६ वर्षको उमेरमा सिरियाबाट हिँडेर ११ वर्षमा युरोप पुगेका खलिलको कथा
एजेन्सी : खलिलले सिरिया छोड्दा उनी जम्मा छ वर्षका थिए। त्यो समय सिरियामा गृहयुद्ध चरम अवस्थामा पुगेको थियो। हरेक दिन युद्धका तस्बिरहरू आउँथे।
उनी पश्चिमी सिरियाको होम्स प्रान्तमा ट्याक्सी चालक बुबा, आमा र दुई सानी बहिनीहरूसँग बस्थे।
होम्स सिरियाको तेस्रो सबैभन्दा ठुलो शहर हो, जसको जनसंख्या गृहयुद्धभन्दा अघि १५ लाख थियो। सन् २०११ मा जब यहाँका बासिन्दाहरूले सरकारलाई हटाउन आह्वान गरे, यो राष्ट्रपति बशर अल-असदको विरुद्ध विद्रोहको मुख्य युद्धभूमि बन्यो।
खलिलले भने, 'मेरो गाउँ दुई पहाडको बिचमा पर्थ्यो र त्यहाँ हरेक रात लडाई हुन्थ्यो। जब सैनिक र विद्रोहीहरूले एक अर्कामाथि गोली चलाउँथे, तिनीहरूको बन्दुकको टुप्पोबाट आगो र प्रकाश देख्न सकिन्थ्यो। म धेरै डराएको हुन्थेँ।'
सन् २०१५ को अन्त्यमा विद्रोहीहरूले होम्सबाट आफ्नो नियन्त्रण हटाए, जसले गर्दा यो सरकारी सुरक्षा बलहरूको हातमा आयो।
जन विद्रोहको समयमा दशौं हजार मानिसहरूलाई 'आतंकवाद विरोधी' कानुन अन्तर्गत पक्राउ गरिएको थियो, जसले विपक्षका लगभग सबै शान्तिपूर्ण गतिविधिहरूलाई अपराधीकरण गर्थ्यो। खलिलका बुबा इब्राहिमलाई पनि हिरासतमा लिइयो।
खलिलले भने, 'जब उनीहरू बाहिर आए, हामीले धेरै कुरा सहनु पर्यो। त्यसैले हामीले सिरिया छोड्ने निर्णय गर्यौं।'
यसरी एक शरणार्थीको रूपमा उनको एक दशक लामो यात्रा सुरु भयो।
पहिलो बिसौनीः लेबनान
सिरियाली युद्ध सुरु भएदेखि अहिलेसम्म १.२ करोड मानिसहरू विस्थापित भइसकेका छन्, जसमध्ये ६० लाखले देश छोडेका छन्।
लगभग १५ लाख सिरियाली छिमेकी लेबनानमा बस्छन्। लेबनानको कुल जनसंख्या ५३ लाख छ, यस हिसाबले यो विश्वमा सबैभन्दा बढी अनुपातमा शरणार्थीहरू राख्ने एकमात्र देश हो।
खलिलको परिवारको पहिलो बिसौनी पनि यही थियो। एक सिरियाली पारिवारिक मित्रकहाँ उनीहरू लगभग एक वर्षसम्म बसे। उनीहरुले त्यहाँ भविष्य देखेनन् अनि लेबनान छोड्ने निर्णय गरे।
उनीहरू कानुनी रूपमा हवाई जहाजबाट टर्कीमा पुगे।
गृहयुद्ध सुरु भएपछि टर्कीले खुलाद्वार नीति अपनाएको थियो र अहिले पनि यहाँ ३६ लाख दर्ता भएका सिरियाली शरणार्थीहरू बस्छन्।खलिल आफ्नो परिवारसँग टर्कीको सबैभन्दा ठुलो शहर इस्तान्बुलमा बसोबास गरे, जहाँ पाँच लाख सिरियाली शरणार्थीहरू बस्छन्, जबकि यस शहरको जनसंख्या १.६ करोड छ।
यहाँ उनीहरू चार वर्षसम्म बसे तर स्थानीय मानिसहरू र शरणार्थीबीच बढ्दो तनावका कारण उनीहरूलाई त्यहाँ बस्न गाह्रो भयो। उनीहरू त्यहाँ चार वर्षसम्म थिए।
खलिलले भने, 'इस्तान्बुलमा बालबालिकाहरूले मलाई भन्थे -तिमी किन सिरिया फर्कँदैनौ? मैले धेरै समस्याहरू भोग्नु पर्यो। तर मैले सोचेँ रुनु मात्रले केही परिवर्तन हुँदैन। मैले जीवनसँग अघि बढ्नु पर्थ्यो।'
२०१९ को मध्यतिर टर्कीले जबरजस्ती सिरियाली मानिसहरूलाई फिर्ता पठाइरहेको खबर आयो, यद्यपि टर्कीको सरकारले यसको खण्डन गरेको थियो।
यस्तो परिस्थितिलाई देखेर खलिलको परिवारले त्यहाँबाट अगाडि बढ्ने निर्णय गर्यो। उनीहरू दक्षिण-पश्चिमी तटीय शहर बोड्रम गए ताकि त्यहाँबाट एजियन समुद्र पार गरेर ग्रीससम्म यात्रा गर्न सकून्।
तीन पटक असफल प्रयास पछि चौथो पटक ५० जना मानिसहरू बोक्ने डुङ्गामा ठाउँ मिल्यो र अन्ततः उनीहरू ग्रीक टापु कोसमा पुगे।
खलिलले भने, 'हामीलाई सपना जस्तै लाग्यो। हामी खुशी र सुरक्षित थियौं र यसका लाग भगवानलाई धन्यवाद भन्यौँ। हामीले सोच्यौं - हामीले जित्यौं। अब हामी आफ्नो भविष्य बनाउन सक्थ्यौं।'
'छोरा, के तिमी पक्का छौ?'
तर यो सपना धेरै लामो रहेन। २०२० मा यस्ता खबरहरू आए कि आप्रवासीहरू र शरणार्थीहरूलाई ग्रीसको समुद्री सीमाबाट टर्कीतर्फ फर्काइँदै थियो।
मानवाधिकार संस्थाहरूले शरणार्थीहरूसँग गरिएको दुर्व्यवहारका लागि सरकारको आलोचना गरे, यद्यपि त्यस समयमा ग्रीसको प्रशासनले दुर्व्यवहारको खण्डन गरेको थियो।
इब्राहिम डराएका थिए। उनले एक्लै युरोप जाने प्रस्ताव राखे
'सुरुमा मेरा बुबाले अस्विकार गर्नुभयो, तर केही सोचेपछि भन्नुभयो, 'छोरा, के तिमी पक्का छौ?' मैले भनेँ - हो। उहाँले भन्नुभयो - त्यसो भए तयार हुनू।'
परिवारलाई पछाडि छोडेर अक्टोबर २०२० मा १३ वर्षका खलिल, अन्य शरणार्थीहरूसँग अल्बानियातर्फ निस्के।
उनीहरू पहाड र नदीहरू पार गर्दै, खानेकुरा बिना, ऊर्जाका लागि केवल केही टुना र चकलेटमा भर पर्दै पैदलै १ सय ६५ किलोमिटर हिँडे।
यो समूहले पानी र स्लिपिङ ब्यागको व्यवस्था गरेको थियो। उनीहरूले आफ्नो यात्रालाई आफ्नो फोनमा रेकर्ड गरे र आत्मविश्वास कायम राख्न रमाइलो गरिरहे।
सडकमा दुई हप्ताको यात्रापछि उनीहरू कोसोभोको राजधानी प्रिस्टिना पुगे जहाँबाट उनीहरूले छिमेकी देश सर्बियातर्फको यात्रा सुरु गरे। नोभेम्बर २०२० मा खलिल सर्बियाको राजधानी बेलग्रेड पुगे।
परिवारलाई सन्देश पठाउन आफ्नो मोबाइलमा रेकर्ड गर्दै उनले भनेका थिए, 'अब भयो, म धेरै थाकिसकेँ।'
१५ पटक असफल प्रयास
खलिल अन्ततः सर्बियाको पश्चिमबाट अस्ट्रिया वा नेदरल्याण्ड्स जान चाहन्थे। उनले युरोपेली संघको सीमामा प्रवेश गर्ने धेरै पटक प्रयास गरे, ११ पटक हंगेरीमा, तीन पटक क्रोएशियामा र एक पटक रोमानियामा। तर सबै प्रयास असफल भए।
चार महिनाको प्रयासपछि उनलाई लामो समयसम्म हिँड्नुका कारण स्वास्थ्य समस्याहरू देखा पर्न थाले, जसले गर्दा उनी अगाडिको यात्रा गर्न सक्दैनथे। त्यसपछि उनी बेलग्रेडमै बसे।
एक अनुमान अनुसार, युरोपेली देशहरूमा पुग्नका लागि २०१५ पछि १० लाखभन्दा बढी आप्रवासी र शरणार्थीहरूले तथाकथित बाल्कन मार्गबाट गएका छन्।
युरोपियन काउन्सिल अन फोर रेफ्युजीज एन्ड एक्जाइल्स (ECRE) का अनुसार हरेक वर्ष हजारौं मानिसहरूले तस्करहरू र सुरक्षा तथा सीमा सुरक्षा बलहरूबाट फिर्ता पठाइने, हिंसा र उत्पीडनको सामना गर्नुपर्ने र स्वास्थ्यका लागि जोखिमपूर्ण अमानवीय अवस्थामा बस्न बाध्य हुनुपर्ने अवस्था सामना गर्नुपरेको छ।
१७ वर्षीय खलिलले बीबीसी न्यूज सर्बियनलाई भने, 'बेलग्रेड मलाई आफ्नो शहर जस्तो लाग्दैन, तर म यहाँ खुशी छु।'
पछिल्लो तीन वर्षदेखि यही खलिलको नयाँ घर थियो, जहाँ उनले स्कूल जान थाले, अंग्रेजी र सर्बियन भाषा सिके र साथीहरू बनाए।
बाल-शरणार्थीहरूलाई सहयोग गर्ने एक गैरसरकारी संस्था जेसुइट रेफ्युजी सर्भिसले उपलब्ध गराएको राम्रो कोठा देखाउँदै खलिलले भने, 'यो मेरो कोठा हो, र यी मेरा चित्रहरू हुन्। खाली समयमा मलाई चित्र कोर्न मन पर्छ।'
भित्तामा झुण्डिएको एउटा चित्रमा उनकी आमाको नामको पहिलो अक्षर मुटुको आकारमा बनाइएको देखिन्छ। अर्को चित्रमा एउटा केटी छ, परीहरू जस्तै पखेटा भएको जो आकाशतिर उडिरहेकी छ।
खलिलले भने, 'केटी एक्लै छ। म त्यो बेला त्यस्तै महसुस गर्थें, त्यसैले यो देखाएँ।'
'ग्रीस, अल्बानिया, कोसोभोमा केही भयो, म त्यसबाट थाकिसकेको थिएँ। म यहाँ आइपुगेँ र सोचेँ भगवानलाई धन्यवाद छ कि मलाई केही आराम मिल्नेछ। अहिले मेरो जीवन पूर्ण रूपमा सही बाटोमा छ। म सुत्न सक्छु, स्कूल जान सक्छु।'
जब परिवारको मिलन भयो
खलिल सर्बियामा थिए र उनका बुबा र बहिनीहरू अझै ग्रीसमा थिए। उनकी आमा कुनै तरिकाले नेदरल्याण्ड्स पुगिन् र कुनै तरिकाले शरणार्थी स्थिति प्राप्त गर्न सफल भइन्।
सेप्टेम्बर २०२३ मा, परिवारलाई मिल्ने अनुमति दिइयो र केही महिनामा खलिलले नेदरल्याण्ड्समा आफ्नो परिवारसँग भेट्ने निश्चित भयो। चार वर्षदेखि उनीहरू आफ्ना प्रियजनहरूसँग भेटेका थिएनन्। अब यी सबैलाई शरण दिइएको छ।
अब उनी अर्को वर्ष कलेज जाने आशा गरिरहेका छन् र कम्प्युटर प्रोग्रामिङ पढ्न चाहन्छन्।
उनी भन्छन्, 'म नयाँ साथीहरू बनाउन चाहन्छु र परिवारसँग शान्तिपूर्वक जीवन बिताउन चाहन्छु। युद्धबाट टाढा रहन चाहन्छु। मेरो जीवनका अनुभवहरूले मलाई आफूमाथि विश्वास गर्न र बलियो रहन सिकाएका छन् ताकि म जे चाहन्छु त्यो प्राप्त गर्न सकूँ।'
*यो बिबिसीबाट साभार गरिएको हो। हेडलाइन भने परिवर्तन गरिएको छ।
असार ८, २०८१ शनिबार १२:२१:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।