सहकारीको जागिर छोडेर बगरमा तरकारी फलाइरहेका पदमराज, आफू लाखौँ कमाउँछन् र अरूलाई पनि प्रेरित गर्छन्

सहकारीको जागिर छोडेर बगरमा तरकारी फलाइरहेका पदमराज, आफू लाखौँ कमाउँछन् र अरूलाई पनि प्रेरित गर्छन्

सुर्खेत :  पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका–५ तिखाकुनाका ३६ वर्षीय पदमराज देवकोटा ०७१ साल साउन २८ गतेको रात कहिल्यै बिर्सिँदैनन्। किनभने त्यही रात आएको बाढीले उनको १० रोपनी अन्न उब्जनी हुने जग्गा बगर बनाइदिएको जो थियो। त्यसपछि ४० मुरी धान, १५ मुरी गहुँ र सात मुरी मकै फल्ने उनको उक्त जग्गामा केही वर्षसम्म बगरै रह्यो। जतिबेला पदम जिआइजेटको सहकार्यमा स्थानीय एक सहकारी संस्थामा प्रबन्धकको जिम्मेवारीमा काम गर्थे। 

तीन वर्ष त्यस सहकारीमा काम गरेका पदमले त्यसपछि बौद्ध ग्रामीण बहुउद्देश्यीय सहकारी संस्थाको वीरेन्द्रनगर उपशाखा प्रमुखको रुपमा जिम्मेवारी थाले। यसक्रममा उनले सुर्खेत, जाजरकोट लगायतका ठाउँमा काम गर्ने अवसर पाए। तर, सहकारीमा काम गरिरहे पनि उनको मनमा भने आफ्नो बगर भएको जग्गाको बारम्बार चिन्ता लागिरहन्थ्यो। तर, चिन्तामात्र कति गरिरहने? हरेक चुनौतीभित्र अवसर लुकेको हुन्छ भनेजस्तै पदमले पनि त्यो बगरमा परिणत भएको जग्गालाई अवसरमा बदल्ने सोचे। अनि उनले सहकारीको त्यो जागिर छोडे। 

त्यसपछि सुरू भयो उनको तरकारी खेती यात्रा। उनले त्यही बगरमा तरकारी उत्पादन गर्ने निधो गरे। आर्थिक वर्ष ०७६–०७७ मा कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतको कृषि विकास निर्देशनालयले बगरमा चक्लाबन्दी कार्यक्रम सुरू गर्यो। त्यस अन्तर्गत टिप्पर, ट्याक्टर र जेसिबी लगाएर बगरको ढुंगालाई सोरेर फालियो। चक्लाबन्दी कार्यक्रमको लागि निर्देशनालयले ४७ लाख रुपैयाँ बजेट छुट्याइएको थियो।

६ वर्षपछि ०७७ सालमा पहिलोपटक त्यस बगरमा पदमले तरभुजा, काउली लगायतका तरकारी लगाए। पहिलो र दोस्रो वर्ष पानी तथा मलको अभाव हुँदा उत्पादन हुन सकेन। तर, पदमले हार मानेनन्। बरू बगर बनेको त्यस जग्गालाई मलिलो बनाउने काममा लागे। अनि त विस्तारै उक्त बगरमा धान र तरकारी फाटफुट फल्न थाल्यो। यत्तिले मात्रै उनको चित्त बुझेन। त्यसपछि उनले व्यवसायीक रुपमा नै कृषि कर्म गर्ने योजनाका साथ ०७९ मा आदर्श बहुउद्देश्यीय कृषि तथा पशुपंक्षी फर्म दर्ता गरे। 

अहिले उनै पदम आफ्नो २० रोपनी जग्गामा दुई सिजनमा खेती गरिरहेका छन्। वर्षमा धान र हिउँदमा गहुँको साटो तरकारी लगाउँछन्। अहिले पनि उनको १३ रोपनी जग्गामा तरकारी खेती छ। उनले २ हजार केजी तरभुजा, सय केजी करेला, १५० केजी घिरौला, ५ सय केजी बन्दा कोभी, २५० केजी लौका, सय केजी काँक्रा, २ सय केजी फर्सी, १५० केजी चिचिण्डा बिक्री गरिसकेका छन्। आफ्नो फर्ममा १६ किलोसम्मको तरभुजा फलाएको उनले बताए। उनी एक सिजनमा ५० मुरी धान र अर्को सिजनमा पाँच लाख रुपैयाँ बराबरको तरकारी बेच्छन्।

‘म बाढीपीडित हुँ। सबै जग्गा बाढीले बगाएपछि जागिर छोडेर बगरमा तरकारी फलाउन लागिरहेको छु,’ उनले भने, ‘हिउँदे सिजनमा गहुँ १५–२० मुरी हुन्थ्यो। गहुँ लगाउन छोडेर तरकारी लगाउन थालियो। अहिले तरकारीबाटै एक सिजनमा सबै खर्च कटाएर पाँच लाखसम्म आम्दानी हुन्छ।’

पदम अहिले आफ्नो ठाउँमा उदाहरण र युवाहरूका लागि प्रेरणा नै बनेका छन्। पदमले बगरमा तरकारी फलाउन थालेपछि भारत गएका गाउँका युवाहरू पनि तरकारी खेती गर्ने योजनाका साथ फर्किन थालेका छन्। १२० घरधुरी बाढीपीडित मध्ये ९२ जनाले बगरमा खेतिपाती गर्न थालेका छन्। पदम जस्तै अन्य चार जनाले व्यवसायीक तरकारी खेतीबाट राम्रो आम्दानीसमेत गर्ने गरेका छन्। बाढीका कारण तिखाकुना र जामु गाउँका १३ जनाको ज्यान गएको थियो। त्यस्तै, चार सय रोपनी बढी जग्गा बगरमा परिणत भएको थियो। 

‘यस्तो ढुंगा र बालुवाको थुप्रो भएको बगरमा किन खेती गरेको होला भनेर मलाई सबैले भन्थे। बेकारमा बालुवामा लगानी गरेर के गर्छस् भन्थे। यस्तो खेती होला भनेर कसैले कल्पना गरेका थिएनन्,’ उनले भने।

पदमले उत्पादन गरेको तरकारी सुदूरपश्चिमको कैलाली चिसापानी र स्थानीय बाबियाचौर बजारमा खपत हुने गरेको छ। आफूले प्रधानमन्त्री स्वरोजगार कार्यक्रमबाट टनेल र मेसिनरीमा केही अनुदान समेत पाएको पदम बताउँछन्। अहिले कृषि विकास निर्देशनालयले उनको जग्गामा डिप बोरिङसमेत बनाइदिएको छ।

‘प्रधानमन्त्री स्वरोजगार कार्यक्रमबाट केही मेसिन र टनेलमा अनुदान पाएको छु,’ उनले भने, ‘व्यक्तिगत ६ लाख रुपैयाँ लगानी गरेर बगरमा कृषि गर्न थालेको हुँ। अहिले धानको सिजनमा ५० मुरी हुन्छ। गहुँको साटो मात्रै तरकारी लगाउने गरेको छु।’

पदमको घरमा श्रीमती, सात वर्षको छोरा, पाँच वर्षकी छोरी र दुई भाई, आमा र बुवा गरेर आठ जनाको परिवार छ। खेतीमा काम गर्नका लागि उनले कुनै कामदार लगाउँदैनन्। घरकै परिवारहरूले बारीमा काम गर्छन्। उनकी श्रीमती स्थानीय विद्यालयमा पढाउँछिन्। बिहान बेलुकाको खाली समय बारीमै बिताउँछिन्। पदम तरकारी खेतीसँगै समाजसेवामा पनि उत्तिकै सक्रिय छन्। गाउँघरका समस्या, विकास निर्माणका विषयमा स्थानीय र प्रदेश सरकारसँग समन्वय गर्छन्। आफ्नो पहलमा कुलो, डिप बोरिङ, विद्यालयको भवन, घरघरमा खानेपानी धारा, चक्लाबन्दी कार्यक्रम जस्ता विकासे कामहरू भएको उनको दाबी छ।

स्थानीय उत्पादन खपतमा समस्या
लामो समयको संघर्षपछि तरकारी खेतीमा एक हदसम्मको सफलता पाएका पदमले अहिले पनि थुप्रै चुनौतीहरू सामना गरिरहेकै छन्। उनले बाहिरको तरकारीमा उपभोक्ता र व्यापारीको ध्यान जान थालेपछि स्थानीय किसानले उत्पादन गरेको तरकारी खपत हुन समस्या भएको बताए।

‘भारतको तरकारी यहाँ आयात हुन्छ। किन्नलाई दुई/चार रुपैयाँ सस्तो पर्छ होला तर, त्यसको गुणस्तरको विषयमा कुनै पनि निकायले ध्यान दिएको छैन,’ पदमले भने, ‘यहाँको अर्गानिक उत्पादन बिकाउन गाह्रो हुन्छ। स्थानीय उत्पादनको फाइदाका विषयमा चेतना जगाउन आवश्यक छ। बिचौलियाहरुले बीचमा कमाउँछन् तर, उपभोक्ता र किसान भने मर्कामा परेका छन्।’

उनले बिचौलियाले किसानबाट ३० रुपैयाँमा लिएर उपभोक्तासम्म पुग्दा ८० रुपैयाँ मूल्य पुग्नु दुखद् भएको भन्दै त्यसको अन्त्यका लागि राज्यले नै नीति बनाएर कार्यान्वयन गर्नुपर्ने बताए। 

आगामी दिनमा भने १२ महिना नै तरकारी उत्पादन गर्ने लक्ष्यका साथ काम गरिरहेको उनको भनाई छ।

असार ८, २०८१ आइतबार ०९:३३:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।