नगर सभामा वडाध्यक्षहरूको तारोमा बालेन, निरङ्कुश बनेको दाबी

नगर सभामा वडाध्यक्षहरूको तारोमा बालेन, निरङ्कुश बनेको दाबी

काठमाडौँ : काठमाडौँ महानगरपालिकाका नगर सभामा मेयर बालेन्द्र शाहको कार्यशैलीको आलोचना भएको छ। नगर सभाका सदस्यहरूले मेयर शाह स्वेच्छाचारी भएको भन्दै आलोचना गरेका हुन्।

राजनीतिक स्वार्थ छाडेर सहकार्य गर्दा समेत आफू अनुकूल नभएपछि दलगत स्वार्थमा लागेको आरोप लगाउने, सामाजिक सञ्जालमा जे पायो त्यही लेख्ने गरेको भन्दै उनीहरूले बालेनको चर्को आलोचना गरे।

सभामा सदस्य नवराज पराजुलीले मेयर  शाहले एकलौटी निर्णय गरेर अघि बढ्न खोजे आफूहरू चुप नबस्ने भन्दै चेतावनी दिए।

नगर बजेट सार्वजनिक कार्यक्रममा एमालेका नगर सभा सदस्य पराजुलीले भने ‘हेर्दा तपाईँ स्वतन्त्र र एक्लै भए पनि हामी सबै साथीहरूले राम्रा काममा तपाईँलाई साथ दिन्छौँ। अब नराम्रो गर्न थाल्नुभयो भने मेयरसाब यो चाहिँ कमजोरी भयो यसलाई सुधार गरौँ भन्छौँ। भन्दा पनि मान्नुभएन भने रामराम भन्छौँ काँध थाप्दैनौं।’

उनले सामाजिक सञ्जालबाट जनतामा भ्रम छर्ने कार्य नगर्न चेतावनी दिएका थिए।

सोमबार महानगरको आगामी आर्थिक वर्ष २०८१-०८२ को लागि बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गर्न आयोजित कार्यक्रममा सभा सदस्य पराजुलीले बजेट सार्वजनिक गर्न महानगरले तोकेको समय नगरप्रमुख शाहले एकलौटी निर्णयमा भएको बताएका थिए।

बजेट तथा नीति कार्यक्रम सार्वजनिक गर्ने समय निर्धारण गर्न बसेको बैठकमा नीति कार्यक्रम सार्वजनिक गर्ने समय एक घण्टा पछाडि सारौँ भनेर तीन दलका प्रतिनिधिले प्रस्ताव गर्दा उक्त विषयलाई नगर प्रमुख बालेन शाहले सामाजिक सञ्जालमार्फत ‘३ जना नेताले गर्दा १६० जना जनप्रतिनिधिको बोल्ने अधिकार हनन भयो’ भनी टिप्पणी गरेका थिए।

बजेट सार्वजनिक गर्ने समय निर्धारण गर्न पराजुलीसँगै काङ्ग्रेसबाट नवीन मानन्धर, समाजवादीबाट ईश्वरमान डङ्गोल, बालेन शाह, उपप्रमुख सुनिता डङ्गोल र प्रमुख प्रशासकीय अधिकृत सहित छ जना बैठकमा सहभागी रहेको स्मरण गर्दै उनले भने, ‘अलिकति छलफलको लागि समय अपुग भयो, त्यो बेला एक घण्टा जति समय सारौँ न मेयर साब भनेर हामी तीनै जनाले प्रस्ताव गरेका हौँ।  केही दिन अगाडि नीति कार्यक्रम माथिको छलफलका लागि हामी ६ जनाले बैठक बसेर छलफल गर्यौँ। मेयर साबले १० गते ११ बजे बजेट सार्वजनिक गरौँ भनेर ठ्याक्कै प्रस्ताव राख्नुभयो। हामीले त्यसको विरोध गरेनौँ। कहीँ कतै केही पनि बोलेनौ।’

उनले तीन जना नेताले १६० जना नेतालाई नियन्त्रणमा राख्न मिल्छ , उनीहरूको नैसर्गिक अधिकारलाई हनन् गर्न मिल्छ? भनेर लेख्नु दुःखद भएको बताए।

‘महानगरपालिकामा अप्ठेरो पर्दा हामी सहजीकरण गर्न छलफलमा बस्ने गर्थ्यौँ। के त्यो हामीले तानाशाही व्यवहार गरेको हो र? हो भने हामीले दुई वर्षसम्म गरेको यसलाई तानाशाही भन्दिनु पर्यो, होइन भने अस्ति हामीले त्यति अनुरोध गर्दा कसरी हामी तानाशाह भयौँ ?’पराजुलीले बालेनलाई प्रश्न गरे। 

असार ९, २०८१ सोमबार १६:२९:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।