रुसी राष्ट्रपति मस्को फर्केलगत्तै दक्षिण कोरियाको बन्दगाह पुग्यो युद्धपोत

रुसी राष्ट्रपति मस्को फर्केलगत्तै दक्षिण कोरियाको बन्दगाह पुग्यो युद्धपोत

एजेन्सी : आणविक शक्ति सञ्चालित अमेरिकी विमानवाहक युद्धपोत ‘थियोडोर रुजवेल्ट’ शनिबार दक्षिण कोरियाको बन्दरगाह शहर बुसानमा पुगेको छ।

दक्षिण कोरिया र जापानसँग संयुक्त सैन्य अभ्यासको लागि युद्धपोत आइपुगेको दक्षिण कोरियाको नौसेनाले जनाएको छ।

दक्षिण चीन सागरको विवादित जलमार्गमा चीनको ‘खतरनाक र आक्रामक व्यवहार’को निन्दा गर्दै तीन राष्ट्रका नेताहरूले अगस्ट २०२३ मा वार्षिक सैन्य प्रशिक्षण अभ्यास गर्ने सहमति गरेका थिए।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको उत्तर कोरियाको भ्रमण लगत्तै अमेरिकाबाट संयुक्त सैनिक अभ्यास गर्नेगरी युद्धपोत विमान आएको छ।

रुस र उत्तर कोरियाले एकअर्का विरुद्ध कुनै किसिमको आक्रमण भएमा प्रतिकार गर्ने ५ बुँदे सम्झौता गरेका छन्। गएको साता प्योङयाङ आएका पुटिन र उत्तर कोरियाली नेता किम जोङ उनबीच सहमति भएको थियो।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले २४ वर्षमा पहिलो पटक यस हप्ता उत्तर कोरियाको भ्रमण गरेका थिए। सोही क्रममा नेता किम जोङ उनसँग पारस्परिक रक्षा प्रतिज्ञा सहितको सम्झौतामा हस्ताक्षर गरेका थिए।

प्योङयाङमा उच्च राष्ट्रिय सम्मान ग्रहण गरेपछि पुटिन भियतनाम पुगेका थिए। त्यहाँ पनि सहकार्यको सहमति गरेर उनी मस्को फर्किसकेका छन्।

असार ७, २०८१ शनिबार ११:३३:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।