युरोकपमा अस्ट्रियाद्वारा पोल्यान्ड ३-१ गोलले पराजित, फ्रान्स र नेदरल्याण्ड्सले अंक बाँडे

युरोकपमा अस्ट्रियाद्वारा पोल्यान्ड ३-१ गोलले पराजित, फ्रान्स र नेदरल्याण्ड्सले अंक बाँडे

काठमाडौं : युरो कप २०२४ को समूह चरणमा फ्रान्स र नेदरल्याण्ड्सले बराबरी खेलेका छन्। शुक्रबार राती जर्मनीको लाइप्जिङ रंगशालामा भएको खेलमा दुवै टिमले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्।

समूह डीमा रहेका यी दुई टिमले गोलरहित बराबरी खेल्दै तालिकामा एक -एक अंक थपेपछि दुवैको समान चार- चार अंक भएको छ। यो खेलमा फ्रान्सका स्टार खेलाडी केलियन एम्बाप्पे भने मैदान प्रवेश गरेनन्।

अघिल्लो खेलमा नाकमा चोट बोकेका एम्बाप्पेले फेस सिल्ड लगाएर खेल्ने बताइए पनि नेदरल्याण्ड्सविरुद्ध उनलाई आराम दिइएको थियो।

नेदरल्याण्ड्सका जाभी सिमोन्सले ६९ औं मिनेटमा गोल गरे पनि भिएआरले चेक गर्दा अफसाइड भएको पाएपछि गोलले मान्यता नपाउँदा अग्रता लिन सकेन। अन्ततः दुवै टिमले गोलरहित बराबरी नै खेले।

समूह डीकै अर्को खेलमा अस्ट्रियाले पोल्यान्ड्लाई ३-१ गोलले पराजित गरेको छ। अस्ट्रियाको जितमा जेनोट टुरनियर, क्रिस्टोफ बाउमगार्टनर र मार्को अर्नाउठोभिक एक-एक गोल गरे। पोल्यान्डका लागि क्रिजस्टोफ पियाटेकले गरेको एकमात्र गोल सान्त्वनामा परिणत भयो।

खेलको नौ मिनेटमा जेनोटको गोलबाट अस्ट्रियाले सुरुआती अग्रता बनाएको थियो। तर, ३०औँ मिनेटमा क्रिजस्फोटले गोल गरेपछि पोल्यान्डले खेल १-१ को बराबरी अबस्थामा ल्याएको थियो।

६६औँ मिनेटमा क्रिस्टोफले गोल गरेपछि अस्ट्रिया खेलमा २-१ ले अघि बढ्यो। ७८औँ मिनेटमा अस्ट्रियाका लागि कप्तान मार्कोले गोल गर्दै ३-१ जित दिलाए।

जितसँगै दुई खेलबाट अस्ट्रियाले तीन अंक जोडेर तेस्रो स्थानमा छ। पराजित पोल्यान्ड भने युरोको समूह चरणबाटै बिदा भएको छ। त्यसैगरी समूह ‘ई’ को आफ्नो दोस्रो खेलमा युक्रेनले स्लोभाकियाविरुद्ध २-१ गोलको पुनरागमन जित हासिल गरेको छ।

युक्रेनको जितमा माइकोला शापारेन्को र रोमन यारेमचुकले गोल गर्दा स्लोभाकियाको लागि इभान श्रान्जले एक गोल फर्काए।

जितसँगै जारी यूरोकपमा युक्रेनले पहिलो जित हासिल गरेको छ। समूह ‘ई’ मा तीन अंकसहित युक्रेन दोस्रो स्थानमा उक्लिएको छ। युक्रेन पहिलो खेलमा रोमानियासँग ३-० ले पराजित भएको थियो भने स्लोभाकियाले बेल्जियमलाई १-० ले पराजित गरेको थियो।

खेलको १७औं मिनेटमा इभानले गोल गर्दै स्लोभाकियालाई सुरुआती अग्रता दिलाएका थिए। पहिलो हाफमा एक शून्य गोललेपछि परेको युक्रेनका लागि ५४औं मिनेटमा माइकोला र ८०औं मिनेटमा रोमनले गोल गर्दै २-१ पहिलो जित दिलाए।
युक्रेनले समूह चरणको अनितम खेलमा २६ जुनमा बेल्जियमको सामना गर्ने छ।

असार ७, २०८१ शनिबार ०७:४१:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।