आफूलाई मन्त्रीहरूले नटरेको प्रधानमन्त्रीको गुनासो

आफूलाई मन्त्रीहरूले नटरेको प्रधानमन्त्रीको गुनासो

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रीहरूले आफ्ना निर्देशनलाई गम्भीरतापूर्वक नलिएको गुनासो गरेका छन्।

बिहीबारको प्रतिनिधि सभा बैठकमा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन्।

साना योजना संघका कार्यक्रमहरुमा नराख्न दिएको निर्देशन मन्त्रीहरूले नमानेको भन्दै उनले संसदमा गुनासो गरेका हुन्।

‘माननीय मन्त्रीज्यूहरूले पनि योजना निर्माण गर्दा, कार्यक्रम बनाउँदा प्रधानमन्त्रीकै निर्देशनलाई पनि जति गम्भीरतापूर्वक लिनुपर्ने हो त्यसरी लिएको पाइएन,’ उनले भने, ‘साना आयोजना संघमा नराख्ने भन्दाभन्दै पनि राखिएको छ।’

प्रधानमन्त्री दाहालल बजेट निर्माणमा जे भएको एकदमै ठिक भएको छ भन्ने पक्षमा आफू नभएको भन्दै परिमार्जन आवश्यक रहेको बताए।

‘परिमार्जन आवश्यक छ। म यसमा जे भएको विल्कुल ठिक भएको छ पक्षमा त छैन, तर प्रयास जारी छ। मैले फेरि पनि जोड दिएर भन्न चाहन्छु, साना आयोजनाहरू संघले कार्यान्वयन गर्दैन, प्रदेश र स्थानीय तहलाई नै कार्यान्वयन गर्न दिने व्यवस्था गरिन्छ।’

साथै उनले अन्तिममा प्रधानमन्त्रीले संसदमा बोल्ने दिन संसदमा सत्तापक्ष र प्रतिपक्ष सबै दलका सांसदहरू उपस्थित हुने गरेको संसदीय परम्परा रहेको भन्दै त्यसो नभएकोमा समेत असन्तुष्टि व्यक्त गरे।

असार ५, २०८१ बिहीबार १३:४८:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।