भाइरलको छायाँमा स्थापित कलाकार, भन्छन्- ‘हामीलाई भाइरल बन्नु पनि छैन’

भाइरलको छायाँमा स्थापित कलाकार, भन्छन्- ‘हामीलाई भाइरल बन्नु पनि छैन’
तस्बिर- बद्री थापा फोटोग्राफी

काठमाडौं : कुनै समय झापाको दमक वरपर गीत गाएका अशोक दर्जी एकाएक भाइरल भए। उनले गाउने बेसुरा गीतलाई दर्शकले मन पराएपछि युट्युबर भाग्य न्यौपानेको युट्युब र आम्दानी मज्जैले उकालो लाग्यो।

उनी भाइरल भएपछि संगीतकार तथा गायक टंक बुढाथोकीले अशोकलाई आफूसँगै हिँडाए। त्यसपछि उनको चर्को आलोचना भयो। आलोचनालाई थामथुम पार्न उनले गीत अशोकको स्वरमा गीत निकाले- ‘मन बिनाको धन ठूलो कि, धन बिनाको मन...’

अशोकको बोली सुन्न र हाउभाउ हेर्न लालाहित दर्शकले पहिलो गीत नहेर्ने कुरै भयो। गीत भयङ्कर चल्यो। त्यसपछि टंकले उनलाई आफूसँगै राख्दै आएका छन्। बेला-बेलामा अशोकका केही गीतहरू पनि आइरहेका छन्।

भाग्य न्यौपानेकै सिको गरेर अन्य केही युट्युबर पनि गाउँ पसे र फरक क्षमता भएका मानिसहरूको खाेजीमा लागे। बाल गायिका कमला घिमिरे, सचिन परियारदेखि मिन बहादुर बुढा (भेलु बाजे) युट्युबरहरूकै ‘देन’ हो। उनीहरूको सुरुवाती कन्टेन्ट युट्युबमा भाइरल बन्यो पनि।

कमला र सचिन बालखमै गीत गाएर भाइरल हुँदा भेलु बाजे बोल्ने शैलीका कारण सर्वत्र चर्चामा रहे। भाइरल हुने क्रम बढेसँगै युट्युबमा त्यस्तै कन्टेन्टको बाढी चल्यो।

त्यसरी युट्युबबाट केही दिनमै भाइरल भएका कलाकारहरूका कारण वर्षौंदेखि काम गरिरहेका कलाकार ओझेलमा पर्ने गरेका छन्। दर्शकले आफूहरूलाई भन्दा भाइरल भएकाहरूलाई बढी महत्व दिएकोमा केही स्थाति कलाकारले दुःख पोखेका छन्।

काठमाडौंको सिटिभी मलको सिडिसी हलमा १२औं नेपाल अफ्रिका फिल्म फेस्टिभलको दोस्रो दिन ‘मिडियामा महिला कलाकारको स्थान’बारे अभिनेत्री गौरी मल्ल, सरिता लामिछाने, निर्देशक संगीता श्रेष्ठले छलफलमा जुटे।

छलफलमा अभिनेत्री सरिता लामिछानेले आफूलाई भाइरल र विवादमा कुनै रहर नभएको भन्दै भिडियोका साना क्लिप बनाएर त्यसलाई भाइरल नबनाइदिन आग्रह गरिन्।

उनले मिडियाकर्मीलाई सम्झाउँदै भनिन्, ‘सञ्चारकर्मी साथीहरू सानो–सानो क्लिप बनाएर सामाजिक सञ्जालमा भिडियो चाहि नहाल्दिनुस् है।’

अभिनेत्री गौरी मल्लले महिला कलाकारहरूको पारिश्रमिकमा भइरहेको विभेदको विषयमा सोधिएको थियो। तर, उनले त्यसबारे बोल्नै चाहिनन्। उनी रिसाउँदै भनिन्, ‘म किन बोल्ने?’

गौरीले कतिपय कलाकारले ‘बदनाम होस् तर गुमनाम नहोस्’ भन्ने हिसाबले अनेक फण्डा गरिरहे पनि आफूलाई त्यस्तो मन नपर्ने उनले बताइन्।

उनी भन्छिन्, ‘यसरी आज भाइरल भए पनि भोलि कसैले सम्झँदैन। राम्रो काम गरे युग युगसम्म नाम रहन्छ।’

उनले सञ्चारमाध्यमहरूमा आइरहेका गसिपको प्रतिवाद गर्दै राम्रो काम गर्दै जानुपर्नेमा जोड दिइन्।

बहसमा फिल्म निर्देशक संगीता श्रेष्ठले सञ्चार माध्यमहरूमा महिला कलाकारको सुन्दरताको ज्यादै चर्चा पाए पनि अभिनय र योग्यताले स्थान नपाएको गुनासो गरिन्। उनले महिला कलाकारलाई सुन्दरताको आधारमा मात्र मूल्यांकन नगर्न आग्रह गरिन्।

सामाजिक सञ्जालको आडमा भाइरल बनेका बालबालिकाहरूमा घमण्ड पलाएर जीवन नै बरबाद हुने भन्दै सामाजिक सञ्जालको क्षणिक चर्चा अनुचित रहेको बताइन्।

गायिका निशा देशारले बाटोमा गाइरहेका बालबालिकाहरूलाई सामाजिक सञ्जालले भाइरल बनाउँदा राम्रो कलाकार ओझेलमा परेको बताइन्।

‘जो चर्चामा आएका छन्, उनीहरूमा घमण्ड पलाएको छ,’ उनले भनिन्, ‘उनीहरुलाई सबै भन्दा पहिला शिक्षा दीक्षा र अनुभव दिनुपर्छ।’

असार ९, २०८१ सोमबार ०९:२९:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।