दान्भी: कमजोर निर्देशनले खलबलिएको एक्सन फिल्म

दान्भी: कमजोर निर्देशनले खलबलिएको एक्सन फिल्म

फिल्म निर्माण समूहगत काम हो। तर यसको सम्पूर्ण नेतृत्व निर्देशकमा हुन्छ। गाडीमा सवार यात्रुहरूले यसो गर्दा राम्रो हुन्छ कि भनेर सुझावसम्म दिन सक्छन्। तर कसरी सवारीलाई गन्तव्यमा पूर्याउने भन्ने निर्णयकर्ता चालक भए जस्तै हो फिल्म निर्माण पनि।

शुक्रवारबाट हलमा प्रदर्शन भइरहेको एक्सन प्रधान फिल्म ‘दान्भी’ को गुणस्तर हेर्ने हो भने फिल्मलाई गन्तव्यमा पूर्याउन निर्देशक पुरै असफल भएका छन्। प्रेम कथा र बदलामा आधारित भएर फिल्मको निर्माण भएको छ,  तर निर्देशकीय कमजोरीले अपेक्षित प्रभाव छोड्न फिल्म असफल भएको छ।

कथा संक्षेप:

दान्भी (पूजा शर्मा) र प्रहरी अधिकारी शीर्षक (किरण श्रेष्ठ) बिचको प्रेम कथाबाट फिल्म सुरु हुन्छ। विवाहको तयारीमा रहेका यी दुईको खुसी त्यतिबेला टुट्छ जब शीर्षक एक अपराध नियन्त्रण अभियानमा मारिन्छन् त्यसपछि दान्भी बदलाको खोजीमा निस्कन्छिन् र शीर्षकको साथी सारांश (कुन्साङ बोम्जन)लाई शङ्काको घेरामा पार्छिन्।

सबल पक्ष

प्राय प्रेमिल चरित्रमा अभिनय गरिरहेकी अभिनेत्री पूजा शर्मा यो फिल्ममा एक्सन भूमिकामा देखिएकी छिन्। उनको यो  प्रयास प्रशंसनीय छ।

उनलाई एक्सन अवतारमा देखाउन द्वन्द्व निर्देशकले भरपुर मिहेनत गरेको देखिन्छ। एक्सन सिनमा पूजाको चरित्र सुहाएको पनि छ।

निर्देशक रूपेश तामाङले फिल्ममा केही सस्पेन्स दृश्यहरू निर्माण गर्ने प्रयास गरेका छन्। त्यसमा उनको मिहेनत देखिन्छ।

गज्जब बहादुरको कमेडीले दर्शकलाई मनोरञ्जन दिन्छ। केही संवादहरू, जस्तै पूजाको ‘ओ अर्काको मान्छे’  दर्शकले सम्झिरहन्छन्।

नेपाल र भारतको दार्जिलिङमा गरिएको छायाङ्कनले फिल्मलाई भिज्योलमा केही बलियो बनाएको छ।

कमजोर पक्ष

फिल्मको पटकथा नै चौपट छ जसले गर्दा निर्देशक मूल कथामा दृश्य बगाउन असफल भएका छन्। कलाकारहरूको अभिनय कमजोर देखिन्छ। विशेषगरी सहायक कलाकारहरूको अभिनय निकै फितलो छ।

गीत-सङ्गीत त्यसको प्रयोग गरिएको पृष्ठभूमि कथा अनुसार फिट हुन सकेको छैन। फिल्मको ध्वनि समेत प्रभावकारी छैन।

कथा प्रस्तुतीकरणमा निर्देशक ठाउँ-ठाउँमा चिप्लिएका छन्।

एक्सन जनरामा ‘दान्भी’ एक महत्त्वाकाङ्क्षी प्रयास हो, तर कस्तो फिल्म बनाउन लागेको हो र कसरी कथालाई अगाडि बढाउने भन्नेमा निर्देशकै अलमलमा पर्दा फिल्म कमजोर बनेको छ।

निर्देशक रूपेश तामाङले केही राम्रा दृश्यहरू सिर्जना गरे पनि, समग्र फिल्मलाई एक सूत्रमा बाँध्न सफल भएका छैनन्। पूजा शर्माले एक्सन अभिनेत्रीको रूपमा आफ्नो क्षमता देखाउने प्रयास गरेकी छिन्, तर निर्देशकीय मार्गदर्शनको कमीले उनी पूर्ण रूपमा सफल हुन सकेकी छैनन्।

फिल्मको छायाङ्कन र प्राविधिक पक्षहरू राम्रा देखिए पनि, कथा र प्रस्तुतीकरण निकै कमजोर छ। सङ्गीत र गीतहरू याद गर्न लायक छैनन्, जुन नेपाली फिल्मको महत्त्वपूर्ण पक्ष हो।

सहायक कलाकारहरू, विशेषगरी कुन्साङ बोम्जन र राजाराम पौडेलको अभिनयमा समेत टन्नै कमजोरीहरू देखिन्छन्।निर्देशकले पूजा शर्मालाई एक्सन अवतारमा देखाउने जोखिम मोलेका छन्। यो नै यो फिल्मको सकारात्मक पक्ष हो।

तर, निर्देशकीय कमजोरी र कथा प्रस्तुतीकरणमा रहेका त्रुटिहरूले गर्दा फिल्म कसिलो बन्न सकेको छैन। यद्यपि, यसले पूजा शर्मा जस्ता कलाकारहरूलाई नयाँ भूमिकामा आफूलाई प्रस्तुत गर्ने अवसर दिएको छ, जुन सकारात्मक पक्ष हो। 

असार ९, २०८१ आइतबार १६:४९:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।