कोपा अमेरिकामा पानामालाई ३-१ गोल अन्तरले हराउँदै उरुग्वे समूहको शीर्ष स्थानमा

कोपा अमेरिकामा पानामालाई ३-१ गोल अन्तरले हराउँदै उरुग्वे समूहको शीर्ष स्थानमा

काठमाडौं : स्टार खेलाडी लुईस सुवारेजविनै मैदान उत्रिएको उरुग्वेले कोपा अमेरिकामा विजयी सुरूवात गरेको छ।

सोमबार भएको खेलमा उरुग्वेले पानामालाई ३-१ गोल अन्तरले पराजित गरेको हो।

उरुग्वेको जितमा म्याक्सिमिलानो जाभियर आरुगो, डार्विन ग्याब्रिएल नुनेज र मेटिस निकोलस भिनाले एक एक गोल गर्दा पानामाका मिचेल अमिर मुरिलोले एक गोल फर्काए।

फ्लोरिडामा भएको खेलमा उरुग्वेले १६औं मिनेटमा अग्रता लिएको थियो। मेटिसको पासमा म्याक्सिमिलानोले गोल गर्दै अग्रता दिलाएका थिए। पहिलो हाफमा १ गोल भएको खेलमा दुवै तर्फबाट बाँकी ३ गोल दोस्रो हाफमा निस्किएका थिए।

८५औं मिनेटमा नुनेजले गोल गर्दै उरुग्वेको अग्रता दोब्बर बनाए। दोस्रो हाफको अतिरिक्त पहिलो मिनेटमा मेटिस निकोलसले डिइगो निकोलसको पासमा गोल गरेपछि उरुग्वे ३-० को सहज अवस्थामा पुगेको थियो।

तर, अतिरिक्त चौथो मिनेटमा पानामाका फेड्रि गोनडोलाको पासमा मुरिलोले गोल गर्दै अन्तर ३-१ मा झारे पनि हार टार्न पर्याप्त भएन।

जितसँगै कोपा अमेरिकाको समूह सीमा उरुग्वेले ३ अंक जोड्दै आफूलाई शीर्ष स्थानमा राखेको छ। यही समूहका अमेरिकाले पनि सोमबार जित निकाल्दै तीन अंक जोडेको थियो।

अमेरिका दोस्रो स्थानमा रहँदा पानामा र बोलिभिया अंकविहीन हुँदै तालिकाको तेस्रो र चौथो स्थानमा छन्।

असार ९, २०८१ सोमबार ०९:४८:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।