भक्तराजको संघर्ष देखाउने फिल्म ‘आचार्य’, जहाँ छन् दयाहाङ, विपिन र सौगात

भक्तराजको संघर्ष देखाउने फिल्म ‘आचार्य’, जहाँ छन् दयाहाङ, विपिन र सौगात

काठमाडौं : संघर्ष गरेर गायन क्षेत्रमा प्रवेश, बलियो प्रभाव, भजन शिरोमणिसम्मको उपाधि, अब्बल प्रशंसक बढिरहेका बेलामा दु:खद घटना, क्यान्सरका कारण जिब्रो काटिँदा सधैका लागि गायन क्षेत्रबाट बिदा।

गायक भक्तराज आचार्यको जीवन आफैँमा ट्रयाजिक फिल्मको कथा भन्दा कम रहेन। संघर्ष, मिहेनत, सफलता अनि दु:खद घटना।

दुर्घटनासँगै जिब्रोमा क्यान्सर देखिएपछि उनको सुमधुर स्वर गुम्दा उनी र उनको परिवार मात्र दुखी भएनन् सारा संगीतप्रेमी नेपाली दुखी भए।

उनी जीवित रहँदा दुई छोरालाई प्रशिक्षण र प्रेरणाले अब्बल गायक बनाउन सफल भए। नाति उनकै बाटोमा लाग्दै थिए। फागुनमा उनै भक्तराजको भौतिक शरीर पनि विलीन भयो।

उनको वास्तविक सङ्घर्षको कथामा उनी जीवित रहँदै उनको फिल्म ‘आचार्य’ १५ वर्ष अगाडि नै बनेको थियो। निर्माण टिमका अनुसार प्राविधिक समस्याले त्यो बेलामा सबै हलमा फिल्म लाग्न सकेन।

अहिले भक्तराजको सम्मानमा फिल्म पुन: सम्पादन र नयाँ दृश्य थपेर हलमा लागेको छ शुक्रबारबाट। अहिले हलमा छ वटा त नेपाली फिल्म नै छन्। शुक्रबार ‘आचार्य’सँगै ‘दान्भी’ रिलिज भएको थियो। तै पनि भक्तराजका प्रशंसक हलमा पुग्दा राम्रै शो सङ्ख्या पाएको छ फिल्मले।

फिल्ममा गायक भक्तराज आचार्यको बाल्यपनदेखि सङ्गीत क्षेत्रको १६ वर्षे समय र स्वर गुमेको घटना समावेश छ। २०४६ सालमा साङ्घातिक आक्रमणपछि उनको जिब्रोमा सेतो दाग देखियो। चिकित्सकले क्यान्सर भएको घोषणा गरेर जिब्रो काटियो। उनको सुर र स्वर गुम्यो तर स्वाभिमान गुमेन।

फिल्म ‘आचार्य’मा गायक भक्तराजको भूमिकामा उनकै छोरा सत्यराज आचार्यले अभिनय गरेका छन्।

फिल्म प्रशान्त रसाइलीको निर्देशनमा तयार भएको हो। सत्यराजसहित सुनिल पोखरेल, अरुणा कार्की, दयाहाङ राई, विपिन कार्की, सौगात मल्ललगायतको अभिनय छ फिल्ममा।

असार ६, २०८१ शुक्रबार १२:४७:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।