बीएण्डसी मेडिकल कलेजलाई दिइने सम्बन्धनको प्रक्रिया अघि नबढाउन डा.केसीको चेतावनी

बीएण्डसी मेडिकल कलेजलाई दिइने सम्बन्धनको प्रक्रिया अघि नबढाउन डा.केसीको चेतावनी
फाइल तस्बिर

काठमाडौं : चिकित्सा शिक्षा अभियन्ता डा. गोविन्द केसीले झापाको बीएण्डसी मेडिकल कलेजलाई दिन लागिएको सम्बन्धनको प्रक्रिया अघि नबढाउन चेतावनी दिएका छन्।

बिहीबार प्रेस विज्ञप्ति निकालेर डा केसीले सर्वोच्च अदालतबाट भएको आदेशको पुनरावलोकनमा जान र मेडिकल कलेजलाई दिन लागिएको सम्बन्धको प्रक्रिया अघि नबढाउन चेतावनी दिएका हुन्।

असार ४ गते चिकित्सा शिक्षा आयोगका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठकले सर्वोच्चको आदेशबमोजिम बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय गरेको थियो।

सम्बन्धनको प्रक्रिया रोकर तत्काल सर्वोच्चको आदेश पुनरावलोकनमा नलगिए तोकिएको समय असार १४ गते अघि नै सत्याग्रह थाल्ने चेतावनी समेत डा केसीले दिएका छन्।

डा केसीले दोस्रो पटक प्रधानमन्त्री भएको बेला प्रचण्डले दुर्गा प्रसाइँको अस्पताललाई मेडिकल कलेजको सम्बन्धन दिलाउन सबै नियमनकारी निकायहरूलाई बारम्बार दबाब दिनुका साथै मन्त्रिपरिषद्को बैठकबाटै निर्णय गराउने प्रयास गरेको आरोप लगाएका छन्। तर जनदबाबका कारण उनको प्रयास सफल हुन नसकेको डा केसीको भनाइ छ।

नियुक्ति र बढुवाको आधारहरूमा परिवर्तन भएसँगै न्यायाधीश र अदालतहरू कार्यकारी प्रमुखको साथै राजनीतिक दुष्प्रभावबाट मुक्त नभएको आरोप लगाउँदै उनले बीएण्डसी फैसला प्रकरण लगायतका धेरै फोहोरी कामहरू नग्न रूपमा मिलिमतोमै हुनु मुलुकमा एउटा स्वाभाविक मान्यताको रूपमा स्थापित भइसकेकोमा दु:ख व्यक्त गरे।

साथै उनले महिनौंदेखि खाली राखिएका आयोगका सबै कार्यकारी निर्देशकहरूको पदमा कुनै स्वार्थका द्वन्द नभएका योग्य व्यक्तिहरूलाई तुरुन्त नियुक्त गर्नसमेत माग गरेका छन्।

असार ५, २०८१ बिहीबार १०:३७:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।