युक्रेनलाई हतियार दिन लागेपछि दक्षिण कोरियालाई पुटिनको चेतावनी

युक्रेनलाई हतियार दिन लागेपछि दक्षिण कोरियालाई पुटिनको चेतावनी
फाइल तस्बिर

एजेन्सी : राष्ट्रपति भ्लादिमिर पुटिनले रुसविरुद्धको युद्धमा युक्रेनलाई हतियार उपलब्ध गराउने विषयमा दक्षिण कोरियालाई चेतावनी दिएका छन्।

रुसविरुद्धको युद्धमा युक्रेनलाई हतियार दिए दक्षिण कोरियाले ठूलो गल्ती गर्ने बताएका छन्।

दक्षिण कोरियाले रुस र उत्तर कोरियाबीचको नयाँ सम्झौतालाई ध्यानमा राख्दै युक्रेनलाई हतियार दिनेबारे सोचिरहेको बताएको छ। यस विषयमा प्रतिक्रिया दिँदै पुटिनले दक्षिण कोरियालाई चेतावनी दिएका हुन्।

रुस र उत्तर कोरियाले अर्को देशसँग युद्ध हुँदा एक अर्कालाई सहयोग गर्ने सम्झौता पनि गरेका छन्। यसबारे दक्षिण कोरियाले विरोध गरेको थियो।

यसअघि दक्षिण कोरियाले यो सम्झौतालाई राष्ट्रिय सुरक्षाका लागि खतरा भएको भन्दै निन्दा गरेको थियो।

राष्ट्रिय सुरक्षा सल्लाहकार चाङ हो-जिनले आफ्नो देशले युक्रेनलाई हतियार उपलब्ध गराउने विषयमा पुनर्विचार गर्ने योजना बनाएको बताएका छन्।

पुटिनले बिहीबार भियतनाममा पत्रकारहरूमाझ यदि दक्षिण अफ्रिकाले युक्रेनलाई हतियार आपूर्ति गर्छ भने दक्षिण कोरिया त्यसको उचित जवाफ पाउने बताएका छन्।

पुटिनको टिप्पणीपछि दक्षिण कोरियाको राष्ट्रपति कार्यालयले शुक्रबार युक्रेनलाई हतियार आपूर्तिको लागि ‘विभिन्न विकल्पहरू’बारे विचार गर्ने बताएको छ।

असार ६, २०८१ शुक्रबार १३:३५:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।