पहिलोपटक नगरसभामै मुर्दावादको नारा झेले बालेनले !

पहिलोपटक नगरसभामै मुर्दावादको नारा झेले बालेनले !

काठमाडौं : ०७९ वैशाख ३० गते भएको स्थानीयतह निर्वाचनबाट काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएका बालेन्द्र शाह (बालेन)ले सुरुका दुई नीति तथा कार्यक्रमहरू सहजताका साथ प्रस्तुत गर्न सके। तथापि यसबीचमा बालेनको शब्द र शैलीमाथि वडाध्यक्षहरुबाट छिटफुट आलोचना भने हुँदै आएका हुन्। तर, सोमबारको १५ औं नगरसभामा सदस्यहरू बालेनविरुद्व आक्रोशपूर्ण रूपमै खनिए। स्वतन्त्र उम्मेदवारी दिएर  कांग्रेस, एमालेका उम्मेदवारलाई हराउँदै मेयर जितेका बालेनले पहिलोपल्ट शक्तिशाली प्रतिपक्षको सामना गर्नुपर्यो।

नगर सभा सदस्यहरूले उनीविरुद्व अब चुप लागेर बस्न नसकिने चेतावनी नै दिए। एमालेका नगर सभा सदस्य नवराज पराजुलीले पञ्चायत र निरंकुश राजतन्त्रको विरुद्धमा लडेर आएको उल्लेख गर्दै आफूहरू तानाशाही नभएको तर, मेयर बालेन भने निरङ्कुश भएको बताए। 

उनले भने ‘हेर्दा तपाईँ स्वतन्त्र र एक्लै भएपनि हामी सबै साथीहरूले राम्रा काममा तपाईँलाई साथ दिन्छौं। अब नराम्रो गर्न थाल्नुभयो भने मेयरसाब यो चाँही कमजोरी भयो यसलाई सुधार गरौं भन्छौं। भन्दा पनि मान्नुभएन भने रामराम भन्छौं काँध थाप्दैनौं।’

त्यस्तै, नगर सभामा बालेनविरुद्व मुर्दावादको नारासमेत लाग्यो। वडा-२२ का अध्यक्ष चिनीकाजी महर्जनले फरक मतलाई दबाउन खोजियो भने त्यसलाई मुर्दावाद भन्ने चेतावनी दिए। 

उनले भने, ‘अझै पनि विरोधका आवाजहरू दबाइन्छ, विरोध सुन्न तयार छैनन्,फरक मत, विमति राख्नेलाई दबाउन खोजिन्छ भने त्यो कुरा जिन्दावाद होइन, मुर्दावाद भन्छु, विरोधको आवाज सुन्न नचाहनेलाई मुर्दावाद भन्न चाहन्छु।’

उनले आफूखुसी न्युरोडलाई खण्डीकरण गरेको र यो काम तत्काल रोक्नू भन्दै बालेनसँग आक्रोश पोखे। त्यसबीचमा न्युरोडको फुटपाथ विषयमा बालेन शाह र वडाअध्यक्ष महर्जनबीच चर्काचर्की नै भयो।  

असार ९, २०८१ सोमबार २१:३९:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।