नगर सभामा एमाले सदस्य पराजुलीले गरे बालेनको आलोचना, अब चुप लागेर नबस्ने चेतावनी

नगर सभामा एमाले सदस्य पराजुलीले गरे बालेनको आलोचना, अब चुप लागेर नबस्ने चेतावनी

काठमाडौं : काठमाडौं महानगरपालिकाका नगर सभा सदस्य नवराज पराजुलीले नगरप्रमुख बालेन शाहले एकलौटी निर्णय गरेर अघि बढ्न खोजे आफूहरू चुप नबस्ने चेतावनी दिएका छन्।  

एमाले र मेयर बालेनबीच दुरी बढ्दै गइरहेको बेला सोमबार नगर बजेट सार्वजनिक कार्यक्रममा एमालेका नगर सभा सदस्य पराजुलीले यस्तो चुनौती दिएका हुन्। 

उनले भने ‘हेर्दा तपाईँ स्वतन्त्र र एक्लै भएपनि हामी सबै साथीहरूले राम्रा काममा तपाईँलाई साथ दिन्छौं। अब नराम्रो गर्न थाल्नुभयो भने मेयरसाब यो चाँही कमजोरी भयो यसलाई सुधार गरौं भन्छौं। भन्दा पनि मान्नुभएन भने रामराम भन्छौं काँध थाप्दैनौं।’

उनले अघिल्ला दिनहरूमा मेयर बालेनलाई साथ सहयोग गरेको र आगामी दिनमा पनि राम्रा काममा निरन्तर गर्ने उल्लेख गर्दै सामाजिक सञ्जालबाट जनतामा भ्रम छर्ने कार्य गर्न नहुनेमा जोड दिए। सकेसम्म नगरका निर्णय प्रकृयामा सर्वसम्मतिमा जानुपर्ने उनको धारणा छ। 

सोमबार महानगरको आगामी आर्थिक वर्ष २०८१/०८२ को लागि बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गर्न आयोजित कार्यक्रममा सभा सदस्य पराजुलीले आज बजेट सार्वजनिक गर्न महानगरले तोकेको समय नगरप्रमुख शाहले एकलौटी निर्णयमा भएको बताए। 

बजेट तथा नीति कार्यक्रम सार्वजनिक गर्ने समय निर्धारण गर्न बसेको बैठकमा नीति कार्यक्रम सार्वजनिक गर्ने समय एक घण्टा पछाडि सारौं भनेर तीन दलका प्रतिनिधिले प्रस्ताव गर्दा उक्त विषयलाई नगर प्रमुख बालेन शाहले सामाजिक सञ्जालमार्फत ‘३ जना नेताले गर्दा १६० जना जनप्रतिनिधिको बोल्ने अधिकार हनन भयो’ भनि टिप्पणी गरेका थिए। 

उनले बजेट सार्वजनिक गर्ने समय निर्धारण गर्न पराजुलीसँगै कांग्रेसबाट नविन मानन्धर, एकीकृत समाजवादीबाट ईश्वरमान डंगोल, मेयर शाह, उप-मेयर सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित छ जना बैठकमा सहभागी रहेको स्मरण गराए। 

‘मेयरसाबले केही समयपछि तीन जना नेताले १६० जना नेतालाई नियन्त्रणमा राख्न मिल्छ, उनीहरुको नैसर्गिक अधिकारलाई हनन् गर्न मिल्छ? भनेर जुन लेख्नुभएको छ मेयरसाब यसका लागि दुःख व्यक्त गर्छु,’ उनले भने। 

उनले महानगरको विषयमा ६ जना नै बसेर बेला बखत छलफल गर्ने गरेको उल्लेख गर्दै शाहले भने जस्तो आफूहरूले एक घण्टा समय थप गर्न गरेको प्रस्ताव तानाशाही हो भन्दै प्रश्न गरे । 

‘महानगरपालिकामा अप्ठेरो पर्दा हामी सहजीकरण गर्नको लागि छलफलमा बस्ने गर्थ्यौं नि। के त्यो हामीले तानाशाही व्यवहार गरेको हो र? हो भने हामीले दुई वर्षसम्म गरेको यसलाई तानाशाही भन्दिनु पर्यो, होइन भने अस्ति हामीले त्यति अनुरोध गर्दा कसरी हामी तानाशाह भयौं?’  पराजुलीले बालेनलाई प्रश्न गरे। 

उनले पञ्चायत र निरंकुश राजतन्त्रको विरुद्धमा लडेर आएको उल्लेख गर्दै आफूहरू तानाशाही नभएको जिकिर गरे।

असार ९, २०८१ सोमबार १५:३९:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।