वित्त नीतिसँग तालमेल हुने गरी नेपाल राष्ट्र बैङ्कले मौद्रिक नीति ल्याउनेमा अर्थमन्त्री ढुक्क

वित्त नीतिसँग तालमेल हुने गरी नेपाल राष्ट्र बैङ्कले मौद्रिक नीति ल्याउनेमा अर्थमन्त्री ढुक्क

काठमाडौँ : अर्थमन्त्री वर्षमान पुनले वित्त नीतिसँग तालमेल हुने गरी नेपाल राष्ट्र बैङ्कले आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति ल्याउनेमा आफू ढुक्क रहेको बताए। आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनबारे नीति बनाउन मन्त्रालयमा शुक्रवार भएको छलफलमा उनले गभर्नर महाप्रसाद अधिकारीको अगाडि यस्तो बताएका हुन्।

उनले वित्त नीति र मौद्रिक नीतिबिच सामञ्जस्ययता हुन्छ कि हुँदैन भन्नेबारे अनावश्यक टिप्पणी गर्ने गरेको भन्दै वित्त नीतिभन्दा फरक मौद्रिक नीति नआउने विश्वास व्यक्त गरेका थिए।

‘मौद्रिक नीतिले सार्वजनिक वित्त नीतिलाई सहयोग गर्छ कि गर्दैन भनेर अनावश्यक टिप्पणी गरिरहेको सुनिन्छ। विगतमा पनि त्यस्तो टिप्पणी हुने गरेका थिए’, मन्त्री पुनले भने, ‘राष्ट्र बैङ्क राज्यकै निकाय भएकाले वित्त नीतिभन्दा फरक हुँदैन भन्ने विश्वास छ। नीतिगत एकरूपता भएपछि अनावश्यक टिप्पणी र आशङ्का गर्ने ठाउँ हुँदैन। नतिजा पनि राम्रै आउँछ।’

पुनले विश्व बैङ्क र एसियाली विकास बैङ्कले आगामी आर्थिक वर्ष ५ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरे पनि ७ प्रतिशतसम्म आर्थिक वृद्धि हुने आधार देखिएको दाबी समेत गरेका थिए।

मन्त्रालयका दुवै सचिव, महाशाखा प्रमुखहरू र भन्सार र राजश्व प्रशासनका उच्च अधिकृतहरूको बैठकमा कार्ययोजनाबारे शुक्रवार प्रारम्भिक छलफल गर्दै उनले कार्यान्वयन हुन सक्ने गरी वस्तुवादी योजना तयार पार्न निर्देशन दिएका थिए।

बजेटको आकार कूल ग्राहस्थ उत्पादनसँग मेल खाने खालको भएकाले कार्यान्वयन सहज भएको भन्दै उनले जति खर्च बढाउन सकियो त्यति नै बजार चलायमान हुने भन्दै परम्परागत नभई समयमै र छिटै काम गर्ने गरी योजना बनाउन निर्देशन दिएका थिए।

पहिलो, दोस्रो र तेस्रो त्रैमासिक योजना बनाएर काम गर्न र दसैँ तिहारजस्ता ठुला पर्वको बिदा ख्याल गरेर मात्र कार्य योजना बनाउन उनले निर्देशन दिएका थिए।

पूर्वपश्चिम राजमार्ग विस्तारका लागि ३२ अर्ब बजेट विनियोजन गरिएको चर्चा गर्दै उनले पूरा नगरी नहुने अरू चालु आयोजनाको निर्माण सक्ने गरी बजेट व्यवस्था गरिएको बताएका थिए। 

असार ७, २०८१ शुक्रबार १८:००:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।