इटाली युरोकपको अन्तिम १६ मा
काठमाडौं : अन्तिम मिनेटमा बराबरी गोल गर्दै साविक विजेता इटाली युरो कप २०२४ को अन्तिम १६ मा प्रवेश गरेको छ।
इन्ज्युरी समयको अन्तिम समयमा एक गोलले पछि परेको अवस्थामा गोल गरेर क्रोएसिया विरुद्ध १-१ को बराबरी खेल्दै इटाली नकआउट चरणमा पुगेको हो।
५५औं मिनेटमा लुका मोड्रिचको गोलमा क्रोएसियाले अग्रता लिएको थियो। त्यसअघि मोड्रिच पेनाल्टीमा गोल गर्न असफल भएका थिए। उनको पेनाल्टी इटालियन गोलरक्षक डोनारुमाले बचाएका थिए।
मोड्रिचको गोलमा क्रोएसिया दोस्रो चरणको संघारमा पुगेको थियो। तर क्रोएसियाको प्रयासमा इटाली बाधक बन्यो।
इन्ज्युरी समयको आठौं मिनेटमा रिकार्डो कालाफिओरीको पासमा बक्सको छेउबाट माटिया जाकाग्नीले गोल गरेपछि समूहको उप विजेताका रुपमा इटाली अन्तिम १६ मा पुगेको हो।
इटालीको ३ खेलमा ४ अंक छ। क्रोएसियाको ३ खेलमा २ अंक मात्र छ। समूहमा तेस्रो हुने मध्ये शीर्ष ४ मा रहँदै अर्को चरण पुग्ने क्रोएसियाको सम्भावना कम छ।
अल्बानिया १ अंक सहित समूहको पुच्छारमा छ। अन्तिम खेलमा अल्बानिया माथि १-० को जित निकाल्दै स्पेन शत-प्रतिशत नतिजा सहित समूहको शीर्ष स्थानमा रहेको छ।
असार ११, २०८१ मंगलबार ०९:५३:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।