प्रशासन मौन बस्दा फैलिएको ‘लिटिल बुद्ध’ को अपराध : हलखोरियाको कुटपिटबाट बाल यौन दुराचारसम्म

प्रशासन मौन बस्दा फैलिएको ‘लिटिल बुद्ध’ को अपराध : हलखोरियाको कुटपिटबाट बाल यौन दुराचारसम्म

काठमाडौं : रामबहादुर बम्जनको उदय बाराको जङ्गलबाट भएको हो। बाराको जङ्गलमा एक युवा निराहार तपस्या गरेर बसेको चर्चा फैलिएसँगै उनलाई हेर्न चाहनेहरूको सङ्ख्या बढ्यो।

स्वदेशी मात्रै हैन विदेशीहरूको पनि भिड बढ्यो बाराको जङ्गलमा। यो २०६२ को विषय हो। उनी अन्तर्राष्ट्रिय मिडियाहरूमा लिटिल बुद्धको रूपमा चर्चामा आए। उनको सुरक्षा गर्ने भन्दै बोधी श्रवण धर्म सङ्घ र नमो तपोवन संरक्षण तथा संवर्द्धन समिति नामको संस्था अस्तित्वमा देखियो।

हलखोरिया जङ्गलमा च्याउ टिप्न गएका बारा, मनहर्वाका १७ सर्वसाधारणलाई नियन्त्रणमा लिएर उनका अनुयायीले कुटपिट गरेको घटना सार्वजनिक भए लगत्तै २०६७ साउनमा उनी पहिलो पटक विवादमा आए।

२०७१ भदौमा निजगढका युवाहरूलाई बन्धक बनाएर चारकोसे हलखोरिया जङ्गलमा बाँधेर राखेको अर्को घटना सार्वजनिक भयो। उनीहरूले बन्धक बनाएका युवा छुटाउन स्थानीय जाँदा झडपै भएको थियो।

२०६९ मा बोक्सीको आरोप लगाउँदै एक विदेशी र एक नेपाली युवतीलाई तीन महिना बन्धक बनाएर पैसा असुलेको घटनामा प्रहरीले हस्तक्षेप गर्नुपरेको थियो। धर्मको आडमा बम्जन र उनका अनुयायीहरूको उद्दण्डता र गैर कानूनी काम बढिरहेका थिए तर सुरक्षा संयन्त्र धर्म भन्दै निष्क्रिय बसिदियो।

सिन्धुपाल्चोकमा रहेको आश्रम।

चारकोसे वनको ५ सय हेक्टर बन क्षेत्र काँडे तारले बारेर बम्जनको अनुयायीहरूले कब्जा गरेका थिए। जिल्ला वन कार्यालय र प्रशासनले बम्जनलाई वन क्षेत्रमा जान रोक लगायो। तर, पुनरावेदन अदालत, हेटौंडाले अन्तिम फैसला नहुन्जेल ध्यानबाट विस्थापित नगराउन आदेश दिएपछि उनी हलखोरियामा फर्किए।

सरकारी वनमा गुम्बा र स्तूप निर्माण हुन थालेसँगै स्थानीय प्रशासनले सुरक्षामा कडाइ गर्न थालेपछि बम्जन त्यहाँबाट सिन्धुली गएपछि बनमा बनाइएका स्थायी संरचना भत्काइयो।

उनी सिन्धुलीबाट सिन्धुपाल्चोक पुगेर आश्रम बनाउन थाले। लमजुङ र सर्लाहीमा पनि उनले आश्रम बनाए। सिन्धुली कमलामाई नगरपालिका-८, पैरेनीमा २० रोपनीभन्दा बढी जङ्गलको जग्गा कब्जा गरेर आश्रम बनाए।

२०७६ बाट बल्ल तात्यो प्रशासन

पहिलो पटक हेटौँडास्थित प्रहरी कार्यालयमा फूलमाया रूम्बा र कर्म वाइबा र सञ्चलाल वाइबा आश्रमबाटै हराएको भनेर उनको परिवारका सदस्यले उजुरी हाले।

२०७७ असार ४ मा सिन्धुलीको आश्रममा कुकुरसहित पुगेको प्रहरी टोली।

फूलमायाका भाइ विजय रूम्बा र सञ्चलालका छोरा महेन्द्र वाइबाले उजुरी दिएका थिए। उजुरीको क्रम बढ्दै गयो। बाराका हस्तबहादुर आले मगर र नुवाकोटकी गङ्गामाया तामाङले आफन्त हराएको भन्दै उजुरी दिए।

प्रहरीमा उजुरी परेपछि खोजी सुरु गरिएको दाबी आए पनि उनी पक्राउ भने परेनन्। धर्मको आडमा बम्जनको शत्ताशक्तीमा रहेकाहरुसँग बढेको निकटता र उनका उग्र अनुयायी हेरेर प्रहरी प्रशासन निस्क्रियहुँदा सामान्य कुटपिटबाट शुरू भएको उनको अपराध यात्रा हत्या र नाबालिगमाथि यौन दुर्व्यवहारसम्ममा पुगिसकेको थियो। 

प्रहरीको आलोचना बढ्दै गएपछि प्रहरीले अनुसन्धान अगाडि बढाउँदै उनको आश्रमहरूमा छापा मार्न थाल्यो। सिन्धुपाल्चोकको आश्रममा छापा मार्दा पनि उनी फेला परेनन्। न त कुनै प्रमाण नै फेला पर्यो।

बम्जनको खोजीमा प्रहरी सुस्त भएको भन्दै आलोचना बढेपछि २०७७ असार ४ मा सिन्धुलीको आश्रममा कुकुरसहित प्रहरी टोली पुग्यो। तर बम्जन फेला परेनन्।

सिआइबीको कार्यालयमा बम्जन सार्वजनिक गर्दै प्रहरी।फरार रहेकै बेलामा उनी एकाएक २०८० पुस २४ मा बुढानीलकण्ठको एक घरबाट पक्राउ परे। प्रहरीले उनीसँगै ३ करोड ३४ लाख नगद समेत फेला पारेको थियो।

जिल्ला अदालत सर्लाहीका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले सोमबार उनै बम्जनमाथि बाल यौन दुराचारको अभियोगमा दोषी ठहर गर्यो।

सम्बन्धित समाचार

असार १०, २०८१ सोमबार २०:४४:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।