युएसएआईडीको किसान २ परियोजनाद्वारा नेपालको कृषि क्षेत्रको प्रवर्द्धन
काठमाडौँ : संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) ले किसान २ परियोजना सम्पन्न गरेको छ। सोही अवसरमा गरिएको एक कार्यक्रममा कृषि उत्पादकत्व र कृषक तथा कृषि व्यवसायको आय वृद्धिको दिशामा परियोजनाले हासिल गरेका महत्त्वपूर्ण उपलब्धिहरू प्रदर्शन गरिएको थियो।
जुलाई २०१७ देखि जुलाई २०२४ सम्म सञ्चालित किसान २ परियोजनाले ७३ प्रतिशत महिला र ६३ प्रतिशत सीमान्तकृत समूहका गरी २ लाख ७० हजार ६०० भन्दा बढी किसानहरूलाई सहयोग गरेको छ। युएसएआईडी, नेपाल सरकार र निजी क्षेत्रबिचको बलियो साझेदारीले नेपालका २५ जिल्लामा कृषि उत्पादकत्व र बिक्रीमा उल्लेखनीय वृद्धि गरेको बताइएको छ।
किसान २ परियोजनाले १७७ फर्महरूसँग साझेदारी गरी लगभग ६०० कृषि सल्लाहकारहरूलाई किसानहरूलाई बजार र वित्तमा पहुँच पाउन र थप प्रतिस्पर्धी बन्न मद्दत पुर्यामउनुका साथै ३५ हजार भन्दा बढी कृषक परिवारलाई सिँचाइ प्रणाली उपलब्ध गराएको छ। यस सहयोगले उत्पादन १३९ प्रतिशतले बढाउन र ४७ करोड ६० लाख अमेरिकी डलर बराबरको कृषिजन्य बिक्री गर्न मद्दत गरेको छ।
जलवायुका दृष्टिले उपयुक्त कृषि अभ्यासहरू र नयाँ डिजिटल प्रविधिको प्रयोगलाई प्रवर्द्धन गर्दै युएसएआईडीले किसानहरूलाई जलवायु परिवर्तनका प्रभावहरूको राम्रोसँग सामना गर्नसक्ने गरी सशक्त बनाएको छ।
यसै सन्दर्भमा अमेरिकी दूतावासका उपप्रमुख जेसन मिक्सले भने, नेपाली किसानहरूलाई उनीहरूको आय वृद्धि गर्न, स्थानीय बजारमा स्वस्थकर खाद्यपदार्थमा उनीहरूको पहुँच विस्तार गर्न र मुलुकको समग्र खाद्य सुरक्षा तथा समृद्धिमा सुधार ल्याउन नेपालको कृषिको सम्भाव्यतालाई उपयोग गर्न मद्दत गर्न पाउँदा हामी गौरवान्वित छौँ।'
कार्यक्रममा बोल्दै कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साहले भनिन, 'युएसएआईडीको किसान २ परियोजनाले राइस मिल मोडेल र मेज एग्रिगेसन मोडेल प्रस्तुत गरेको छ, जसले मिलवाला र सङ्कलकहरूलाई किसानलाई सहयोग गर्न र उचित मूल्यमा उत्पादन खरिद गर्न मद्दत गर्दछ। किसान २ ले कृषि विकास रणनीतिको पुनरावलोकन र प्राथमिकीकरणमा सहयोग पुर्याउँदै संयुक्त क्षेत्र समीक्षामा पनि सहयोग पुर्यायो।'
असार ५, २०८१ बिहीबार १९:४०:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।