कोपा अमेरिकामा अमेरिकाको विजयी सुरूवात

कोपा अमेरिकामा अमेरिकाको विजयी सुरूवात

काठमाडौं : कोपा अमेरिका फुटबलमा घरेलु टोली अमेरिकाले विजयी सुरूवात गरेको छ।

समूह सीको पहिलो खेलमा आज अमेरिकाले बोलिभियालाई २-० गोल अन्तरले पराजित गरेको हो।

टेक्सासमा भएको खेलमा अमेरिकालाई जिताउन क्रिष्टियन पुलिसिस र फ्लोरिन बालोगुनले एक-एक गोल गरे।

खेल सुरु भएको तेस्रो मिनेटमै टिमोथी वेहको पासमा पुलिसिसले गोल गर्दै अमेरिकालाई अग्रता दिलाएका थिए।

४४औं मिनेटमा पुलिसिसको पासमा फ्लोरिनले थप १ गोल गरेपछि अमेरिका पहिलो हाफमै २-० को सहज अवस्थामा पुगेको थियो।

सोही अग्रता अन्तिम समयसम्म जोगाउँदै अमेरिकाले समूह सीको पहिलो खेलमा जित निकाल्न सफल भयो।

जितसँगै अमेरिका ३ अंकका साथ शीर्ष स्थानमा रहेको छ। यो समूहमा उरुग्वे र पानामा पनि रहेका छन्। उरुग्वे र पानामको खेल पनि आज हुँदै छ।

असार ९, २०८१ सोमबार ०७:४१:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।