ लाख ३६ हजार रुपैयाँ बरामद भएको छ।

त्यस्तै, घटनामा प्रयोग भएको बा.प्र.०२–०४० प.५५३८ र बा.प्र.०२–०३३ प ६१७४ नं. को २२० सिसिको दुई थान पल्सर मोटरसाइकल, १० थान मोबाइल, लुटिएको रकम बोक्न प्रयोग गरेको झोला दुई थान, चोरी तथा लुटपाट गर्दा लगाएको कपडाहरू, चोरी तथा लुटपाट गर्दा लगाएको जुत्ता ३ जोर र खुकुरी पनि बरामद गरेको जनाएको छ। 

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ। 

असार १०, २०८१ मंगलबार १५:०४:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।