गाजाको रेडक्रस कार्यालयमा आक्रमण हुँदा २२ जनाको मृत्यु, ४५ जना घाइते

गाजाको रेडक्रस कार्यालयमा आक्रमण हुँदा २२ जनाको मृत्यु, ४५ जना घाइते

एजेन्सी : इन्टरनेशनल कमिटी अफ रेडक्रस (आईसीआरसी)ले गाजामा रहेको आफ्नो कार्यालयमा भएको आक्रमणमा शरण खोजिरहेका २२ जनाको मृत्यु भएको जनाएको छ।

‘शुक्रबार दिउँसो, रेडक्रसको अन्तर्राष्ट्रिय समितिको कार्यालय र निवासहरू नजिकै भारी क्यालिबर रकेटहरू खसे’, आईसीआरसीले एक विज्ञप्तिमा भनेको छ।

‘सबै पक्षहरूको दायित्व नागरिक र मानवीय सहायतालाई हानी हुन नदिन सावधानी अपनाउनु हो,’ आईसीआरसीले भन्यो, ‘आक्रमणले प्यालेस्टिनी सहकर्मीहरूसहित सयौं विस्थापित मानिसहरूले शरण लिएको आईसीआरसी कार्यालयमा क्षति पुगेको छ।’

घटनामा रेडक्रस फिल्ड अस्पताल नजिकै ठूलो संख्यामा हताहत भएको छ। अस्पतालले २२ जनाको मृत्यु भएको पुष्टि गरेको छ भने ४५ जना घाइते भएका छन्। घटनामा थप हताहत भएको खबर समेत छ।

तर, इजरायल डिफेन्स फोर्स (आईडीएफ)का प्रवक्ताले भने उक्त क्षेत्रमा आईडीएफले कुनै कारबाही नगरेको जनाएको छ। यद्यपि घटनाको समीक्षा गरिरहेको उसको भनाइ छ।

गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले गोलाबारीमा २५ जनाको मृत्यु भएको र ५० जना घाइते भएको बताएको छ। मन्त्रालयले यसका लागि इजरायललाई जिम्मेवार ठहर्याएको छ।

असार ७, २०८१ शनिबार १०:५७:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।