'कांग्रेसभित्र महिलाहरूलाई अन्तर्घातको रोग छ'

'कांग्रेसभित्र महिलाहरूलाई अन्तर्घातको रोग छ'

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसभित्र महिलाहरूलाई अन्तरघात गर्ने प्रवृत्ति बढेको बताएका छन्। 

लैङ्गिक समानता अभिवृद्धिका लागि नेपाल महिला संघको भावी कार्ययोजना निर्माण विषयक कार्यशाला गोष्ठीमा उनले पार्टी अन्तर्घातबाट मुक्त हुने हो भने महिलाहरूलाई अझ बढी मौका मिल्ने विश्वास लिएको बताए। 

उनले भने, ‘महिलाहरूलाई हाम्रो पार्टीमा अन्तर्घातको रोग छ। यसबाट मुक्त गराउन सके महिलाहरूलाई अझ बढी मौका मिल्ने विश्वास लिएको छु। अहिले महिलाहरूको अधिकारका लागि, समावेशीकरणका लागि, समानुपातिक विकासका लागि संसारभर नै आवाज उठेको छ। त्यही हिसाबमा नेपालमा पनि महिला राष्ट्रपति समेत भइसक्नुभयो। विद्या भण्डारीजी दुईपटक राष्ट्रपति हुनुभएको छ। भोलिका दिनमा पनि यस्तै ठाउँहरू महिलाहरूले पाउनु हुनेछ।’

यस्तै, उनले नेपालीको राजनीतिक परिवर्तनमा महिलाहरूको अग्रणी भूमिका रहेका रहेको पनि बताए। 

उनले भने, ‘महिलाहरूको धेरै ठूलो योगदान रहेको छ। नेपालीको राजनीतिक परिवर्तनमा र भोलिको दिनमा नेतृत्व विकासमा पनि महिलाहरूको अग्रणी भूमिका रहेको खण्डमा सबै ठाउँमा महिलाहरूलाई समावेशी, समानुपातिकको रुपमा महिलाहरूलाई ठाउँ दिइएको छ। त्यसले गर्दा महिलाहरूको भूमिका अझ बढी प्रभावकारी र सशक्त हुने कुरामा मलाई विश्वास छ।’ 

निर्वाचनमा पार्टीबाट महिलालाई सिटको व्यवस्था गर्ने सन्दर्भमा नहार्ने खालको तयारीका साथ महिला सशक्तीकरणको अभियान अघि बढाउनुपर्ने पनि उनको भनाइ छ।

असार ५, २०८१ बिहीबार १८:०२:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।