डिस्ट्रिब्युटरको प्राथमिकता लागु गर्नुपर्छ भन्ने प्रेसर भोग्नु परिरहेको छ : निवर्तमान मुख्यमन्त्री कार्की

डिस्ट्रिब्युटरको प्राथमिकता लागु गर्नुपर्छ भन्ने प्रेसर भोग्नु परिरहेको छ : निवर्तमान मुख्यमन्त्री कार्की

काठमाडौं : कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सरकार र जनताको प्राथमिकता भन्दा डिस्ट्रिब्युटरको प्राथमिकता बढी लागु गर्नुपर्छ भन्ने प्रेसर बढी भोग्नुपरिरहेको बताएका छन्। 

शनिबार राजधानीमा सुदर्शन देवकोटा स्मृति चौथो राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार कार्यक्रममा उनले यस्तो बताएका हुन्। 

‘सरकारको र जनताको प्राथमिकता भन्दा डिस्ट्रिब्युटरको प्राथमिकता बढी लागु गर्नुपर्छ भन्ने प्रेसर बढी भोग्नुपरिरहेको छ,’ कार्कीले भने।

उनले सप्लायर्सहरूले नै लगेर छनोट गरेको सामानहरूमा बढी ध्यान केन्द्रित हुने गरेको बताए। सप्लार्सहरू जिम्मेवार नबन्ने गरेको उनको आशय छ। 

‘त्यो पनि हुन त नेपाली जनता नै हो। नेपाली नागरिक नै हो,’  कार्कीले भने, ‘तर, उ नेपाली नागरिक नै हैन जसो गरी म सामान बेच्ने मान्छे मात्रै हुँ। म बेचिसकेर हिँड्न पाए हुन्छ भन्ने हिसाबले अहिले एउटा न्यारेटिभ कृयट भएको छ।’

उनले खरिदको सवालमा जनप्रतिनिधिहरू समेत झुक्किरहेको बताए। जनताको प्राथमिकता भन्दा सप्लार्सको प्राथमिकतामा गएको खण्डमा फजुल खर्च हुने उनले बताए। 

‘सप्लायर्सको हिसाबले हामी एकैचोटी (सामान) लिइदिने भयौँ स्वास्थ्य मन्त्रालयले,’कार्कीले भने,‘...त्यसले दबाई ड्यामेज हुन्छ। जनताको कर खतम हुन्छ। र, हामी केही मान्छेहरू मात्रै मोटाउँछौँ। तर, जनता दुब्लाउँछ। बिरामी मर्छ।’ 
 
उनले कसले कुनचाहिँ सामग्री किन्दा घोटाला गर्यो भन्ने मात्रै समाचार नलेखी जनतालाई कसरी बचाउन सकिन्छ भनेर सोच्न आग्रह गरे।

स्वर्गीय पत्रकार सुदर्शन देवकोटाको स्मृतिमा शारदा सुदर्शन देवकोटा फाउन्डेसन र स्वास्थ्य पत्रकार मञ्च नेपालको सहकार्यमा स्थापित यो वर्षको चौथो राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार नेपाली हेल्थ डटकमका सम्पादक रामप्रसाद न्यौपानेले पाएका छन्। सो पुरस्कारको राशी ३३ हजार तीन सय ३३ रुपैयाँ रहेको थियो। 

असार ७, २०८१ शनिबार २२:०७:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।