प्रधानमन्त्री दाहालले पार्टीको ३२ सिटलाई भने 'जादुई नम्बर', पुरै कार्यकाल प्रधानमन्त्री हुने दाबी

प्रधानमन्त्री दाहालले पार्टीको ३२ सिटलाई भने 'जादुई नम्बर', पुरै कार्यकाल प्रधानमन्त्री हुने दाबी

काठमाडौं : प्रतिनिधी सभामा ३२ सांसदसहित तेस्रो दल भए पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निरन्तर प्रधानमन्त्री भइरहेका छन्। मंसिर चारपछि तीन पटक गठबन्धन बदलियो तर प्रधानमन्त्री बदलिएन। कहिले एमालेको सहयोगमा त कहिले नेपाली कांग्रेसको सहयोगमा प्रचण्ड नै प्रधानमन्त्री भइरहे।

प्रतिनिधी सभामा सबैभन्दा ठुलो दल नेपाली कांग्रेस र एमालेबीचको सिटको संख्या १० हाराहारीको फरक छ। तर दोस्रो दल एमाले र तेस्रो दल माओवादी केन्द्रबीच ४० सिट भन्दा बढि फरक छ। तर प्रचण्ड कांग्रेस र एमालेबीचको मतभेदमा खेल्दै प्रधानमन्त्री भइरहेका छन्।

प्रचण्डले आफ्नो पार्टीको ३२ सिटलाई जादुई नम्बर भन्दै कसैले चाहदैमा आफूलाई सरकारबाट बाहिर राख्न नसक्ने दाबी गरे।  प्रचण्डले शनिबार आफूसँग 'जादुई नम्बर' भएको र यसैका कारण सरकार पूरा कार्यकाल चल्ने दाबी गरे।

शनिबार काठमाडौंमा तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालको राष्ट्रिय महाधिवेशनमा बोल्दै प्रधानमन्त्री प्रचण्डले भने, 'हामीसँग जादुई नम्बर छ। यो नम्बरका कारण हामीलाई हटाउन सजिलो छैन। यस्तै परे पुरै कार्यकाल प्रधानमन्त्री हुने देख्छु।'

उनले थप जोड दिँदै भने, 'मलाई हटाउने हल्ला भए पनि म डेढ वर्षदेखि पदमा छु। तरिका मिल्यो भने पूरै अवधि बस्न सकिन्छ। हामीलाई हटाउन सजिलो छैन।'

प्रधानमन्त्रीले नेपालमा छिट्टै समाजवादी क्रान्तिको यात्रा सुरु हुने दाबी समेत गरेका थिए। नयाँ राष्ट्रिय एकताको लागि उत्पीडित समुदाय, विशेषगरी दलित, महिला र मुस्लिमहरूलाई विशेष अधिकार दिनुपर्ने उनको धारणा थियो।

'हामीले विचार अध्ययन, अनुसन्धान, चिन्तन मननको यो एउटा बाटो हिँड्नुपर्ने छ,' उनले भने 'तर मलाई विश्वास छ कि छिटै नै जनवादी क्रान्ति जस्तो लामो अवधि होइन, तुलनात्मक रूपमा छोटो अवधिमा समाजवादी क्रान्तिको यात्रा नेपालमा प्रारम्भ हुनेछ र विजयी हुँदै अगाडि बढ्नेछ।'

प्रधानमन्त्रीले सरकार, संसद र सडकबाट नयाँ उचाइमा आन्दोलन अगाडि बढाउन आवश्यक रहेको र मोर्चाहरूलाई बलियो बनाएर अभियानको रूपमा लैजाने योजना रहेको पनि बताए।

असार ७, २०८१ शनिबार १६:४४:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।