आज दशौं अन्तर्राष्ट्रिय योग दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

आज दशौं अन्तर्राष्ट्रिय योग दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै
फाइल तस्बिर

काठमाडौं : आज दशौं अन्तर्राष्ट्रिय योग दिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रम र सामुहिक योग गरी मनाइँदैछ।

नेपालमा यो वर्ष ‘महिला सशक्तीकरणका लागि योग’ भन्ने नारा तय गरिएको छ।

संयुक्त राष्ट्रसंघको महासभाबाट सन् २०१४ को डिसेम्बर ११ मा योग दिवस मनाउने प्रस्ताव पारित भएपछि सन् २०१५ को जुन २१ देखि यो दिवस मनाउन थालिएको हो।

नेपालमा पनि योगाभ्यासलाई जोड दिन सरकारीस्तरबाटै विभिन्न प्रयास हुँदैछन्। यसपटक योग दिवस मनाउन संघीय सरकारले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको अध्यक्षतामा मुल समारोह समिति नै गठन गरेको छ।

समितिले भक्तपुरको एसओएस बालग्राममा विशेष कार्यक्रमको आयोजना गरेको छ। सो कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालसहित मन्त्री र सरकारका विशिष्ट अधिकारी सहभागी हुँदैछन्।

कार्यक्रमअघि पेप्सीकोला, गठ्ठाघर, लोकन्थली र मध्यपुरथिमि चोकबाट बालग्रामसम्म प्रभावफेरी हुने शिक्षा मन्त्रालयले जनाएको छ।

सरकारले निरन्तर योग गर्ने अभ्यासको बानी विकास गर्न आग्रह गर्दै आएको छ। यसअघि तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारी कार्यालयमा प्रवेश गरीपछि कर्मचारीहरुलाई पहिले योग र ध्यान गरेरमात्रै सेवा सुचारु गर्न निर्देशन दिएका थिए।

असार ६, २०८१ शुक्रबार ०८:३४:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।