सूर्य नेपाल प्रिमियर गल्फको तेस्रो दिन सुबाश शीर्ष स्थानमा, भुवन र दिनेश एक स्ट्रोकले पछि

सूर्य नेपाल प्रिमियर गल्फको तेस्रो दिन सुबाश शीर्ष स्थानमा, भुवन र दिनेश एक स्ट्रोकले पछि

काठमाडौं : सूर्य नेपाल गल्फ टुर २०२३-२४ को अन्तिम प्रतियोगिता अन्तर्गत डिफेन्डिङ च्याम्पियन सुबाश तामाङले ५-अन्डर ६७ को स्कोर दर्ज गर्दा समग्रमा १२-अन्डर २ सय ४ सहित  सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको तेस्रो दिन शीर्षस्थानमा उक्लन सफल भएका छन्।

सुबाशले दोस्रो दिनका संयुक्त लिडर भुवन नगरकोटी र दिनेश प्रजापतिलाई अन्तिम १८ होलको खेल बाँकी रहँदा एक स्ट्रोकले पछि पारे। 

दिनेश र भुवनले समग्रमा ११-अन्डर २ सय ५ स्कोर गरे। उनीहरू दुवै आज १-अन्डर ७१ खेल्दै मा संयुक्तरुपमा दोस्रो स्थानमा झरे। एमेच्योर सदभाव आचार्य र धरानका प्रो निरज तामाङ समग्रमा ९-अन्डर २ सय ७ स्कोर सहित संयुक्तरुपमा चौथो स्थान बाँडे। दुवैले तेस्रो दिनको खेल २-अन्डर ७० मा पुरा गरे।

आज १-अन्डर ७१ सहित समग्रमा ६-अन्डर २ सय १० को स्कोरमा तोरण विक्रम शाही छैटौं स्थानमा छन्। एमेच्योर विजय श्रेष्ठ आइन्हाउस ५-अन्डर २ सय ११ को स्कोरमा सातौं, ४-अन्डर २ सय १२ सहित जयराम श्रेष्ठ आठौं र १-अन्डर २ सय १५ सहित एमेच्योर सुमन परियार नवौं स्थानमा रहे। विजय र जयरामले आज इभन-पार ७२ तथा सुमनले ३-ओभर ७५ को स्कोर कार्ड बनाए।

समग्रमा इभन-पार २ सय १६ को स्कोरमा एमेच्योरद्वय राहुल विश्वकर्मा र तेन्जिङ पाल्देन तथा प्रो सञ्जय लामाले संयुक्तरुपमा दशौं स्थान बाँडे। राहुलले ३-अन्डर ६९, तेन्जिङले १-अन्डर ७१ र सञ्जयले ४-ओभर ७६ मा दिनको खेल सकाए।

दोस्रो दिन संयुक्तरुपमा तेस्रो स्थानमा रहेका सुबाशले शीर्षस्थानमा उक्लने क्रममा फ्रन्ट नाइन २-अन्डर ३४ मा पुरा गरे। चौथो होलमा एक सट खेर फाले भने तेस्रो, सातौं र नवौं होलमा बर्डी प्रहार गरे। यसपछि ५-पारको १२ औं होलमा इगलको सफलता प्राप्त गरे भने लगतै १३ औं होलमा एक सट बचाए। ब्याक नाइन ३-अन्डर ३३ मा सकाए। एमेच्योर गल्फर हुँदा पाँच प्रतियोगिता जितेका सुबाश प्रो बनेपछि पहिलो उपाधि जित्ने दाउमा रहेका छन्।

दिनेशले फ्रन्ट नाइन ३-अन्डर ३३ मा सकाउने क्रममा पहिलो, तेस्रो र सातौं होलमा बर्डी प्रहार गरे। यसपछि ११ औं होलमा पनि एक सट बचाए। तर, १२ औं होलको डबल बोगी र १५ औं होलको बोगीले ब्याक नाइन २-ओभर ३८ मा सकाउन बाध्य भए।

भुवनले पनि दिनेशले जस्तै फ्रन्ट नाइन ३-अन्डर ३३ मा र ब्याक नाइन २-ओभर ३८ मा पुरा गरे। सुरूवात राम्रो गर्ने क्रममा दोस्रो, तेस्रो, पाँचौ र सातौं होलमा चार बर्डी प्रहार गरे। आठौं होलमा एक सट खेर फाले। यसपछि १४ औं होलमा बिर्सनलायक प्रदर्शन गरे। भुवनले ४-पारको उक्त होलमा दुई पटक आउट अफ बाउन्ड्स (ओबी) प्रहार गर्दा चार सट खेर फाले। तर १७ औं र १८ औं होलको बर्डीले उनलाई केही राहत मिल्यो।

एमेच्योर सदभावले फ्रन्ट नाइन र ब्याक नाइन दुवै १-अन्डर ३५ मा सकाए। उनले तेस्रो, चौथो र ११ औं होलमा बर्डी प्रहार गर्दा छैटौं होलमा बोगी खेपे। निरजले दोस्रो र आठौं होलको बर्डीले फ्रन्ट नाइन २-अन्डर ३४ मा सकाए। यसपछि ११ औं होलको बोगी विरूद्ध १२ औ होलको बर्डीले ब्याक नाइन इभन-पार ३६ मा सकाए।

सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गत सिजनको सबै भन्दा ठुलो प्रतियोगितामा कुल १५ लाख ५० हजार नगद पुरस्कार राशी रहेको छ। प्रतियोगिताको विजेताले २ लाख ७५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन्। दोस्रो र तेस्रो हुनेले क्रमशः १ लाख ७५ हजार र १ लाख २२ हजार प्राप्त गर्नेछन्। 

यस्तै, चौथो र पाँचौ हुनेलाई १ लाख २ हजार र ८० हजार प्रदान गरिनेछ। सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको प्रो-एम प्रतियोगिता शनिबार हुनेछ। जहाँ २५ प्रो र १०० एमेच्योर गल्फरको सहभागिता रहनेछ। 

असार ५, २०८१ बिहीबार २१:१७:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।