विश्वकपमा आज भारत र बंगलादेश भिड्दै

विश्वकपमा आज भारत र बंगलादेश भिड्दै

काठमाडौं : सुपर आठमा विजयी सुरुवात गरेको भारतले  आईसीसी टी२० विश्वकपमा आज बंगलादेशसँग भिड्दैछ।

खेल नेपाली समयअनुसार बेलुकी सवा ८ बजे एन्टिगुवाको सर भिभियन रिचर्ड्स स्टेडियममा हुँदैछ।

भारत र बंगलादेशबीच हालसम्म १३ वटा टी२० अन्तर्राष्ट्रिय खेल भएकोमा एउटा खेल मात्रै बंगलादेशले जितेको छ।

१२ खेल जितेको भारतले टी२० विश्वकपमा बंगलादेशसँग खेलेका चारमध्ये चार खेलमै जित निकालेको छ।

समूह चरणदेखि भारत अहिलेसम्म अपराजित रहेको छ। समूह ‘ए’ मा रहेको भारतले प्रतिस्पर्धीहरू पाकिस्तान, अमेरिका र आयरल्यान्डलाई हराएको थियो।

क्यानडासँगको खेल भने वर्षाका कारण रद्द भएको थियो।सुपर आठमा प्रवेश गरेपछि पनि भारतले अफगानिस्तानलाई पराजित गर्दै विजयी सुरुवात गरेको थियो।

उता प्रतिस्पर्धी बंगलादेशको अवस्था भने अपराजित छैन। समूह चरणमा नेदरल्यान्ड्स, नेपाल र श्रीलंकालाई पराजित गरेको बंगलादेश दक्षिण अफ्रिकासँग भने पराजित भएको थियो।

बंगलादेश सुपर आठको आफ्नो पहिलो खेलमा अष्ट्रेलियासँग  डीएल मेथडबाट २८ रनले पराजित भएको थियो।

भारतको ओपनिङ ब्याटरहरू खासै चल्न नसकेको प्रतियोगितामा बंगलादेशको लागि भने कुनै पनि ब्याटर चल्न सकेका छैनन्।

अंकतालिकाको कुरा गर्ने हो भने भारत एक खेलमा दुई अंकसहति समूहको दोस्रो स्थानमा रहँदा बंगलादेश एक खेलमा अंकविहीन हुँदै समूह १ को चौथो स्थानमा छ।

असार ७, २०८१ शनिबार १४:०१:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।