नियम विपरीत तीन वटा गाडी प्रयोग गर्दै आयुर्वेद विभागका महानिर्देशक : न आफैँ जान्दछन्, न भनेकै मान्छन्

नियम विपरीत तीन वटा गाडी प्रयोग गर्दै आयुर्वेद विभागका महानिर्देशक : न आफैँ जान्दछन्, न भनेकै मान्छन्

काठमाडौं : विवाद नै विवादको भुमरीमा मुछिएका आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा. प्रदीप केसीले तीन वटा सरकारी गाडी प्रयोग गरिरहेको खुलेको छ।

डा. केसीले नरदेवी आयुर्वेद चिकित्सालय (नरदेवी आयुर्वेद अस्पताल), सिंहदरबार वैद्यखाना विकास समिति र आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको गाडी प्रयोग गर्दै आएको पाइएको खुलेको हो।

उकेराको खोजका क्रममा विभागका महानिर्देशक डा. केसीले नरदेवी आयुर्वेद चिकित्सालयको ‘बा २ झ ३५१०’, वैद्यखानाको ‘बा १ झ ८२५०’ र आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको ‘बागमती बी एए ७५८७’ नम्बर प्लेटको गाडी प्रयोग गरिरहेका छन्।

केही दिनअघि उकेराकर्मी वैद्यखाना पुग्दा नरदेवीको ‘बा २ झ ३५१०’ नम्बर प्लेटको गाडी वैद्यखानाको पार्किङमा भेटिएको थियो। नरदेवीबाट वैद्यखाना खटिएपछि उनले नरदेवी र वैद्यखाना दुवै ठाउँको गाडी प्रयोग गरिरहेका थिए।

तर, उनले गत जेठ २३ गते विभागको महानिर्देशकको जिम्मेवारी पाएपछि समेत विभागको सहित तीन वटा गाडी प्रयोग गर्दै आएका हुन्। डा. केसी नरदेवीबाट वैद्यखाना हुँदै विभाग पुगेका छन्। बिहीबार बेलुका उनले विभागकै गाडी चढेर विभागबाट बाहिरिएको भेटियो।

नरदेवी आयुर्वेद चिकित्सालयबाट सिंहदरबार वैद्यखाना विकास समितिको कार्यकारी निर्देशकको रूपमा कामकाजमा खटिएका डा. केसीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले जेठ २३ गते विभागको महानिर्देशकको समेत जिम्मेवारी दिएका थिए।

मन्त्री यादवले डा. केसीलाई वैद्यखानाको पनि कामकाज हेर्नेगरी विभागको महानिर्देशक बनाएका हुन्। तर, डा. केसीले नरदेवीबाट हटाइएको सात महिना बितिसक्दा समेत नरदेवीको गाडी बुझाएका छैनन्।

उकेरालाई प्राप्त तथ्य अनुसार २०८० माघ २१ मा नरदेवी अस्पतालले स्वास्थ्य मन्त्रालयलाई पत्र लेख्दै डा. केसीले नरदेवीलाई गाडी नबुझाएकाले उनले प्रयोग गरेको नरदेवीको गाडी उपलब्ध गराउने व्यवस्था मिलाइदिन अनुरोध गरेको थियो।

नरदेवीले स्वास्थ्य मन्त्रालयलाई लेखेको पत्रमा भनिएको छ, ‘निज यस चिकित्सालयमा रहँदा प्रयोग गर्नुभएको यस कार्यालयको नाममा रहेको ‘बा २ झ ३५१०’ नम्बरको गाडी उहाँलाई पटक-पटक लिखित तथा मौखिक जानकारी गराउँदा समेत हालसम्म फिर्ता नभएको र यस चिकित्सालयलाई अति आवश्यक रहेको हुँदा उक्त गाडी यस चिकित्सालयमा उपलब्ध हुने व्यवस्था गरिदिनुहुन अनुरोध छ।’

तर, उनले अझै नरदेवीको गाडी फिर्ता गरेका छैनन्। आफू ११औं तहको चिकित्सक भएको भन्दै डा. केसीले आफू जता सरुवा भए पनि नरदेवीको गाडीसमेत निजी गाडीसरह प्रयोग गर्दै आएका छन्।

यस विषयमा स्वास्थ्य मन्त्रालयमा जानकारीका लागि सम्पर्क गर्दा मन्त्रालयका उच्च तहका एक कर्मचारीले एक जना सरकारी कर्मचारीले तीन वटा गाडी प्रयोग गर्न नपाइने बताए।

‘तीन वटा गाडी सचिवकै हुँदैन’, मन्त्रालयका उच्च तहका ती कर्मचारीले भने, ‘एघारौं तहको कहाँबाट हुन्छ र?’

मन्त्रालयका उच्च तहका कर्मचारीले समेत एउटा भन्दा बढी गाडी प्रयोग गर्नै नमिल्ने बताइरहँदा समेत डा. केसीले भने यो गाडी नियमसंगत रूपमा नै प्रयोग गरिरहेको कुतर्क गर्दै आएका छन्।

वैद्यखाना स्रोतका अनुसार डा. केसी विहान आफैँ सो नरदेवीको गाडी चढेर बालबच्चासहित वैद्यखाना पुग्छन्। वैद्यखानापछि डा. केसी विभागको गाडी चढेर निस्कन्छन्। तर, दिउँसो कुनै काम पर्यो वा परिवारका सदस्यलाई कतै आवतजावत गराउनुपर्यो भने र बालबच्चालाई विद्यालयमा लाने ल्याउने जस्ता काममा डा. केसी वैद्यखानाको नै गाडीको प्रयोग गर्छन्।

विशेषगरी आफू वैद्यखानामा नभएको समयमा डा. केसीले विद्यालयमा बालबच्चा पुर्याउन र ल्याउनेजस्ता पारिवारिक तथा घरायसी काममा वैद्यखानाको गाडी प्रयोग गर्ने गरेको वैद्यखानाका एक कर्मचारीले जानकारी दिए।

‘अफिस नजिकै स्कुल हाल्नु भएको छ,’ वैद्यखानाका एक कर्मचारीले भने, ‘(प्रदीप) डाक्टरसाप बाहिर गएको बेला पुर्याउनले ल्याउने गर्नुपर्छ। अरुबेला त खासै पर्दैन। हिजो हाम्रो गाडीले उहाँको बालबच्चा पुर्याएको थियो। आज उहाँ बाहिरबाट आउनुभएको छ। आज त पुर्याउनु पर्दैन होला।’

जीर्ण वैद्यखानामा कर्मचारी भर्ना
त्यसो त उनले वैद्यखानामा नियम विपरीत करार र ज्यालादारीमा कर्मचारी समेत नियुक्त गरेको वैद्यखाना स्रोत बताउँछ। स्रोतका अनुसार वैद्यखानामा करार र ज्यालादारी गरी करिब १७ जना कर्मचारी भर्ना गरिएको छ।

‘...ती मध्ये केही अहिलेका स्वास्थ्य मन्त्री प्रदीप यादवका मान्छे भर्ना भएका छन्,’ वैद्यखानाका एक कर्मचारीले भने, ‘ज्यालादारी त सिजनको आवश्यकता अनुसार राख्ने चलन हुन्छ। करारको त कसरी राख्न मिल्छ?’

डा. केसीले पनि वैद्यखानामा कर्मचारी भर्ना गरेको बारे अस्वीकार गरेनन्। बिहीबार विभागमा अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा पत्रकारसँग भएको अन्तरक्रियात्मक कार्यक्रममा यस विषयमा उकेराले जिज्ञासा राख्दा डा. केसीले ज्यालादारी र करारमा कति कर्मचारी भर्ना गरिएको हो भन्ने एकिन खुलाएनन्।

उनले भने, ‘...६/७ जनाचाहिँ करार अथवा ज्यालादारीका छन्, चार जना कार्यालय सहयोगी...।’

टाट पल्टिरहेको वैद्यखानामा करार र ज्यालादारीमा किन १६/१७ जना कर्मचारी भर्ना गर्नुभएको? भन्ने उकेराकर्मीको जिज्ञासामा डा. केसीले भने, ‘१६/१७ जना भन्नुभयो, अलि अंकमा गडबढी भएको छ। सिनलज रूपमा च्यावनप्रास बनाउन हामीले दैनिक ज्यालादारीमा त्यतिबेला राख्यौं।’

सरकारले दिएको अधिकार अनुसार नै कर्मचारी भर्ना गरिएको उनले दाबी गरे। वैद्यखानामको उत्पादन घटेर धरासायी अवस्थामा पुगेको बेला कर्मचारीलाई तलब खुवाउनै मुस्किल छ।

हाल वैद्यखानामा त्रिफला चूर्ण, सितोपलादी चूर्ण, तुलसी चिया, अधिपत्तिकर चूर्ण, च्यावनप्रास लगायत करिब दश प्रकार भन्दा कम औषधि उपादन भएको वैद्यखानाका कर्मचारीले जानकारी दिए। ती कर्मचारीका अनुसार वैद्यखानाले कुनै बेला एक सय ७० हाराहारी औषधि उत्पादन गर्ने गर्थ्यो।

सिटी खरिद विवादमा मुछिएका डा. केसी विभागमा 
डा. केसी नरदेवीमा सिटी खरिद लगायत विवादमा मुछिएका चिकित्सक हुन्। सिटी खरिदको विषय अख्तियारको छानबिनका क्रममा छ। उनले निश्चित कम्पनीसँग मिल्नेगरी प्राविधिक स्पेशिफिकेशन नै लक्ड गर्न लगाएर चाहेकै सप्लायर्स कम्पनी (हिमालयन मेडिल टेक्नोलोजिज प्रालि)लाई कमिसनको खेलमा सिटीको टेण्डर दिएको आरोप छ।

नरदेवी अस्पतालले २०८० असार १८ गते बोलपत्र स्वीकृत गर्ने आशयको सूचना जारी गर्दै दुई लाख ८५ हजार (मूल्य अभिवृद्धि कर बाहेक) अमेरिकी डलर (यूएसडी)मा सिटी स्क्यान मेसिन खरिद गर्ने गरी निओसफ्टको नेपाली सप्लायर्स (हिमालय मेडिकल टेक्नोलोजीज प्रालि)लाई टेन्डर दिएको थियो।

नरदेवी अस्पतालका तत्कालीन निर्देशक डा. केसीले सिटीको सो टेन्डर दिएका थिए। नरदेवीमा ६४ स्लाइसको सिटी स्क्यान मेसिन खरिद भयो। नरदेवीको सिटी स्क्यान मेसिन जडान भइरहेको छ।

डा. केसीले नरदेवी आयुर्वेद चिकित्सालयमा आयुर्वेदकै अस्तित्व संकटमा पार्नेगरी काम गर्नुका साथै आफ्ना मान्छेलाई छानीछानी प्रोत्साहन भत्ता बाँड्ने जस्ता नियमविपरित काम गरेको बारे यस अघि नै उकेराले समाचार सम्प्रेषण गरेको छ। डा. केसी परम्परागत चिनिया उपचार विधा (टीसीएम) मा आधारित अकुपञ्चरतर्फका चिकित्सक हुन्।

स्वास्थ्य मन्त्रालयले २०८० कात्तिक दुई गते नरदेवी आयुर्वेद चिकित्सालयबाट सिंहदरबार वैद्यखाना विकास समितिको कार्यकारी निर्देशकको रूपमा कामकाज गर्न खटाएको केही समयसम्म अटेर गर्र्दै नरदेवीमा नै नियम विपरित स्वघोषित निर्देशकको हैसियतमा आर्थिक तथा प्रशासनिक काम गर्र्दै बसेका थिए।

तर, जागिर नै धरापमा पर्ने जोखिम भएपछिमात्रै उनी वैद्यखानामा हाजिर हुन पुगेका थिए।  जुन उनले विहीबार विभागमा भएको पत्रकारसँगको अन्तरक्रियात्मक कार्यक्रममा नै स्वीकारे।

मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट २०८० कात्तिक दुई गते नै साबिककै निकायमा दरबन्दी रहने गरी अर्को व्यवस्था नभएसम्म सिंहदरबार वैद्यखानामा पठाएको थियो। तर, वैद्यखानाका अनुसार उनी माघ आठ गतेमात्रै वैद्यखानामा हाजिर हुन पुगेका थिए।

मन्त्रालयले सोही दिन नरदेवी आयुर्वेद चिकित्सालयमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका डा. श्यामबाबु यादवलाई निमित्त निर्देशकको जिम्मेवारी दिएर पठाएको थियो। तर, निवर्तमान स्वास्थ्य मन्त्री उपेन्द्र यादवले नरदेवीको निमित्त निर्देशकबाट हटाउँदै नरदेवीको प्रमुख डा. रामदेव यादवलाई दिएका थिए। हाल नरदेवीको प्रमुख डा. रामदेव छन्।

केही समयअघि विभागका महानिर्देशक डा. वासुदेव उपाध्याय लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा नियुक्त भएपछि विभागको महानिर्देशक पद खाली थियो। त्यसपछि डा. केसीलाई मन्त्रीयादवले विभागको महानिर्देशकको जिम्मेवारी दिएका हुन्।

डा. केसीले आफ्नो दरबन्दी पनि नरदेवीबाट विभागमा नै सारिएको र डा. उपाध्यायको विभागबाट नरदेवीमा दरबन्दी सारिएको जानकारी दिएका छन्। डा. केसीले मन्त्रीस्तरीय निर्णयबाट आफूले विभागको महानिर्देशकको जिम्मेवारी पाएको बताएका छन्।

असार ७, २०८१ शुक्रबार ०८:१३:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।