वेस्ट इन्डिजमाथि इंग्ल्यान्डको शानदार जित, सेफर्डको बलमा साल्टले एकै ओभरमा हाने ३० रन

वेस्ट इन्डिजमाथि इंग्ल्यान्डको शानदार जित, सेफर्डको बलमा साल्टले एकै ओभरमा हाने ३० रन

काठमाडौं : आईसीसी टी२० विश्वकप क्रिकेटमा इंग्ल्यान्डले वेस्ट इन्डिजमाथि आठ विकेटको शानदार जित निकालेको छ।

१८१ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले १५ बल बाँकी छँदै दुई विकेट गुमाएर लक्ष्य भेट्टायो। उसका लागि फिल साल्टले ४७ बलमा सात चौका र पाँच चौकाको मद्दतमा अविजित ८७ रनको विस्फोटक पारी खेले। साल्टले सोह्रौं ओभरमा एक्लैले तीन चौका र तीन छक्का प्रहार गर्दै ३० रन जोडे।

त्यसबाहेक जोनी बेयरिस्टो २६ बलमा पाँच चौका र दुई छक्काको मद्दतमा अविजित ४८ रन बनाए। जस बटलर २५ र मोइन अली १३ रनमा आउट भए।

वेस्ट इन्डिजका आन्द्रे रसल र रस्टन चेजले समान एक–एक विकेट लिए। रोमारियो सेफर्ड सबैभन्दा महंगा बलर साबित भए। दुई ओभर बलिङ गरेका उनले ४१ रन दिए। १६औं ओभर उनले बलिङ गरेका थिए।

त्यसअघि सान्ट लुसियाको नेशनल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङमा तानिएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १८० रन बनायो।

उसका लागि जनसन चार्ल्स ३८, निकोलस पुरन र कप्तान रोभमन पावेल समान ३६–३६, ब्रान्डन किङ्ग २३, आन्द्रे रसल १ रन बनाएर आउट हुँदा सेरफेन रथरफोर्ड र रोमारियो सेफर्डले अविजित रहँदै क्रमशः २८ र ५ रन जोडे।

इंग्ल्यान्डका जोफ्रा आर्चर, आदिल रसिद, मोइन अली, लियम लिभिङ्स्टोनले समान एक–एक विकेट लिए।

असार ५, २०८१ बिहीबार १०:१३:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।