टी२० विश्वकपमा वर्षाले प्रभावित खेलमा अष्ट्रेलिया २८ रनले विजयी, प्याट कमिन्सको ह्याट्रिक

टी२० विश्वकपमा वर्षाले प्रभावित खेलमा अष्ट्रेलिया २८ रनले विजयी, प्याट कमिन्सको ह्याट्रिक

काठमाडौं : वर्षाले प्रभावित भएको आईसीसी टी२० विश्वकप अन्तर्गत सुपर आठको चौथो खेलमा अष्ट्रेलिया २८ रनले विजयी भएको छ।

१४१ रनको लक्ष्य पछ्याउने क्रममा ११.२ ओभरमा अष्ट्रेलियाले दुई विकेट गुमाएर १०० रन बनाएर खेलिरहेको थियो। सोही समयमा पानी परेपछि खेल प्रभावित भएको थियो।

केही समय कुर्दा पनि पानी नरोकिएपछि डर्कविथ लुइस (डीएलएस) प्रणालीबाट नतिजा तय गरिएको हो। अष्ट्रेलियाका लागि डेभिड वार्नरले ३५ बलमा ५३ रनको अविजित अर्धशतकीय पारी खेले। ट्रेभिस हेड ३१ र मिचल मार्स १ रनमा आउट हुँदा ग्लेन म्याक्सवेल १४ रनमा नटआउट रहे।

बंगलादेशका रिसाद होसेनले दुई विकेट लिए।

त्यसअघि एन्टिगुवाको सर भिभिएन रिचर्ड्स क्रिकेट स्टेडियमम टस हारेर पहिला ब्याटिङमा तानिएको बंगलादेशले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १४० रन बनाएको थियो।

उसका लागि नजमुल होसेन सान्तोले ४१, टोहिद हृदोयले ४०, लिट्टन दासले १६ रन बनाए। त्यसबाहेक टक्सिन अहमद १३ रनमा नटआउट रहँदा अन्य खेलाडीले दोहोरो अंकक रन बनाउन सकेनन्।

अष्ट्रेलियाका लागि प्याट कमिन्सले ह्याट्रिक गर्दा, एडम जाम्पा दुई तथा ग्लेन म्याक्सवेल, मार्कस स्टोयनिस र  मिचेल स्टार्कले समान एक–एक विकेट लिए।

जितसँगै समूह १ मा रहेको अष्ट्रेलिया समूहको शीर्ष स्थानमा पुगेको छ। भारत दोस्रो स्थानमा रहँदा अफगानिस्तान तेस्रो र बंगलादेश चौथो स्थानमा छ।

असार ६, २०८१ शुक्रबार ११:५४:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।