‘ऐना झ्यालको पुतली’का निर्देशक बिडारीले कसलाई भने बौद्धिक आतंककारी?

‘ऐना झ्यालको पुतली’का निर्देशक बिडारीले कसलाई भने बौद्धिक आतंककारी?

काठमाडौँ : ऐना झ्यालको पुतलीका निर्देशक सुजित बिडारीले मङ्गलवार सामाजिक सञ्जालमा फिल्म र फिल्मी चेतबारे आफ्नो छोटो तर निकै कडा धारणा राख्दै विषय उठानका दृष्टिकोणले मात्र फिल्मको मूल्याङ्कन गर्नेलाई बौद्धिक आतङ्ककारीको उपमा दिए।

उनले बौद्धिक आतंककारी सूचीमा राखेकाको योग्यता लेखेका छन्' जो केवल विषय उठानका हिसाबले सिनेमालाई मूल्याङ्कन गर्छन्। जसले साहित्यका बहुत-ओ-बहुत पुस्तक पढेका छन्, संसारभरिका उच्चतम सिनेमा पनि हेरेका छन्। भलै साहित्यको सौन्दर्य बुझेका छन् तर सिनेमालाई हेरेर आनन्द मात्र लिएका छन्, तर किन आनन्दित बनायो त्यो बुझ्न सकेका छैनन् र सिनेमाको सौन्दर्य के हो बुझ्न सकेका छैनन्।'

यस्तै जमातले पछिल्लो समय फिल्मको गुणस्तर निर्धारण गरेकोमा दुखी देखिए उनी। उनले लेखेका छन्'  तिनै तोरीहरूले राम्रो भनेको सिनेमालाई राम्रो भनेर बुझिदिनुपर्ने नेपाली दर्शकको अवस्था देखेर रुन मन लाग्ने म मात्रै त होइन होला'

उनको त्यही धारणामा अभिनेत्री सुरक्षा पन्तले लेखेकी छिन्' सहमत।' उनको धारणाबारे सामाजिक सञ्जालमा क्रिया-प्रतिक्रिया जारी छ।

उनले आफ्नो धारणामा कुनै निश्चित फिल्म वा निश्चित व्यक्ति तोकेका छैनन्। उनले प्रवृत्तिमार्फत गतिलो बौद्धिक प्रहार मात्र गरेका छन्।

केही सबल तर अधिक दुर्बल फिल्मी सामाग्रीसहित निर्माण भएको फिल्म 'गाउँ आएको बाटो' अहिले फिल्मी, गैर फिल्मी, बौद्धिक, पहिचानवादी अनि साहित्यजगतका धुरन्धरहरूमाझ बहसको विषय बनेको छ।

कुन फिल्म केको आधारमा अति उत्तम उत्तम ठिकठिकै अनि कमजोर सूचीमा पर्छ त्यसको मापनका आधार प्रस्ट छन्। फिल्म गाउँ आएको बाटोलाई यही मापनमा राखेर हेर्ने हो भने यो ठिकठिकै सूचीमा पर्न लायक भए पनि

समाजमा बौद्धिक र फिल्मीचेत भएको व्यक्तिको पहिचान बनाएका केही व्यक्तिहरू यसलाई अति उत्तम फिल्मको सूचीमा राख्न तछाडमछाडमा देखिन्छन्। फिल्मबारे बिरलै कलम चल्ने केही पहिचानवादीहरू त अति व्यस्त छन् फिल्मको कोण-कोणबाट विश्लेषण गर्न।

बौद्धिक मानिएका वर्गबाट फिल्म 'गाउँ आएको बाटो'को आधारमा भइरहेको अति प्रशंसा अनि विडारीले मङ्गलवार सार्वजनिक गरेको धारणा संयोग मात्र हो त?

निर्देशक ​​​बिडारीको धारणासँग  'गाउँ आएको बाटो' को प्रशंसाको शैलीको प्रबृत्तीको संयोग मिलेको पनि हुनसक्छ।बुझ्नेलाई यो कुरा गहिरो छ, नबुझ्नेलाई नेपाली फिल्ममा पहिरो छ। उनले कसलाई भनेका हुन् उनकै मनमा छ।​​​​

बिडारीको विचारको प्रसङ्गलाई यतिमै बिट मारौ अनि फिल्म गाउँ आएको बाटोको अति प्रशंसाकाबीच खुलेरै सार्वजनिक भएका दुई धारणाको चर्चा गरौँ।

केही  कलाकारहरूले प्रशंसनीय काम गरे पनि 'गाउँ आएको बाटो' कुन समयको कथा हो भन्ने समेत प्रस्ट खुलेको छैन। फिल्ममा अलमलै अलमल भए पनि बौद्धिक भनेर समाजमा पहिचान बनाएको एक समूह नवीन सुब्बा आफैलाई लाज लाग्न सक्ने तहमा फिल्मको अति प्रशंसामा व्यस्त छन्। 

कसैले यसलाई नवीनको फिल्मी सौन्दर्य चेतको दृष्टिकोणले प्रशंसा गरेका छन् त कसैले फिल्मले उठाएको उत्कृष्ट विषय भन्दै अति प्रशंसा गरेका छन्। यही स्तरको फिल्मको निर्मम समीक्षा गर्दै 'झुर' को सूचीमा राख्नेहरूका दृष्टिमा पनि 'गाउँ आएको बाटो' उत्कृष्ट सूचीमा परेको छ।

फिल्मीचेत अनि साहित्यिक चेत भएका केहीले भने फिल्मको बलियो पक्षसँगै कमजोरीबारे समेत मजाले लेखेका छन्। उदाहरण फिल्मबारे राम्रै जानकार तथा साहित्यकार नयनराज पाण्डे। पाण्डे कुनै समय फिल्म निर्देशन र लेखनमा समेत संलग्न थिए।

उनले फिल्म गाउँ आएको बाटोबारे सामाजिक सञ्जालमा समीक्षाकै शैलीका फिल्मको सकारात्मकसँगै चित्त नबुझेको पक्ष पनि लेखे।

उनले लेखे :

'गाउँ आएको बाटो' राम्रो त पक्कै हो । तर, अपेक्षाअनुसार उत्पातै गजब चाहिँ लागेन।

(यसो हुनुको कारण चाहिँ सिनेमाप्रतिको मेरै बुझाइ पनि कमजोर भएको हुनसक्छ।)

राम्रो किन लाग्यो ?

---

१. कथाले आकृष्ट गर्यो। किनभने कथाले गहिरो विचार बोकेको छ।  यस खालको कथामा मेरो रुचि पनि छ। यस क्रममा सिनेमाले २०५२ सालमा प्रकाशित आफ्नै कथा 'आक्रमण' को पनि सम्झना गरायो। नोस्टाल्जिक बनायो। 'आक्रमण' मा गाउँमा टेलिभिजन र त्योसँगै आएको चकाचौंधले 'असर्फी थारु' को रहर, सपना र चाहना  फेरिन्छ। गाउँ मन पर्न छाड्छ उसलाई। उसलाई गाउँको मेला रौनकहीन लाग्छ। गाउँको खानपान बेस्वादको लाग्न थाल्छ। अरू त अरू उसलाई आफ्नै जहानको शरीरबाट आउने पसिनाको गन्धसित पनि दिगमिग लाग्न थाल्छ।

'गाउँ आएको बाटो' हेरेपछि मैले पनि ठिकठाकै कथा लेखेछु भन्ने लाग्यो । मक्ख परेँ।😀

यसै मेसोमा अर्को कुरा पनि सम्झिएँ। केही वर्षअघि अमेरिकी निर्देशक लुकाश मिलार्डले 'बाटो' शीर्षकमा वृत्तचित्र बनाएका थिए। किम्फमा पुरस्कृत पनि भएको थियो। त्यसको सुरुवात यो पङ्क्तिकारकै एक कविताबाट गरिएको थियो।

कविता यस्तो छ-

'बाटो

जतिसुकै फराकिलो भए पनि

हिँड्नेहरूले त

छेउ लागेरै हिँड्नु पर्छ।'

(बिर्सिसकेको यो कुरा पनि 'गाउँ आएको बाटो'ले मलाई सम्झाइदियो।)

😀😀

२. मुख्यपात्र बाबु, आमा र छोराको अभिनय राम्रो छ। दयाहाङ साह्रै प्रभावकारी। अभिनयमा उनको मेहनत देखिन्छ।

३.दृश्यभाषा ठिकठाक छ। एकचोटिमात्र हेरेकोले दृश्य भाषाको मेरो बुझाइ  निम्छरो भएको हुनसक्छ। गाउँको नागबेली बाटोसँगै आएको त्रिपाल, कोकाकोला, प्लास्टिकका खेलौना र भाँडाकुँडा, बियर आदिको बढ्दो प्रयोगलाई स्थापित गर्न प्रयुक्त दृश्य भाषाले प्रभावित गर्छ।

पानी/पोखरी, रक्सी पार्ने भाँडो आदिमा देखिने पात्रको प्रतिबिम्ब, चोयाको रङ्गले पनि आकर्षित गर्छ । स्कुलको भित्तामा लेखिएको संस्कृत श्लोक, पाठ्यपुस्तकको कन्टेन्टको प्रयोग उम्दा !

४.सिनेमाको कलरटोन पनि अर्थपूर्ण लाग्यो। धुमिल हुन थालेको गाउँको छविलाई दर्शकको मनमा उदासीको हदसम्म स्थापित गरेको छ। तर, यसबारे थप केही कुरा तलका बुँदामा पनि उल्लेख गरेको छु ।

५.फोटोग्राफी राम्रो ।

चित्त नबुझेको कुरा

---

१.सिनेमा कुन समयको कथा हो भन्ने कुरामा म अलमलमा परेँ। एकातिर जनयुद्धको धङधङीयुक्त भाषण  गर्ने नेता, टेलिभिजनको मूल्य ५०००/- सँगै मोबाइलको मूल्य ३० हजार,  कोकाकोलाको ताजा विज्ञापन, बडबाइजर बियर। कथा समकालीन समयको सेरोफेरोकै हो भने सिनेमाको कलर टोनले दर्शकको बुझाइमा हस्तक्षेप चाहिँ पक्कै गर्छ।

२.सिनेमाका तीन पात्र (बाबु, आमा र छोरा) को अभिनयमा प्रशस्त मेहनत देखिन्छ। तर, बाँकी अधिकांशको अभिनय काम चलाउ। बाल कलाकारहरूसित 'ऐना झ्यालको पुतली' मा जसरी निर्देशकले स्वाभाविक अभिनय गराएका छन् , यसमा भने त्यो पक्ष पूरै कमजोर। फिर्फिरे दिन्नँ भन्ने बित्तिकै, प्याट्ट हिर्काउने बित्तिकै तत्कालै उँ उँ गरेर रुनै थाल्ने खालको अभिनयमा पर्याप्त काम नगरिएको हो कि !

३.एडिटिंग त कतिपय ठाउँमा बिझाउने खालकै छ। राई माइलाले आवेशमा चुल्हो भत्काउँदा निजकी जहान तर्सेको प्रतिक्रियामा टाइमिङ मिलेकोजस्तो लागेन। अन्त्यतिरको छोरा र बसको सिक्वेन्सको अन्तिम सटमा पनि बिझाउने खालकै सम्पादन छ।

४. रोएपछि रुने पात्रलाई 'पानी खान दिने' तरिका स्वाभाविक लाग्दैन। आयातित दृश्य बनौट। हिन्दी सिनेमामा निकै देखिएकोले पनि चित्त बुझेन।

४.राई माइलाले गाउँ छाड्ने किन? यो प्रश्नको बलियो जवाफ मैले (दृश्य मार्फत) पाउन सकिनँ।

५. पटकथाले धित मारेन। त्यसैले पनि कथा कताकता अलमलिएजस्तो लाग्छ।

OOO

नेपाली मूलका कवि मनोज बोगटी जो दार्जिलिङमा बस्छन्, उनी नेपाल आए लगत्तै फिल्मको प्रशंसा पढेर हुर्रिएर फिल्म हेर्न हल पुगे। तर फिल्म हेरेर निराश भए। अनि सञ्जालमा लेखे :

काठमाडौँ आएर सबैभन्दा पहिले गाउँ आएको बाटो हेरेँ। हेरिसकेपछि लाग्यो, नेपालबाट आएका जति पनि रिभ्यू छ, अधिकांश बायस रहेछ। यो फिल्म त औसत फिल्म रहेछ। तरै पनि यो फिल्मलाई लिएर किन यति धेरै भ्रम फैलाएको हो? कसले फैलाएको हो? कसरी फैलाएको हो? कैले फैलाएको हो, यसबारे अध्ययन गर्नुपर्ने भो।

गाउँ आएको बाटो चर्चा, हल्ला, मिडियामा ( जसजसले पनि अतिशयोक्ति हल्ला फैलाए) सबै मिडियाले मेरो विश्वास गुमायो। ( मिडियाको औकात थाह भो) फिल्म ठिकठिकैको छ, हल्ला गरेजस्तो छैन। यो फिल्मको फिल्मी अन्त्य हेर्दा त एन्ड्रोइड फोन भुईँमा पछारिदिउँजस्तो लागेर आयो। कति झुर के...

+++

माल बिकाउने जुक्ति अनेक होला तर नयाँ वानेश्वरको हलमा लगभग 50 जना अडियन्सबीच फिल्म हेरिसकेपछि म मरी मरी हाँसेर निस्किएँ।

++

ब्रान्डिङ गर्नेहरूले क्या जोतेको यार.....

++

जे होस् झुक्क्याउने कूटनीति मलाई मन पर्दैन। अडियन्स चैँ हावाको हो भन्ने भ्रम चैँ ब्रान्डिङ गर्नेहरूको स्ट्राटजी नबनोस्।

++

नेपालका समीक्षकहरूलाई अनुरोध धुर बनाउन छोड्नुस्, प्लिज........

OOO

पातलो नै होस्, कसैले सिधै त कसैले साङ्केतिक रूपमा बौद्धिक वर्गले गरेको चाकडी र उनीहरूले निश्चित व्यक्तिको फाइदाका लागि फैलाएको भ्रमबारे बोल्ने क्रम रोकिएको छैन। र नेपाली फिल्मलाई माया गर्ने हो भने नक्कली कुरालाई सक्कली भनेर झुक्याउँदा मौन बस्न पनि हुँदैन। विश्वसनियताको पाप लाग्छ।

असार १०, २०८१ मंगलबार १०:२४:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।