पूजा शर्माको पनि फ्यान क्लब !, रिलिजको दिन सय सो पनि नकटाएको 'दान्भी' का कलाकारलाई हलमै केक

पूजा शर्माको पनि फ्यान क्लब !, रिलिजको दिन सय सो पनि नकटाएको 'दान्भी' का कलाकारलाई हलमै केक

काठमाडौँ : फिल्म चलाउन अनेक फन्डा गर्न पूजा शर्मालाई कसले सक्छ र! लेडी टाइगर भनेर जति हल्ला गरे पनि रिलिजको पहिलो दिनमै शोज् सङ्ख्या सय पनि कटाउन सकेको छैन फिल्म दान्भीले तर फ्यान क्लबको टिम भन्दै हलमै केक राखेर हल्ला गर्न थालिसकिन् उनले।

केएल टावरको हलमा पुगेकी पूजालाई एक समूहले माला लगाएर केक उपहार दिए। निर्माण टिमले उनीहरूलाई पूजाको फ्यान क्लब भनेर परिचित गराए। पूजाको फ्यान क्लब? अचम्म छ।

फ्यान क्लब भनिए पनि त्यसमा को-को छन् भन्ने खुलाइएन। फिल्म चलाउन हलको टिकट आफैँले काटेर सो प्याक देखाउने, जन्मदिनमा आफैँले आफ्नो क्रेज देखाउन सुनका गहना उपहार दिन लगाउन पछि नपर्ने अवस्थामा फिल्म चलाउन हलमा नक्कली फ्यान क्लब बनाएर केक कटाउनु के नै नौलो घटना भयो र।

नाबालिग बलात्कारको मुद्दामा जेलमा परेकाको समर्थन गर्दै पीडितलाई थप पीडा दिने कलाकारको सूचीमा पहिलो नम्बरमा पर्छिन् पूजा। तर फिल्म चलाउन उनी भनिरहेकी छिन्  ‘हामी त एउटा समाजको ऐना न हो। समाजको ऐना भएर नै काम गरेका छौँ।’ भनेपछि समाज नाबालिग बलात्कारको अभियुक्तको पक्षमा रहेछ भनेर बुझ्ने त होला पूजाको दाबी अनुसार।

फिल्म शुक्रवार रिलिज भए पनि पहिलो दिन निकै कम शो सङ्ख्या पायो। तर निर्माण टिम फिल्म हेर्ने माहौल देखेर अब आनन्दले सुत्न सकिने झुटो खुसी देखाउने प्रयासमा देखियो।

दान्भीका अभिनेता कुन्साङ बोम्जनले हलमै दर्शकबाट केक र माला पाउँदा जीवनभर याद आउने बताए। शुक्रवार दान्भीसँगै गायक भक्तराज आचार्यको जीवनीमा आधारित फिल्म आचार्य रिलिज भएको छ। १५ वर्ष अगाडि नै रिलिज भएको फिल्म भए पनि आचार्यले शुक्रवार सन्तोषजनक शोज् सङ्ख्या पाएको देखिन्छ। बायोग्राफीमा आधारित हिन्दी फिल्महरू मज्जाले चल्छ नेपालमा। १५ वर्षपछि आचार्य पुन रिलिज भए पनि थप दृश्य समावेश गरिएको निर्माण पक्षले दाबी गरेको छ।

फिल्म आचार्यमा स्वरुप आचार्यसँगै दयाहाङ राई, विपिन कार्की अनि सौगात मल्लको १५ वर्ष अगाडिको अभिनय कला देखिने भएकाले यी कलाकारका फ्यान हलसम्म पुगिरहेको देखिन्छ।

हलमा अहिले रिलिजको तेस्रो हप्ता भए पनि ‘गाउँ आएको बाटो’ उल्लेख्य शोज् सङ्ख्यासहित प्रदर्शनमा छ। आचार्य र दान्भी रिलिज भएपछि सरदर दिनको २५ शोज् पाइरहेको फिल्म ‘बाटो’ शुक्रवारबाट एकाएक पाँच शोमा खुम्चिन पुग्यो। हलमा अहिले पनि पुजार सार्की र फर्की फर्की चलिरहेकै छन्।

असार ६, २०८१ शुक्रबार १६:४७:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।