अफगानिस्तान पहिलो पटक टी२० विश्वकपको सेमिफाइनलमा, बंगलादेश र अष्ट्रेलिया बाहिरियो

अफगानिस्तान पहिलो पटक टी२० विश्वकपको सेमिफाइनलमा, बंगलादेश र अष्ट्रेलिया बाहिरियो

काठमाडौं : आईसीसी टी२० विश्वकप क्रिकेटमा बंगलादेशलाई ८ रनले पराजित गर्दै अफगानिस्तान पहिलो पटक सेमिफाइनलमा प्रवेश गरेको छ।

तीन खेलमा चार अंकसहित अफगानिस्तान सेमिफाइनल प्रवेश गरेको हो। उसले यहि प्रतियोगितामा पहिलो पटक अष्ट्रेलियालाई समेत पराजित गर्यो।

वर्षाले प्रभावित खेलमा डीएलएस विधिबाट १९ ओभरमा ११४ रनको लक्ष्य पछ्याएको बंगलादेश १७.५ ओभरमा अलआउट भएसँगै अष्ट्रेलिया पनि प्रतियोगिताबाट बाहिरिएको छ।

बंगलादेशका लागि लिट्टन दास ४३ रनमा नटआउट रहँदा टोहिदो हृदोय र सौम्य सरकार क्रमशः १४ र १० रन बनाए। बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।

अफगानिस्तानका नवीन उल हक र रसिद खानले समान चार-चार विकेट लिँदा, गुल्बदिन नैब र फजलहक फारुकीले समान एक-एक विकेट लिए।

त्यसअघि सेन्ट भिन्सेन्ट एण्ड ग्रिनिडेडको एर्नोस भाले ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर ११५ रन बनायो।

उसका लागि रहमन्नुलाह गुरबाज ४३, इब्राहिम जर्दान १८, अजमतुल्लाह ओमरजाइ १०,  गुल्बादिन नैब ४ र मोहम्मद नाबी १ रनमा आउट हुँदा करिम जनत र रसिद खानले नटआउट रहँदै क्रमशः ७ र १९ रन जोडे।

बंगलादेशका रिसद होसेनले तीन, मुस्ताफिजुर रहमान र टक्सिन अहमदले एक-एक विकेट लिए।

अफगानिस्तानले अब सेमिफाइनलमा दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्नेछ भने भारतले इंग्ल्यान्डसँग खेल्नेछ।

असार १०, २०८१ मंगलबार ११:०९:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।