रुसको चर्चमा आक्रमण, १५ प्रहरीसहित १७ जनाको मृत्यु

रुसको चर्चमा आक्रमण, १५ प्रहरीसहित १७ जनाको मृत्यु

एजेन्सी : रुसको उत्तरी काकेशसस्थित दागेस्तानमा आइतबार सशस्त्र आक्रमणकारीले गरेको आक्रमणमा परी कम्तीमा १७ जनाको मृत्यु भएको छ।

दागेस्तानमा एक पर्व मनाइँदै गर्दा यो हमला भएको हो। आक्रमणकारीहरूले दुईवटा चर्च, एउटा सिनागग (यहूदी पूजास्थल) र प्रहरी चौकीमा आक्रमण गरेका थिए।

यस हमलामा १५ प्रहरी, एक चर्चका पादरी र एक सुरक्षा गार्ड मारिएका छन्। आक्रमणकारीमध्ये छ जना मारिएको पनि आरटीन्यूजले जनाएको छ।

रुसी प्रहरीले यो आक्रमणको अनुसन्धान सुरु गरेको भन्दै आक्रमणकारीको खोजी भइरहेको जनाएको छ।

सशस्त्र आक्रमणकारीहरूले शताब्दीयौं पुरानो पर्व मनाइने शहर डर्बेन्ट र मखाचकलालाई निशाना बनाएका थिए। आक्रमणकारीको अझै पहिचान हुन सकेको छैन।

सामाजिक सञ्जालमा शेयर भइरहेका तस्बिरमा कालो कपडा लगाएका आक्रमणकारीले प्रहरीको गाडी र आपतकालीन सेवा टोलीको काफिले आक्रमण गरिरहेको देख्न सकिन्छ।

यहूदीहरूको पुरानो सहर डर्बेन्टमा आक्रमणकारीहरूले पहिले एउटा सभाघरमा गोली हानेपछि आगो लगाएका थिए।

दागेस्तान रूसको सबैभन्दा पिछडिएको मुस्लिम बहुल प्रान्त हो।

असार ९, २०८१ सोमबार ११:०७:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।