मन्त्री डीपी अर्यालद्वारा सहकारी क्षेत्रको बचाउ: केही व्यक्तिको गल्तीले सिंगो संस्था बदनाम हुनु हुँदैन
काठमाडौं : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले केही व्यक्तिहरूले गरेको अपराधले सिंगो संस्थालाई नै बदनाम गर्ने गरेको बताएका छन्।
आइतबार काठमाडौंमा आयोजित 'सहकारी रोजगार मेला २०८१' को समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सहकारीको योगदानलाई भुलेर केही व्यक्तिहरूले गरेको अपराधले सिंगो संस्थालाई नै बदनाम गराउँने काम भइरहेको बताए।
सहकारीको वचत अपचलनमा मन्त्री अर्याल समेत अनुसन्धानको दायरामा छन्। उनी हाम्रो नयाँ कृषी सहकारीको रकम अपचलनमा जोडिएका छन्। उनको पार्टी सभापती रवि लामिछाने सुप्रिम लगायतका सहकारीको रकम अपचलनमा जोडिएका छन्। यी दुबैबारे संसदीय छानबिन समिती नै बनिसकेको छ।
उनले भने, 'नेपालमा सहकारीको मूल्य मान्यता अनि नेपालमा सहकारीको माध्यमबाट भइरहेको विकास, लाखौं मानिसको रोजगारी हो सहकारी हो। सहकारीले जुन आफूसँग उत्पादन भएको उत्पादनलाई बजारमा लिएर जानको लागि ठूलो सहयोग गर्यो। हामीले यी कुराहरुलाई चटक्कै बिर्सन्छौ र समाजमा रहेका केही मानिसहरु जो औंलाले गन्दा भ्याउने छन् त्यो क्षेत्रमा आएर अपराध गर्छन्। अनि सबैले संस्थालाई नै बदनाम गर्नेतिर लाग्छन्।'
उनले अहिले एउटा जमात सहकारी ठगी गर्ने थलो भनेर मात्र बहस गर्न व्यस्त र अर्को अवैध सम्पत्ति कसरी लुकाउन सकिन्छ भनेर सहकारीकै बदनाम गर्ने प्रयासमा लागिरहेको टिप्पणी गरे।
उनले भने, 'अहिले एउटा जमात सहकारी ठगी गर्ने थलो भनेर मात्र बहस गर्न व्यस्त छ। अर्को जमात आफूहरुले राखेका अवैध सम्पत्ति कसरी लुकाउन सकिन्छ भनेर सहकारीकै बदनाम गरिरहने प्रयासमा लागिरहेका छन्। त्यसैले सहकारीले यो देशको अर्थतन्त्रलाई चलायमान बनाउनको लागि के कस्तो योगदान पुर्याएको छ। सुसूचित गराउन आवश्यक छ।'
असार ८, २०८१ आइतबार १५:३६:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।