काठमाडौं महानगरले ल्यायो २५ अर्ब बढीको बजेट : ६१ प्रतिशत विकास क्षेत्रमा, ११ वटा गौरवका योजना

काठमाडौं महानगरले ल्यायो २५ अर्ब बढीको बजेट : ६१ प्रतिशत विकास क्षेत्रमा, ११ वटा गौरवका योजना

काठमाडौं : काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि २५ अर्ब ७० करोड ६३ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ। 

सोमबार महानगरपालिकाको नगर सभाको तेस्रो बैठकमा उप-प्रमुख सुनिता डंगोलले उक्त बजेट वक्तव्य प्रस्तुत गरेकी हुन्। 

डंगोलले महानगरपालिकाको सञ्चित कोषमा जम्मा हुने २४ अर्ब २० करोड ६३ लाख २५ हजार र जग्गा एकीकरण आयोजनाहरुबाट एक अर्ब ५० करोड रुपैयाँ आम्दानी हुने अनुमान गरेको बताइन्।  

काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रमलाई साकार पार्न आगामी आर्थिक वर्ष २०८१/८२ को लागी कूल रु २५ अर्ब ७० करोड ६३ लाख २५ हजारको अनुमानित बजेट तथा कार्यक्रम तयार गरेका छौं। यस अन्तर्गत काठमाडौं महानगरपालिकाको सञ्चित कोषमा जम्मा हुने २४ अर्ब २० करोड ६३ लाख २५ हजार र जग्गा एकीकरण आयोजनाहरुबाट हुने आम्दानी कूल १ अरब ५० करोड रहेको छ। स्थानीय सञ्चित कोषबाट खर्च हुने रकममध्ये आर्थिक विकास क्षेत्र अन्तर्गतका कार्यक्रमहरूका लागि १९ करोड ९ लाख विनियोजन गरिएको छ, जुन कुल बजेटको ०.७९ प्रतिशत हुन आउँछ। कार्यालय संचालन तथा प्रशासनिक क्षेत्रको लागि ३ अर्ब ४९ करोड ४५ लाख २९ हजार विनियोजन गरिएको छ, जुन कुल बजेटको १४.४४ प्रतिशत हुन्छ’, बजेट वक्तव्य प्रस्तुत गर्दै उप-प्रमुख डंगालले भनिन्। 

महानगरले आगामी आर्थिक वर्षको लागि महानगरपालिकाको गौरवको योजना अन्तर्गत ढल हित नदी नालालाई थप गरी ११ वटा गौरवका योजनाहरू प्रस्ताव गरेको छ। 

पूर्वाधार विकास क्षेत्रको लागि १४ अर्ब ८१ करोड ५१ लाख ५१ हजार बजेट महानगरले  विनियोजन गरेको छ। जुन कुल बजेटको ६१.२० प्रतिशत हुन आउँछ।

सामाजिक विकास क्षेत्रको लागि ३ अर्ब ८१ करोड ३६ लाख १५ हजार रुपैयाँ, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रका लागि १ अर्ब ८९ करोड २१ लाख ३० हजार बजेट विनियोजन गरिएको डंगालले बताइन्। 

महानगरपालिकाले चालु आर्थिक वर्षका लागि २४ अर्ब ८ करोड ५७ लाख २२ हजार रुपैयाँको बजेट पारित गरेको थियो। 

असार ९, २०८१ सोमबार १९:०२:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।