अन्य भिसामा गएर विद्यार्थी भिसामा बदल्ने सुविधा बन्द गर्दै अस्ट्रेलिया

अन्य भिसामा गएर विद्यार्थी भिसामा बदल्ने सुविधा बन्द गर्दै अस्ट्रेलिया

काठमाडौँ : अस्ट्रेलियाले आफ्नो अध्यागमन नीतिमा सुधार गर्दै अन्तर्राष्ट्रिय विद्यार्थीलाई दिने भिसामा कडाइ गर्ने भएको छ।यस अगाडि पर्यटक भिसामा अस्ट्रेलिया पुगेकाहरूले चाहेमा विद्यार्थी भिसामा परिवर्तन गर्न सक्थे। तर अब त्यो नीति बन्द हुने भएको छ।

अस्ट्रेलियाको अध्यागमन विभागले गत हप्ता घोषणा गरेझैँ यो नीति गत वर्ष जारी गरिएको माइग्रेसन रणनीतिको प्रमुख प्रतिबद्धता थियो।

यसले विद्यार्थी र अन्य अस्थायी भिसा वाहकहरूलाई अस्ट्रेलियाको आफ्नो बसाइलाई केही समय लम्बाउन चाहेमा भिसाको प्रकार परिवर्तन गर्न सक्ने सुविधा थियो। ‘भिसा हपिङ’ मा प्रतिबन्ध लगाउन यस्तो कदम चालिएको विभागले जनाएको छ।

गत वर्षको मध्यदेखि यस वर्षको मे महिनासम्म पर्यटकबाट विद्यार्थी भिसामा परिणत हुन आवेदन दिनेको सङ्ख्या ३६ हजार पुगेको छ।

‘अस्थायी स्नातक भिसा वाहकहरूले ‘अनशोर’ विद्यार्थी भिसाका लागि आवेदन दिन सक्ने छैनन्’, विभागले भनेको छ ।

‘हामीले विरासतमा पाएको माइग्रेसन प्रणाली पूर्ण रूपमा भत्किएको थियो, र हाम्रो लक्ष्य अस्ट्रेलियाका लागि काम गर्ने सानो, राम्रो योजनाबद्ध, थप रणनीतिक आप्रवासन प्रणाली निर्माण गर्ने हो,’गृह मामिला र साइबर सुरक्षा मन्त्री क्लेयर ओनिलले आफ्नो वेबसाइटमा लेखेका छन्।

गत वर्षको अन्त्यदेखि, अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि भिसामा कडाइ गर्ने धेरै नीतिहरू ल्याएको छ । आगामी दुई वर्षभित्र आप्रवासीको सङ्ख्या हालको सङ्ख्याको आधामा झार्ने लक्ष्य राखिएको छ।

फेब्रुअरीमा अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भिसामा बस्ने समयलाई चारदेखि छ वर्षबाट घटाएर दुईदेखि चार वर्षमा पुर्यायो। भर्नाको जोखिम हेरेर विश्वविद्यालयहरूलाई पनि तीन समूहमा विभाजन गरिएको थियो। 

गत महिना अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि वित्तीय प्रमाण स्वरूप  अस्ट्रेलियन डलर २९ हजार ७१० मा बढाएको छ, जुन पहिलेको तुलनामा२० प्रतिशत बढी हो। अस्ट्रेलिया विश्वको सबैभन्दा लोकप्रिय अध्ययन गन्तव्य मध्ये एक मानिन्छ।

अन्तर्राष्ट्रिय शिक्षा अस्ट्रेलियाको सबैभन्दा ठुलो निर्यात उद्योगहरू मध्ये एक हो। गत वर्ष यसको कूल आय अस्ट्रेलियन डलर ३६ दशमलव ४ अर्ब थियो। यस वर्षको सुरुदेखि मार्चको अन्त्यसम्म, अस्ट्रेलियामा ७ लाख ४० हजार अन्तर्राष्ट्रिय विद्यार्थीहरू थिए।

असार ६, २०८१ शुक्रबार १५:४१:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।