बुद्धिजीवीलाई प्रधानमन्त्री प्रचण्डको आग्रह : परिवर्तनको पक्षमा डटेर लेख्न नडराउनु

बुद्धिजीवीलाई प्रधानमन्त्री प्रचण्डको आग्रह : परिवर्तनको पक्षमा डटेर लेख्न नडराउनु

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहालले समाजमा नकारात्मक भाष्य सिर्जना गर्नुभन्दा सकारात्मक भाष्य निर्माण गर्न आग्रह गरे। नेपाल बुद्धिजीवी सङ्गठन छैटौँ राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै उनले सिर्जनात्मक र सकारात्मक सोचसहित जनतामा आशा प्रवाह गरेर मात्र समाजलाई सही दिशातर्फ लैजान सकिने बताए।

‘सबै नेता उस्तै हुन्, यहाँ केही हुँदैन भन्ने भाष्य गलत हो। जसले नकारात्मक भाष्य बनाएका छन्, उनीहरूमा देश र जनताप्रति माया छैन, रहँदैन’ उनले भने’ इतिहासमा योगदान गर्ने शक्तिहरूको पक्षमा सकारात्मक तवरले सन्देश प्रवाह हुनुपर्छ, गर्नुपर्छ।’

उनले बुद्धिजीवीहरूलाई परिवर्तनका पक्षमा खुलेर बोल्न र डटेर लेख्न अप्ठ्यारो नमान्न आग्रह गरे।

नेपालको राजनीतिक परिवर्तनमा बुद्धिजीवीहरूको महत्त्वपूर्ण भूमिका रहेको भन्दै संसारभर जनतालाई कता डोर्याउने भन्ने सवालमा बुद्धिजीवीहरूको भूमिका निर्णायक हुने उनले बताए।

‘क्रान्ति, शान्ति प्रक्रिया र संविधान निर्माणमा बुद्धिजीवीको योगदान छ। हिजो विचार निर्माण र सङ्गठन निर्माणमा बुद्धिजीवीहरूको सक्रियता थियो, आज पनि उत्तिकै छ’ उनले भने।

क्रान्तिपछि भएका महत्त्वपूर्ण कामहरूलाई नजरअन्दाज गरेर परिवर्तन विरोधी भाष्य निर्माण गर्न खोजिएको भन्दै त्यस्ता गतिविधिको खुलेर विरोध गर्न र प्रतिवाद गर्नुपर्ने आवश्यकता रहेको पनि उनको भनाइ छ।

उनले बुद्धिजीवीहरूले जनमतलाई समाजवादी दिशातिर डोर्याउन भूमिका खेल्नुपर्ने भन्दै क्रान्तिका उपलब्धि जोगाउन र समाजवादको वैचारिक आधार तयार पार्न सबैले आ–आफ्ना क्षेत्रबाट भूमिका निर्वाह गर्नुपर्ने बताए । 

असार ६, २०८१ शुक्रबार १५:३४:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।