डेढ वर्षपछि प्रधानमन्त्री प्रचण्डमा देखिन थाल्यो 'सत्ता गुम्ने डर'

डेढ वर्षपछि प्रधानमन्त्री प्रचण्डमा देखिन थाल्यो 'सत्ता गुम्ने डर'

काठमाडौं : बजेटमा सत्ता घटकबीचकै अशन्तुष्टी, अदालतमा जनता समाजवादी पार्टीको बैधानिकताको सुनुवाई अनि नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताबीच आन्तरिक रुपमा बढिरहेको निकटताकाबीच शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ताको आयु सम्झिए।

२०७० मंसिर ४ को निर्वाचनमा ३२ सिटमा पार्टी खुम्चिए पनि एमाले र नेपाली कांग्रेसबीचको प्रतिष्पर्धामा खेल्दै प्रधानमन्त्री पदमा कायम रहन सफल प्रचण्डले आफ्नो पार्टीको त्यही ३२ सिटलाई म्याजिक नम्बरसँग दाँजेर आफू पुरै कार्यकालै प्रधानमन्त्री बन्नसक्ने दाबी गरे पनि उनमा शत्ता गुम्ने भय देखिएको थियो। 

गत  पुष १० मा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, एकीकृत समाजवादी, जनमत पार्टी लगायतको समर्थनमा मुलुकको तेस्रोपटक प्रधानमन्त्री बनेका माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्ड जसरी सुरुदेखि नै त्यो सत्ता गठबन्धन परसम्म जान्छ भन्नेमा विश्वस्त देखिएका थिएनन् त्यसरी नै अहिले एमालेसहितको गठबन्धनको आयुमा विश्वस्त देखिएका छैनन्।

हिजो सरकार संचालनमा एमाले अध्यक्ष केपी शर्मा ओलीको हालिमुहाली, राजावादी, संघीयता विरोधी लगायतका शक्तिहरूसँग मिलेर सरकार बनाउनुको नैतिक संकट, कांग्रेससँग मिलेर चुनाव लडेर आएको परिस्थिति रहेकै कारण पनि उनले खुलेर त्यो गठबन्धन लामो समयसम्म जानेमा शंका गरेका थिए।

प्रधानमन्त्री प्रचण्डबाहेक ओलीसहितका अन्य शीर्ष नेताहरूले भने गठबन्धनको आयु लामो भएको दाबी गर्दागर्दै एकाएक सत्ता गठबन्धन बदलियो।३ महिना नपुग्दै फेरि कांग्रेस-माओवादी गठबन्धन ब्यूँतियो। त्यसपछि प्रधानमन्त्री प्रचण्डले तनहु, चितवन र बारामा भएको उपनिर्वाचनमा सहभागी हुँदै कांग्रेससँगको तत्कालीन गठबन्धन ५ वर्षै टिक्ने दाबी गरेका थिए। विभिन्न सार्वजनिक कार्यक्रमहरूमा गठबन्धनको आयु लामो भएको दाबी गरिरहे।

कांग्रेससहितका दलका नेताहरु पनि गठबन्धन पाँचै वर्ष टिक्ने दाबी गरेर थाकेनन्।  तर राष्ट्रपतीको निर्वाचनलाई बहाना बनाएर कांग्रेसतिर लहसिएका प्रचण्ड राष्ट्रिय सभाको अध्यक्ष नारायण दाहाललाई बनाउन एमालेतिर लहसिए। गठबन्धन बदलियो।

०५२ सालदेखि नै पार्टीभित्र होस् वा सत्ताको खेलमा होस्, 'फुटाऊ र राज गर' भन्ने मान्यताबाट ग्रसित प्रचण्डले कहिले कांग्रेसलाई लिएर त कहिले एमालेलाई लिएर यो डेढ वर्ष निर्धक्क सत्ता चलाइरहेका छन्। यसबीचमा एकाधबाहेक सत्ता गुम्ने डर उनीमा देखिएको छैन। अघिल्लो गठबन्धनमा आफ्नो पद टिकिरहनेमा ढुक्क देखिएका प्रधानमन्त्री प्रचण्डमा पछिल्लो समय भने सत्ता गुम्ने डर देखिन थालेको छ।

सुषुप्त रूपमा रहेको उनको यो डर शनिबार सार्वजनिक रूपमै देखियो। तामाङ राष्ट्रिय मुक्ति मोर्चाको महाधिवेशनलाई सम्बोधन गर्दै उनले आफू नेतृत्वको सरकार ढल्दैछ भनेर चलाएको हल्लामा कुनै सत्यता नभएको दाबी गरेका थिए।

उनले भने, ‘बाहिर भनिराखे जस्तो सरकार कति दिन होला, चल्छ कि चल्दैन भन्ने विभिन्न कुरा आउँछन्। केही दिनपछि सरकार जाँदैछ रे भनेर पूरै कन्फ्युजन बनाउने कोसिस भएको छ। यो भन्न थालेको प्रधानमन्त्री भएको बेलादेखि नै हो। मैले जे देखेको छु, तरिका मिल्यो भने पूरै अवधि बसिन्छ। ढुक्कसँग काम गरे हुन्छ। सजिलो छैन हामीलाई हटाउन, इतिहास, मुद्दा र हाम्रो जादुवाला नम्बर छ। थोरै छ भनेर चिन्ता गर्नुपर्ने अवस्था छैन। जादुले अनेक गरेर मिलाइहाल्छ।’

बजेटबाट देखिएको खटपट 
आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट विनियोजन गर्दैदेखि सत्ता गठबन्धनमा हलचल भइरहेको छ। दलहरू बीचमा वैमनश्यता सार्वजनिक रूपमै देखिन थालेको छ। त्यसमा पनि ओली र प्रचण्डको बीचमा बढेको दुरी सार्वजनिक रुपमै देखिन थालेको छ।

बजेट निर्माणमा पर्याप्त छलफल नगरिएको र एमालेले पाएका मन्त्रालयको रकम कटौती गरिएको भन्दै एमाले अध्यक्ष ओलीले सार्वजनिक रुपमै असन्तुष्टि ब्यक्त गरे। राष्ट्रपति रामचन्द्र पौडेलले वाचन गरेको सरकारको नीति तथा कार्यक्रममा 'जनयुद्ध' शब्दको ठाउँमा 'सशस्त्र संघर्ष' राख्न सफल भएको एमाले पंक्ति बजेट वाचनका क्रममा अर्थमन्त्री वर्षमान पुनले फेरि 'जनयुद्ध' नै राखेपछि थप असन्तुष्ट देखिन्छन्।

माओवादीले भन्ने गरेको 'जनयुद्व'लाई एमाले अध्यक्ष ओलीले पटकपटक आलोचना गर्दै आइरहेको बेला अर्थमन्त्री पुनले त्यही शब्द समावेश गरेपछि ओली चिढिनु सामान्य नै हो।

त्यसमा पनि सरकारले शुक्रबार ११ देशका राजदूत नियुक्त सिफारिस गर्दैगर्दा माओवादी र रास्वपा जिल्ल छन्। त्यसको तुष पनि सत्ता गठबन्धनभित्र देखिन्छ। बजेट सीमित नेताको वरिपरी मात्र घुम्यो भन्दै रास्वपा नेता सन्तोष परियार, हरि ढकाल, शिशिर खनाल लगायतले संसददेखि बाहिरसम्मै आलोचना गरिरहेका छन्।

यसले प्रधानमन्त्री प्रचण्डमा सरकार ढल्ने डर बढ्दै गएको देखिन्छ नै। त्यसको विकल्पमा उनले पटकपटक अर्थमन्त्री वर्षमान पुन मार्फत बजेटको कारण गठबन्धनमा कुनै असर नपर्ने अभिव्यक्ति सार्वजनिक गराइरहेका छन्। प्रचण्ड स्वयंम पनि बजेटको मतभेदले गठबन्धनमा प्रभाव नपर्ने बताइरहेका छन्। 

सरकारका प्रवक्ता रेखा शर्माले शनिबार धनगढीको एक कार्यक्रममा बजेटका कारण सत्तासाझेदार दलबीच समस्या नहुने दाबी गरिन्। विभिन्न दलले गठबन्धन गरेर सरकार चलाइरहेकाले एउटै पार्टीले सरकार चलाएजस्तो नहुने बताउँदै उनले अहिलेको गठबन्धन सरकारको विकल्पबारे नसोचिएको दाबी गरिन्।

दोस्रोपटक एमालेसँग मिल्दैदेखि पद गुम्ने डरमा थिए प्रचण्ड 
प्रधानमन्त्री प्रचण्डको पद गुम्ने डर आज मात्र छल्किएको होइन। कांग्रेससँगको गठबन्धन तोडेर दोस्रोपटक एमालेसँग मिलेर सरकार बनाएको सुरुवाती दिनमै उनमा पद गुम्ने डर देखिन्थ्यो। तेस्रोपटक विश्वासको मत लिने क्रममा समेत त्यो झल्किएको थियो। 

गएको फागुन ३० गते बसेको प्रतिनिधि सभा बैठकमा एमाले अध्यक्ष ओलीले कांग्रेस सभापति देउवालाई 'बसौं, सल्लाह गरौँ' भन्दै आह्वान गरेपछि नै प्रचण्डको मनमा चिसो पसेको देखिन्थ्यो। त्यसबेला कांग्रेस र एमालेका दोस्रो तहका नेताहरूबीच दुई ठूला शक्ति मिलेर सरकार बनाउने  छलफल चलिरहेकै थियो। अलि अत्यासमा देखिएका प्रधानमन्त्री प्रचण्डले कांग्रेस र एमालेलाई मिलेर देखाउन चुनौती समेत दिएका थिए। 

विश्वासको मत माग्ने क्रममा उनले भनेका थिए, 'ठूला दलहरू हामी मिल्यौं भने तेरो हालत के हुन्छ?  भनेर पहिले पनि भनियो। आज पनि भनियो। मेरो त कामना छ–तपाईहरू मिल्नुस्। सबै मिल्नुस्। तपाईँहरू सबै मिल्नुभयो भने नेकपा माओवादी केन्द्र प्रमुख प्रतिपक्षमा बसेर फेरि देश र जनताको पक्षमा, संविधानको रक्षामा पक्षमा, राष्ट्रियताको सुदृढीकरणको पक्षमा लडिराख्छ। तपाईँहरूलाई लागेको छ–प्रचण्ड त्यसो भनेर डराउँछ भनेर? नेपाली कांग्रेसका नेता साथीहरूलाई यदि यो लागेको छ भने सबै मिलेर तेरो हालत के हुन्छ भन्ने लागेको छ भने हिजो त तपाईँहरू सबै मिलेर टाउको काट्न खोज्या हो नि त। डराउँछ माओवादी केन्द्र भन्ठान्नुभएको छ? त्यस्तो हुँदैन।'

त्यसअघि कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले एमाले मिले तपाईंको हालत के हुन्छ? भनी प्रधानमन्त्री प्रचण्डलाई प्रश्न गरेका थिए।

जब राजनीतिमा आन्तरिक चलखेल बढ्दै जान्छ अनि सत्तामा रहेका नेताहरु सरकारको आयुबारे दाबी गर्न थाल्छन्। सत्तामा रहेका दलका नेताहरूले जति सरकार बलियो छ भन्ने दाबी गर्छन् त्यसको संकेत सरकार कमजोर बन्यो भन्ने देखिने गरेको छ। पछिल्लो समय माओवादीसँगै एमालेका नेताहरु समेत एकाएक सरकारको आयुबारे बोल्न सक्रिय देखिएकाले आन्तरिक रुपमा गठबन्धन बदल्ने सुत्रहरु सक्रिय भएको देखिन्छ।

सत्ता गठबन्धन जोगाउन प्रचण्डले बिचमा कांग्रेस र एमालेमा खेल्दै बढ्दो दुरीलाई तिक्तामा बदल्न सफल भएका थिए।पहिला ओली रास्वपाका सभापती तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिती माग्दै कांग्रेसले संसद अवरुद्ध गर्दा रिसाएका थिए।

पछिल्लो समय कांग्रेसका नेताहरुले ओली नेतृत्वको पालामा बदनियतपूर्वक भएको गिरीबन्धु टि स्टेटको जग्गा साटफेर सम्बन्धी नीतिगत भ्रष्टाचारको छानबिनमा केन्द्रित हुँदा ओली बिच्किएका थिए। उनले कांग्रेसले पहिल्यै गिरीबन्धुको जग्गा बेचेर खाएको दाबी गरे पनि त्यो झुटो प्रमाणित भएसँगै ओली नैतिक संकटमा परेका छन् नै। गिरीबन्धुको मुद्दा सेलाउन पनि कांग्रेससँग सहकार्यको अर्को विकल्प देखेका छैनन्।

प्रचण्डको शनिबारको अभिब्यक्ती र माओवादी नेताहरुको बढ्दो छट्पटाहटले पनि सत्ता गठबन्धन बदल्न राजनीतिक बृत्तभित्र नयाँ रणनीति पाकिरहेको देखाउँछ नै। संसदमै प्रधानमन्त्री प्रचण्डले मन्त्रीहरुले समेत टेर्न छाडे भनेर दिएको अभिब्यक्तीले समेत प्रचण्डको प्रधानमन्त्रीको कुर्सी डग्मगाउन थालेको देखाउँछ।

 

असार ७, २०८१ शनिबार २१:०९:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।