प्रधानमन्त्रीमाथि लेखकको व्यङ्ग : हामीलाई राम्रो जादुगर होइन, राम्रो प्रधानमन्त्री चाहिएको छ

प्रधानमन्त्रीमाथि लेखकको व्यङ्ग : हामीलाई राम्रो जादुगर होइन, राम्रो प्रधानमन्त्री चाहिएको छ

काठमाडौँ : नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ‘राम्रो प्रधानमन्त्री नभई राम्रो जादुगर’ भएको भन्दै व्यङ्ग गरेका छन्।

सोमबार स्वर्गीय नन्दप्रसाद शिवाकोटी स्मृति ग्रन्थ विमोचन समारोहलाई सम्बोधन गर्दै लेखकले  प्रधानमन्त्रीले एउटा कार्यक्रममा आफूसँग जादुयी सङ्ख्या रहेको भनेर गरेको टिप्पणीमाथि व्यङ्ग गर्दै प्रधानमन्त्री जादुगर भएको बताए।

‘प्रधानमन्त्रीलेले यो मेरो सङ्ख्या होइन, जादु हो भनेर भनिराख्नु भएको छ। अब हामीलाई राम्रो प्रधानमन्त्री चाहिएको छ। अब उहाँ राम्रो जादुगर भएर आउनु भएको छ। बडो विडम्बनामा हामीले बाँच्नु परिरहेको छ।’

लेखकले राजनीतिक स्थिरता, समृद्धि, दिगो शान्ति, विकास र सुशासन आजको आवश्यकता भएको भन्दै वर्तमान राजनीतिक गतिविधि र अस्थिरतका कारण सबै ओझेलमा परेको बताए।

उनले भने, ‘हामीले कतिपय चुनौतीहरू भोग्नु परेको छ । अहिले मुलुकमा स्थिरता, समृद्धिको कमी छ । मुलुकको उन्नति, दिगो शान्ति, विकास, सुशासन आजको आवश्यकता छ तर राजनीति गतिविधि र अस्थिरताले यी सबै कुराहरूलाई ओझेलमा राखेको छ। अझै कति दिन अस्थिरता व्यहोर्नु पर्ने हो भन्ने पनि थाहा छैन।’

असार ९, २०८१ सोमबार १६:३६:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।