राजदूत फिर्ता बोलाएकोमा प्रधानमन्त्रीको प्रष्टिकरण– ‘हामीले त तीन महिना ढिला बोलायौँ’

राजदूत फिर्ता बोलाएकोमा प्रधानमन्त्रीको प्रष्टिकरण– ‘हामीले त तीन महिना ढिला बोलायौँ’

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले राजनीतिक नियुक्ति पाएका राजदूतहरूलाई मात्र फिर्ता बोलाइएको प्रष्टिकरण दिएका छन्।

बिहीबारको प्रतिनिधि सभा बैठकमा सांसद तारा लामा तामाङले उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन्।

उनले भने, ‘अहिले पनि परराष्ट्र सेवाबाट कोही पनि राजदूतलाई फिर्ता बोलाउने नीति सरकारको छैन। राजनीतिक नियुक्तिका आधारमा गएकाहरूको हकमा मात्रै समीकरण परिवर्तनसँगै यस्तो भएको हो।’

प्रधानमन्त्री दाहालले कानूनसम्मत नै राजदूतहरू फिर्ता बोलइएको बताउँदै देशको हित र कुटनीतिलाई मजबुत बनाउन राजदूतहरूको मूल्यांकन गरी व्यवस्थापन गरिने नीति सरकारले लिएको बताए।

‘राजदूत नियुक्तिसम्बन्धी निर्देशिका २०७५ को दफा ८ (ग)मा नेपाल सरकारले आवश्यक ठानेमा राजदूतलाई पदावधि पूरा हुनुअगावै निर्णय गरी फिर्ता बोलाउन सक्ने प्रावधान छ,’ उनले थपे, ‘देशको हित र कुटनीतिलाई मजबुत बनाउन वस्तुगत आधारमा राजदूतहरुको मूल्यांकन गरी सोहीअनुरुप व्यवस्थापन गर्ने नीति सरकारले विगतदेखि नै अवलम्बन गर्दै आएको छ।’

राजदूत नियुक्तिलाई व्यवस्थित र पारदर्शी बनाउन सरकार प्रयासरत रहेको भन्दै उनले विगतभन्दा केही ढिला गरी राजदूत हटाइएको बताए।

‘राजदूत नियुक्तिसम्बन्धी निर्देशिकालाई मूल आधार बनाइ राजदूतहरुको नियुक्तिलाई थप व्यवस्थित, मर्यादित, पारदर्शी, दक्षतामा आधारित र कार्यसम्पादनमा आधारित सरकार प्रयासरत छ,’ उनले अगाडि भने, ‘विगतमा त तुरुन्तै हुन्थ्यो। यसपटक त तीन महिनाभन्दा बढी समयसम्म कायम रह्यो। त्यसकारण विदेशी कुटनीतिमा सरकार गम्भीर छ भन्ने कुरामा यहि नै प्रमाण हो।’

असार ५, २०८१ बिहीबार १३:२८:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।