बस सामुदायिक विद्यालयको, चलाउने निजी बोर्डिङ

बस सामुदायिक विद्यालयको, चलाउने निजी बोर्डिङ

बुटवल : रुपन्देहीको कोटहिमाईको एक विद्यालयले सरकारले दिएको स्कुल बसको दुरुपयोग गरेको पाइएको छ।

रुपन्देहीको कोटहीमाई गाउँपालिका-५ मझागावा स्थित मर्चवारी आर्दश माध्यमिक विद्यालयले प्राप्त गरेको बस निजी विद्यालयलाई सञ्चालन गर्न दिएको पाइएको हो।

प्रदेश सरकार र विद्यालयको साझेदारीबाट खरिद गरिएको बसलाई आदर्श माविले बेला-बेला विवाह र बनभोजमा समेत भाडामा लगाउने गरेको खुलेको छ।

०७९ फागुन २३ गते उक्त बस विद्यालयको २ लाख ७८ हजार र लुम्बिनी प्रदेश सरकारको २५ लाख गरी २७ लाख ७८ हजारमा खरिद गरिएको थियो।

विद्यालय आउने विद्यार्थीको सहजताका लागि भनेर खरिद गरिएको बस विद्यालयले निजी विद्यालयलाई भाडामा दिएपछि यसको चौतर्फी आलोचना भएको छ।

मर्चवार आदर्श माध्यमिक विद्यालयले उक्त बस लुम्बिनी सांस्कृतिक नगरपालिका-२ स्थित बुद्ध उन्नोभेटिभ रिसर्च एण्ड टेक्निकल इन्स्टिच्युट प्रालिलाई भाडामा दिइएको हो।

लु १ क ५५८१ नम्बरको बस विद्यालय आफैँले सञ्चालन गर्न नसकेपछि गत साउन ७ गतेदेखि निजी विद्यालयलाई भाडामा दिएको मर्चवार आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक धनञ्जय त्रिपाठीले बताए।

‘स्थानीय सरकारले बस सञ्चालनमा कुनै चासो देखाएन। त्यसैले ०८० साउन ७ गते सम्झौता गरेर बुद्ध उन्नोभेटिभ रिसर्च एण्ड टेक्निकल इन्स्टिच्युट प्रालिलाई भाडामा दिइएको हो’, उनले भने।

उनका अनुसार बस भाडा बापत विद्यालयले मासिक २५ हजार प्राप्त गर्नेछ। प्राचार्य त्रिपाठीले अहिले विद्यालय पूर्ण रूपमा स्थानीय सरकारको अधीनमा रहेको भन्दै चालकलाई तलब दिने अवस्था समेत विद्यालयको नभएकाले बस भाडामा दिइएको बताए।

उनले गाउँपालिकाबाट बस सञ्चालनका लागि खर्च माग गर्दा कुनै वास्ता नगरिएको भन्दै पालिकाले बसको इन्धन, मर्मत लगायतका खर्च दिने अवस्था आए विद्यालय आफँैले बस सञ्चालन गर्ने बताए।

विद्यालयको आन्तरिक स्रोत भनेको १४ वटा व्यावसायिक सटर रहेको प्राचार्य त्रिपाठीको भनाइ छ। तर, सटर भाडाबापत पाउनुपर्ने उक्त रकम पनि लामो समयदेखि विद्यालयले प्राप्त गर्न नसकेको उनले बताए।

कोटहीमाई गाउँपालिका शिक्षा शाखाका प्राविधिक सहायक मनोहर चौधरीले बस सञ्चालन खर्च गाउँपालिकाबाट विद्यालयलाई दिन नसकिने बताए। बसको आवश्यकता रहेको भनि माग बमोजिम गाउँपालिकाबाट सिफारिस गरिएको भन्दै बसको सबै खर्च गाउँपालिकाले व्यहोर्न नसक्ने उनले बताए।

साथै उनले सामुदायिक विद्यालयका लागि खरिद गरिएको बस निजी विद्यालयलाई भाडामा दिन नमिल्ने बताए। उक्त बसलाई प्रदेश सांसद वसीउद्दीन खाँले सो उद्घाटन गरेका थिए। त्यसपछि बस उद्घाटन गरेपछि केही समय विद्यालयमै थन्किएको थियो।

बनभोज र  बिहेमा पनि स्कुल बस प्रयोग
सामान्यतया विद्यालयको बसले विद्यार्थी बोक्नुपर्ने भए पनि मर्चवारी आर्दश माध्यमिक विद्यालयको बस विवाह र बनभोज समेत प्रयोग गर्ने गरिएको पाइएको छ। उक्त बसलाई विद्यालयले स्रोतका लागि भन्दै बनभोज, विवाह र पार्टीमा भाडामा दिने गरेको थियो।

विद्यालयले १२ हजार रुपैयाँमा गणेश सामुदायिक प्राथमिक विद्यालयलाई ०८० फागुन २७ गते बनभोजका लागि भाडामा दिइएको थियो। केही महिनाअघि सोही विद्यालयको एक शिक्षकको छोरीको विवाहमा उक्त बस प्रयोग गरिएको थियो।

विद्यार्थीहरूको सहजताका लागि दिइएको बस दुरुपयोग भएको भन्दै स्थानीय अगुवाहरूले यसबारे चिन्ता व्यक्त गरेका छन्।

स्थानीय अगुवा गुरुवचन यादवले विद्यालय आफैँले सञ्चालन गर्नुपर्ने बस भाडामा लगाएको सुन्दा निकै दुःख लागेको बताए। उनले उक्त बस मर्चवारी आर्दश माध्यमिक विद्यालयले नै चलाउने गरी वातावरण बनाउन स्थानीय तहसँग आग्रहसमेत गरे। 

असार ५, २०८१ बिहीबार ०८:२८:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।