यता डेढ करोडको घडीमा मौन, उता दुई लाखको ब्यागमा राजनीतिक तुफान

यता डेढ करोडको घडीमा मौन, उता दुई लाखको ब्यागमा राजनीतिक तुफान

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सचिवालयको उद्देश्य थियो प्रधानमन्त्रीको क्रिकेट प्रेमको तस्बिर सार्वजनिक गर्ने। त्यसैले उनीहरूले बेलुका टी-२० विश्वकपमा खेलिरहेको नेपालको खेल छोरीसँगै बसेर हेरिरहेको प्रचण्डको तस्बिर सार्वजनिक गर्यो।

तर चर्चा उनको क्रिकेट प्रेमको हैन घडीको भयो।

दुवैको हातमा प्रस्ट देखिएको घडी रोलेक्स ब्रान्डको थियो जसको मूल्य ७८ लाख हाराहारी देखिन्छ। प्रधानमन्त्री अनि उनको स्वकीय सचिव समेत रहेकी छोरीले पक्कै नक्कली ब्रान्ड त लगाएका थिएनन् होला नै।

सामाजिक सञ्जालमा चर्को बहस भए। प्रचण्डले सार्वजनिक गरेको सम्पत्ति विवरणको तस्बिर र रोलेक्स घडीको मूल्यको तस्बिर राखेर आलोचना भयो। हरायो।

एक पटक यसैगरि गङ्गाले बोक्ने ब्यागको मूल्यले समेत चर्चा पाएको थियो। बिचमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकी श्रीमती निकिता पौडेलले बोकेको ब्याग मूल्य ६ लाख पर्ने भन्दै बहस भयो।

तर यी बहसले केही फरक परेन उनीहरुलाई। केही दिन सामाजिक सञ्जालमा चर्को आलोचना भयो अनि सेलायो। न त सम्बन्धित पक्षले नै यसबारे कुनै आधिकारिक भनाई सार्वजनिक गरे न त त्यो आलोचनाले उनीहरूमा कुनै प्रभाव नै परेको देखियो।

तर दक्षिण कोरियामा राष्ट्रपतिकी श्रीमती  किम क्योन बसेको टेबल अगाडि महँगो ब्याग राखिएको एक भिडियो क्लिपले राजनीतिक तरङ्ग ल्याएको छ।

त्यसले दक्षिण कोरियाका राष्ट्रपति यून सिक कियोलको लोकप्रियता त घटाएको छ नै निर्वाचनको परिणाममा समेत त्यो घटनाले असर पार्ने विश्लेषण भइरहेको छ।

कोरियाको घटना के हो?

सेप्टेम्बर २०२२ मा इसाई पादरी चोई जे युंगले दक्षिण कोरियाको फर्स्ट लेडी किम क्योनसँग उनको निजी निवासमा भेट गरेका थिए।

यी पादरी एक मेसेजिङ सेवा मार्फत फर्स्ट लेडीको सम्पर्कमा थिए। उनीहरूबिच मित्रवत् सम्बन्ध थियो र उनीहरू धेरै महिनादेखि एक अर्कालाई सन्देश पठाइरहेका थिए।

एक भेटको क्रममा उनले फर्स्ट लेडीलाई वरिष्ठ सरकारी पदहरूको नियुक्तिको बारेमा कुरा गर्दै सुनेका थिए। फर्स्ट लेडीको सरकारमा कुनै आधिकारिक भूमिका छैन त्यसैले यी पादरीलाई उनको त्यो कुरा अनुचित लाग्यो।

पादरीले फर्स्ट लेडीलाई सरकारी नियुक्तिहरूको बारेमा बोल्दै गरेको सुने वा देखे, तब उनलाई लाग्यो कि यो सरकारमा गलत तरिकाले प्रभाव पार्ने जस्तो काम हो।

सरकारी नियुक्तिहरूमा फर्स्ट लेडीको कथित हस्तक्षेपबारे सार्वजनिक गर्न उनी फर्स्ट लेडीसँगको अर्को भेटको बेलामा गोप्य क्यामेरा लिएर गए।

क्यामेरा उनको नाडीमा बाँधिएको घडीमा लुकाइएको थियो। जब एक वर्षपछि त्यो भिडियो सार्वजनिक भयो, तब बहसको विषय सरकारी नियुक्तिहरूमा फर्स्ट लेडीको हस्तक्षेप होइन, दुई हजार डलरको एउटा डिजाइनर ह्यान्डब्याग बन्यो।

ब्याग पादरीले नै उपहारमा लगेका थिए। उनको उद्देश्य उनलाई घूस दिनु वा उनलाई घूस लिँदै गरेको देखाउनु थिएन।

उनी केवल सरकारी नियुक्तिहरूमा उनको भूमिकालाई सबैको सामु ल्याउन चाहन्थे। भिडियोमा फर्स्ट लेडीले त्यो ह्यान्डब्याग स्वीकार गरेको देखिँदैन।

‘तपाईँ सधैँ किन महँगो उपहारहरू लिएर आउनुहुन्छ। तपाईँले यस्तो गर्नु हुँदैन’ भनेको सुनिन्छ। भिडियोमा अगाडिको टेबलको सामुन्ने डियोरको ह्यान्डब्याग राखिएको देखिन्छ।

यही दृश्यले ठुलो विवादको स्वरूप लियो। सबै विदेशी मिडियामा त्यो खबर आगोको जस्तै फैलियो र दक्षिण कोरियामा एक राजनीतिक आँधी आयो।

असार ८, २०८१ आइतबार १५:२१:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।